रुसी सेनाको चक्कर : जानेबेला ७ लाख, फर्किँदा ३ लाख दलालले खाए
काठमाडौं। सानैमा बुबा बितिगए। आमाले दोस्रो विवाह गरिन्। अनि, आमाको काख र बुबाको सहाराबाट छुट्टिए खोटाङ दिक्तेल पाथेकाका सुमन राई।
आमा, बुबाको काख छुटे पनि न्यानोपनको आभाषा दिने एउटी दिदी थिइन्। हजुर आमा र काका-काकीहरु थिए। जसले बुबा-आमाको न्यानोपन दिए।
उनीहरुको न्यानोपनले आमा-बुबाको यादलाई कम गराइदिएका थिए।
तर, सधैं कहाँ आमा-बुबाको याद कम हुँदोरहेछ र, जतिबेला सुमन अफ्ठ्यरो परिस्थितिले घेरिए जबर्जस्त आइपुगिदिए, आमा-बुबाका यादहरु।
रुस-युक्रेनको त्यो युद्धभूमिमा हुँदा जति आमा-बुबालाई सुमनले सम्झिए, अन्य समयमा सायदै सम्झिएका थिए।
उनी गत असोजको मध्य दिनमा रोजगारीकाे खाेजीमा रुस पुगेका थिए। रुस-युक्रेनको युद्ध खासै नबुझेका सुमनलाई दलालले महिनामा नै तीन/चार लाख कमाइ हुने भन्दै सेना बन्न पठाएका थिए।
जब सुमन रुस पुगे, उनले कल्पना नै नगरका परिवेशहरु देखे। युद्धमा गएको आफ्नै साथी नफर्किएकाे देखे। बम र बारुद देखे। जुन उनी आफ्नै देशको दश वर्षे युद्धमा देखेका थिएनन्।
रुसको त्यो दृष्य उनी सम्झन पनि चाहँदैनन्। तर, कहाँ–कहाँबाट आइरहन्छन् र सुमनलाई पीडा दिइरहन्छ।
असोजको मध्येतिर रुस पुगेर पुसको अन्तिमतिर नेपाल फर्किएका उनी अहिले त्यहाँको दृष्य सम्झँदा पनि रुन्छन्।
किनकि, त्यहाँको तीन महिने कठिन बसाइँले उनको अहिले पनि मन डराएको छ। ज्यान कमजोर बनेको छ। सम्झियो कि आँखा रसाउने गरेको छ।
कानैमा गुञ्जिरहने गोली र बारुद्धको आवाज अनि रसियन सेनाको पोसाक याद गर्दा अझैँ उनलाई झस्काउने गरेको छ। ‘रुसमा नेपालीको अवस्था सोचेजस्तो छैन। बेला-बेला आकाशमा बम बर्सेजस्तै हुन्छ’, उनी भन्छन्, ‘अनि हतियार बोकेर कुदिहाल्नुपर्छ। तर, भरे आउँदा दिउँसोसम्म सँगै साथी नहुन पनि सक्छ।’
रुसमा युद्ध छ। मानव नरसंहारको लडाइँ छ। अनि ज्यान धरापमा छ। तर, त्यहीँ धरापमा पैसा कमाउने थुप्रै नेपालीहरुको चाहना छ। सुमनजस्तै गरी।
पैसा कमाउन रुस–युक्रेन युद्धमा होमिएका सुमनले कयौँ रात रोएरै बिताए। घर-परिवारलाई सम्झँदै देवताकाे प्रार्थना गर्दै। अनि, मनमनै घर नफर्किने र लाश बन्ने कल्पना गर्दै।
जब आफूसँगै ट्रेनिङ गरेका साथीहरु क्याम्प फर्किँदैन्थे सुमनको मनमा चिसो पस्थ्यो। ‘मसँगै ट्रेनिङ गरेको साथी पनि लडाइँ लड्न गएको थियो। एउटा लडाइँमा गएको मान्छे १५ देखि २० दिनमा फकिन्छ। मैले पनि २० दिनसम्म बाटो कुरेँ। तर, लडाइँ लड्न गएका उनीरुहरु फकिएनन्,’ उनले भने।
जाँदा ७ लाख आउँदा ३ लाख दलाले खाए
युक्रेनसँग लड्न सीमा क्षेत्रमा गएका साथीहरु नफर्किएपछि सुमन डराएका थिए। उनलाई जसरी पनि नेपाल फर्किनु थियो। त्यसैले उनले दिदीलाई आफ्ना सबै पीडा बताए।
दिदीले सहर्ष स्वीकार गरिन्। ‘पैसाको केही चिन्ता नगर, तिमी जसरी हुन्छ नेपाल आउँ, पैसा म दिन्छु’, दिदीले यस्तै भन्थिन सुमनलाई।
त्यसैले युद्ध मैदानमा जान एक हप्तामात्रै हुँदा उनी क्याम्पबाट भागे। त्यो पनि एजेन्टलाई ३ लाख रुपैयाँ बुझाएर। ‘के गर्नु ज्यानको माया सबैलाई हुँदो रहेछ। मेरो पनि एक हप्तामा लडाइँमा जाने तयारी थियो’, उनले भने, ‘मृत्युलाई त्यति नजिकबाट देखि-देखि ज्यान फाल्न सकिनँ। ३ लाख दलाललाई बुझाएर आएँ।’
