१ महिनामै नेपाल भित्रिए १ लाख २८ हजार विदेशी पर्यटक

१ महिनामै नेपाल भित्रिए १ लाख २८ हजार विदेशी पर्यटक File Photo

काठमाडौँ। यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन्। नेपाल पर्यटक बोर्डले गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको जानकारी दिएको छ।

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएको थिए भने यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

मार्चमा नेपाल आउने पर्यटकमा सबै भन्दा बढी भारतीय पर्यटक रहेका छन्। भारतबाट मार्च महिनामा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन्। त्यस्तै यसअघि जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल आएका थिए।