पार्टीका अन्य नेता सहकारी प्रकरणमा जोडिनु प्रचारबाजी मात्र हो, आत्तिनुपर्ने कुरा छैन: गृहमन्त्री

पार्टीका अन्य नेता सहकारी प्रकरणमा जोडिनु प्रचारबाजी मात्र हो, आत्तिनुपर्ने कुरा छैन: गृहमन्त्री

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका अन्य नेताहरुलाई सहकारी ठगी प्रकरणमा जोडिनु प्रचारबाजी मात्र भएको बताएका छन्।

मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा नरहेकाे बताए।

‘सञ्चार माध्यमहरूले प्रश्न उठाउने क्रम चलिरहन्छ तर प्रमाणित भएकाे कुरा र हल्ला, प्रचारबाजीमा त फरक छ’, उनले भने, ‘कुन रंग र ढंगमा समाचार छापिन्छ भन्ने कुरा थाहा भएकाे हुनाले प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन।’

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापतिसमेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए। साेही विषयमा उनले यस्ताे बताएका हुन्।

गृहमन्त्री लामिछानेले सहकारी प्रकरणका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै उभिएर जवाफ दिने पाउनुपर्ने बताए। उनले सहकारी प्रकरणमा संसदीय समिति बनाउन आवश्यक नरहेको समेत बताए।