उनका अनुसार त्यहाँ पुगेका नेपालीहरूलाई केही हप्ता तालिम दिएर युद्धको लागि युक्रेनी सीमामा पठाइन्छ। युद्धमा पुगेका नेपालीहरू लगातार १५ देखि २० दिनसम्म लड्छन्। बाँचेका फर्किएर आउँछन् भने मृत्यु भएकाहरूलाई त्यहीँ छोडिदिन्छन्।
‘धेरैजसो नेपालीहरू भाषा नबुझेर मृत्यु हुन्छ। कमान्डरले दायाँ–बायाँ जाउभन्दा भाषा नबुझेर अर्कैतिर जान्छन्,’ उनले रुसमा बुझेको कुरा बयान गर्दै भने।
युक्रेनसँगको लडाइँमा सबैभन्दा पहिले नेपाली, भारतीय, बंगलादेशी नागरिकमात्र हुने उनले बताए। तर, लडाइँमा पठाउँदा तालिममा पोख्त बनाइँदैन।
मरुभूमिदेखि युद्ध मैदानसम्म
बुबा–आमाले सानैमा छाडेपछि सुमन काका–काकीसँग झापामा हुर्किए। उमेर बढ्दै गयो। पाँच कक्षामा झापामा परे। तर, झापामा बस्न उनलाई मन लागेन।
उनी जन्मथलो फर्किए। ‘खोटाङमा हजुर-आमा हुनुहुन्थ्यो। त्यसैले खोटाङ नै फर्किए’, उनी भन्छन्। उनलाई अहिले पनि लाग्छ बुबा-आमा नभएको मान्छेलाई कसले पो माया गर्छ र?
सुमनको सानैदेखिको सपना भनेको जसरी हुन्छ, एसएलसी पास गर्ने र जागिर खाने थियो। तर, उनले एसएलसीसम्म पढ्न सकेनन्।
अभिभावक नभएपछि यस्तै पनि गरिबीले उनीहरुलाई गाँजेको थियो। त्यसैले होला सायद सुमनले कक्षा ९ मै पढाइको बिट मारेर भारत छिरे।
केही समय होटलमा किचन हेल्परको रुपमा काम गरे। केही समय भारतमा काम गरेपछि उनी नेपाल फर्किए। तर, सोचेजस्तो भएन यहाँ दुई छाक टार्नसमेत समस्या हुँदै गयो।
उनले विदेशीने सोच बनाए र २०६७ मा मलेसिया पुगे। त्यहाँ उनी होटलमा काम गर्थे। भारतमा सिकेको सीपको मेलेसियामा काम लागेको थियो। तीन वर्षसम्म उनले कुकको रुपमा काम गरे।
३ वर्ष काम गरेपछि उनी पुनः नेपाल फर्किए। उनलाई नेपालमै काम गर्ने रहर थियो। तर, काम पाइरहेका थिएनन्।
फर्किएको महिनादिन मात्रै भएको थियो। उनले साउदी जान फाराम भरे। भिसा आइहाल्यो। ‘के गर्ने काम गर्ने बानी परेपछि काम नगरी बस्न नसकिने रहेछ। त्यसैले फेरि साउदी गएँ,’ उनले भने।
त्यहाँ पनि कुकको रुपमा ३ वर्ष काम गरेर नेपाल फर्किए। फर्किएको केही समयमै उनले व्यवसाय थालिसकेका थिए। उनको ललितपुरमा कपडा पसल थियो। पसल राम्रै चल्थ्यो।
फेरि महामारी बनेर आइदियो ‘कोरोना’। जसले उनको व्यवसाय चैपट बनायो। त्यसपछि गर्नु के थियो र। उपाय भनेको विदेशीने नै थियो। उनले विदेशिने मनसाय बनाए।
केही वर्ष विदेशी भूमिमा दुःख गरेर स्वदेशमा काम गर्ने ढृणता बोकेर मलेसिया पलायन हुने तरखरमा थिए, सुमन। त्यसैका लागि म्यानपावरमा बुझ्न गए।
म्यानपावरमा दलाले सुमनलाई मलेसियाभन्दा रुस जान सल्लाह दिए। दलालले भनेका थिए, ‘रुस जाउ। सेनामा र्ना खुलेको छ। महिनामा कमाइ ३ लाखसम्म हुन्छ।’
‘अरु ठाउँमा तीन/चार महिनामा कमाइने पैसा रसियामा एकै महिनामा हुन्छ भनेपछि ८ लाख तिरेर रसिया पुगे’, उनले सुनाए।
सुमन रुस पुगेर युद्ध मैदान त जानु परेन तर मृत्युलाई नजिकबाट देखेर आए। मानवले गरिरहेको मानवीय नरसंहार देखे। साथी युद्धबाट नफर्किएको देखे।
नेपालमै केही गर्छ भनी स्वदेश फर्किएका उनी भन्छन्, ‘युद्ध गर्न रेड जोनमा पुगेपछि फर्किएर आउँछु भन्न मुस्किल छ।’