बेलायती राजकुमारीलाई क्यान्सर

बेलायती राजकुमारीलाई क्यान्सर

काठमाडौँ । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ।

राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो।

उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छिन्।

भिडियोमा उनले भनेकी छिन्,  ‘केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो। म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु।’

बेलायतको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ।

राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ।

राजकुमारी केटले भनेकी छिन्, ‘यद्यपि शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो। मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दियो। म उपचारको प्रारम्भिक चरणमा छु।’

उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो।

दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ। यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन्।