विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रलाई हङकङबाट २ लाख सहयोग

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रलाई हङकङबाट २ लाख सहयोग

हङकङ । भक्तपुरको चांगुनारायणमा सञ्चालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी) लाई हङकङबाट आर्थिक सहयोग गरिएको छ।

महिला दिवसको अवसरमा हङकङमा आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई २ लाख नेपाली रुपैयाँ सहयोग गरिएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङले १ लाख, एनआरएनए हङकङकले ५० हजार र एनआरएनए हङकङका कोषाध्यक्ष अर्जुन गौचनले व्यक्तिगत ५० हजार गरेर जम्मा २ लाख रुपैयाँ केन्द्रलाई सहयोग गरिएको हो।

महिला दिवस विशेष कार्यक्रमका लागि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई प्रमुख अतिथि र केन्द्रकी अध्यक्ष  उप्रेतीलाई विशेष अतिथिका रुपमा हङकङ बोलाइएको थियो।

उप्रेतीले केन्द्रलाई सहयोग उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभारप्रकट गरेकी छिन्।

विशेषस्कुल तथा पुनर्स्थापना केन्द्र विगत डेढ दशकदेखि  सञ्चालित गैरसरकारी, गैरनाफामुलक सामाजिक र परोपकारी संस्था हो।

यो संस्थाले सीमित स्रोत र साधनमा अटिजम सम्वन्धी पैरवी गर्दै आएको छ।

यसले अटिजम सम्वन्धी समाजमा सचेतना बढाउँदै अटिजम भएका व्यक्तिहरूको लागि शिक्षा, स्वास्थ र विभिन्न थेरापीहरू तथा सीपमुलक तालिम प्रदान गरी समाजमा पुनर्स्थापना गराउने काम गर्दै आएको छ।

अटिजम के हो ?

नशा र तन्तुको विकास क्रममा भएको असमानता अटिजम हो। जस्लाई न्युरो डेभलपमेन्ट डिसडर पनि भनिन्छ। यो रोग होइना। मस्तिष्कको विशेष अवस्था हो।

अटिजम भएका व्यक्तिहरुमा भाषा, संचार सीप र सामाजिकिकरणमा समस्या हुने र एउटै क्रियाकलाप दोहोर्‍याउनु, एकोहोरोपना लगाएतको लक्षण देखिने गर्छ।

नेपालमा अटिजम सम्बन्धी जनचेतना कम छ। यस क्षेत्रमा काम गर्ने सेवा केन्द्रहरु पनि कम छन्। नेपालमा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र एक अग्रणी संस्था हो।