एनआरएनएमा तानशाही प्रवृत्ति देखाएको भन्दै घलेलाई संरक्षक पदबाट हटाउन दबाब

एनआरएनएमा तानशाही प्रवृत्ति देखाएको भन्दै घलेलाई संरक्षक पदबाट हटाउन दबाब

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान विपरित एक पक्षीय ढंगबाट संस्थामा मनोमानी गरेको भन्दै प्रमुख संरक्षक शेष घलेमाथि कारवाहीको दबाब बढेको छ।

एनआरएन अभियान नै सिध्याउने खेलमा घले सक्रिय रहेको संघका पदाधिकारीले आरोप लगाएका छन्। संघको १० औं महाधिवेशनमा प्रतिनिधि विवादलाई देखाएर परराष्ट्र मन्त्रालयलाई गुमराहमा राख्दै एनआरएन अभियान समाप्त पार्न खोजेको आरोप घलेमाथि छ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औं बैठक शनिबार दिउँसो बस्दैछ। बैठकमा प्रमुख संरक्षक घले आफ्नै संस्थाविरुद्ध प्रस्तुत भएकोले उनको राजीनामा माग्ने मुख्य एजेण्डा राखिएको छ।

‘संरक्षक जस्तो पदमा रहेको सम्मानित व्यक्ति विधि,प्रक्रिया र विधान अनुसार चल्नु पर्दथ्यो। तर, उहाँ भने विधि र विधानलाई कुल्चेर सर्वेसर्वा भएको दावी गर्दै आफ्ना मात्रै निर्णय लाद्न थाल्नु भयो,’ एनआरएनए उच्च श्रोतले प्रवास खबरसँग भन्यो,‘आइसीसी बैठकमा मुख्य प्रस्ताव नै घले ज्युले नैतिकताका आधारमा राजिना दिनुपर्छ भन्ने हो। यदी त्यसो नभएमा बहुमत जुटाउँदै बैठकले उहाँलाई हटाउँछ।’

पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेर संघ आचोचित बन्दै गएको छ। संस्थापन पक्षका पदाधिकारी भने शेष घले वाधक बनेकोले महाधिवेशन रोकिएको बताउँछन्।

‘यसअघि कार्यसमितिले चुनावको घोषणा गरिसकेको अवस्थामा शेष घलेको डिजाइनमा नै परराष्ट्रमा उजुरी हाल्दै चुनाव बिथोलिएको थियो,’ आइसीसीका एक उच्च पदाधिकारी भन्छन्, ‘त्यसपछि फेरि परराष्ट्रलाई प्रभावित पार्दै घले ज्युले अध्यक्ष पन्तको कार्यकाल सकिएको भनेर सम्पूर्ण अधिकार खोस्ने प्रयास गर्नुभयो। तर, असफल हुनभयो।’

यसअघि परराष्ट्रले बदनियतपूर्ण रूपमा आफूलाई अध्यक्ष पदबाट हटाएर सम्पूर्ण अधिकार संरक्षक परिषद्का प्रमुख घलेलाई दिएको भन्दै कुमार पन्त उच्च अदालत पुगेका थिए। अदालतले यो मुद्दामा अध्यक्ष पन्तको पक्षमा फैसला सुनाएको थियो। त्यतिबेला संरक्षक घले स्वयम् तीन जना वकिल राखेर संघविरुद्ध लडेका थिए।

यता शुक्रबार बेलुका संस्थापन पक्षले अनौपचारिक छलफलको आयोजना गर्दै शनिबारको आइसीसी बैठकले निर्वाचनको मिति यथासिघ्र सार्वजनिक गरेर निष्पक्ष चुनाव गराउनुपर्ने निचोडमा पुगेको छ। वर्तमान कार्यसमिति नै चुनाव गराउन सक्षम रहेको संस्थापन पक्षका पदाधिकारीको निष्कर्ष छ।

उता अध्यक्षका प्रत्यासी कुल आचार्यको टिमले भने वर्तमान नेतृत्व चुनाव गराउन असक्षम भएको भन्दै फेरि पनि शेष घलेलाई नै निर्वाचन गराउन जिम्मा दिनुपर्ने माग राखेको छ। संस्थापन पक्ष भने अब कुनै पनि हालतमा घलेलाई जिम्मेवारी सुम्पिन नहुने अडानमा छ।

‘अध्यक्ष ज्युको नै अख्तियारी खोसेर सर्वशक्तिमान हुन खोज्नेले निर्वाचन निष्पक्ष गराउँछ भन्ने आधार के ? यदि थोरै पनि नैतिकता भन्ने चिज छ भने घले ज्युले राजिनामा दिनुपर्छ। कोही तानासाह बन्न खोज्छ भने त्यसलाई पनि सशक्त रूपमा, लोकतान्त्रिक रूपमा के गर्नुपर्छ हामीलाई थाहा छ,’ संस्थापन पक्षका एक उच्च पदाधिकारीले प्रवास खबरसँग भने।

घलेले आफू बिरामी रहेको बाहाना बनाउँदै कसैसँग छलफलमा समेत नबस्ने ती पदाधिकारीको भनाइ छ।

‘संघ ६ महिनादेखि विवादमा अल्झिरहेको छ। विवाद सल्टाएर समयमै निर्वाचन गरौँ, टेबल टक गरौँ भनेर जागिर, व्यापार छोडेर हामी काठमाडौं आएका छौँ। तर, घले जी भने छलफलमा आउनै चाहानु हुन्न। कहिले रुघा लागेको छ, कहिले फुड पोइजन भयो, कहिले टाउको दुख्यो भन्ने बाहाना मात्रै बनाउनु हुन्छ। खालि घरभित्र बसेर आफू अनुकुल हुने ‘डिजाइन’ पठाउनुहुन्छ,’ ती पदाधिकारीको घलेसँग प्रश्न छ, ‘साँच्चिकै संघप्रति माया भए सामूहिक छलफलमा किन आउनुहुन्न ?’

यो पनि पढ्नुहोस्

शेष घलेको नेतृत्वमा एनआरएनए फुटाउने तयारी !



No ads found for this position