विक्रम सम्वत २०८१ साल सुरू

विक्रम सम्वत २०८१ साल सुरू Photo : Social Media

काठमाडौँ। आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्ष २०८१ साल सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।

आज शनिबार यसै पनि सार्वजनिक बिदा हो। नयाँ वर्ष आरम्भका अवसरमा सरकारले सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना सन्देश दिएका छन्। उनीहरूले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नति प्रगतिको कामना गरेका छन्।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना आदान प्रदान गर्ने गरिन्छ। जमघट गर्दै मिस्ठान्न भोजन सेवन गरी नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ। सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत छ। आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो। मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो। नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ। भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ।