आन्तरिक रोजगारी सरकारकाे पहिलो प्राथमिकता : श्रममन्त्री

आन्तरिक रोजगारी सरकारकाे पहिलो प्राथमिकता : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु बिषयक अर्न्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताएका हुन्।

रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने उनले बताए।

‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ। निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ,’ उनले भने। त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय सधै तयार रहेको पनि उनले स्पष्ट पारे।

त्यस्तै, आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिइएको बताए।

‘मन्त्रालयअन्तर्गत भैसेपाटीमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान छ। जहाँ हामीले ६ महिनाभन्दा कम अवधिको भोकेशनल तालिम प्रदान गर्ने योजना बनाएका छौं। त्यस्तै, शिक्षा मन्त्रालय अन्र्तगत रहेको सिटिईभिटीसँग पनि समन्वय गरी हरेकलाई सिप सिकाउनु पर्छ भन्नेमा हामी छौं,’ उनले भने।

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन सबैलाई आग्रह गरे।



No ads found for this position