सुरक्षा अधिकारीलाई गृहमन्त्रीले भने- कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस्

सुरक्षा अधिकारीलाई गृहमन्त्रीले भने- कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस्

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा आयाेजित कार्यक्रममा गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिएका हुन्।

‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्’, उनले भने, ‘नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिनुहाेस्। गुनासाे लिएर तपाईंभन्दा माथि काेही जानू नपराेस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ।’

गृहमन्त्रीले कामका लागि निर्देशन कुर्ने हाेइन, आइडिया लगाएर काम गर्नुपर्ने बताए।

‘म प्रश्न साेध्नेबाट जवाफ दिने ठाउँमा पुगेकाे छु। अब तपाईंहरुले गर्ने काम नै मेराे जवाफकाे आधार हाे। मलाई नाजवाफ बनाउनुहुन्छ कि स्पष्ट जवाफ दिने? तपाईंहरुकाे हातमा छ। त्यही अनुसार काम गर्नुस्’, उनले भने।

उनले थपे, ‘आम नागरिकलाई सेवा दिनु नै तपाईं-हाम्रो जिम्मेवारी हाे। राजनीतिक रूपमा सरकार आउँछन्-जान्छन्। स्थायी सरकार (कर्मचारी)ले नागरिककाे सेवालाई प्राथमिमकता दिनुपर्छ’, गृहमन्त्री लामिछानेले भने, ‘पीडितभन्दा पीडक पहिला प्रशासन प्रहरीमा आउने, उनीहरुसँगै प्रशासन प्रहरीकाे हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्छ।’

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित रहेकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलाले जिल्लाकाे वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए।