विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न पाउने, दूतावासको एनओसी नचाहिने

विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न पाउने, दूतावासको एनओसी नचाहिने फाइल फोटो : वैदशिक रोजगारीमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लाइनमा युवाहरु

काठमाडौं । रोजगारीका लागि विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न पाउने भएका छन्।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था गरिएको हो।

यसअघि रोजगारी तथा भिजिट भिसामा खाडीलगायतका मुलुकमा जाने नेपालीलाई दूतावासको एनओसीबिना भारतीय विमानस्थल प्रयोग गर्न रोक लगाइएको थियो।

दूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दूतावासबाट एनओसी आवश्यक नरहेको जनाएको हो।

त्यसैगरी, नेपाली कूटनीतिक आधिकारिक र सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज(पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक पर्ने छैन।

त्यस्तै, अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन।
रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी लिनुपर्ने दूतावासले जनाएको छ।

ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तिमा सात दिन अगाडि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यसका लागि दूतावासले प्रति व्यक्ति १००० भारतीय रुपैयाँ सेवा शुल्क तोकेकाे छ।

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुनेभएपछि वायुसेवा कम्पनीहरूले हवाइ भाडा बढाउँदा रोजगारीका लागि विदेश जाने नेपाली श्रमिक मर्कामा परेका छन्।

भारतीय विमानस्थल प्रयोग गरेर यात्रा गर्दा नेपालीलाई भाडामा सहज हुने अपेक्षा गरिएको छ।