हङकङमा राष्ट्रिय महिला आयोगकी अध्यक्षकाे आतिथ्यतामा मनाइयो महिला दिवस

हङकङमा राष्ट्रिय महिला आयोगकी अध्यक्षकाे आतिथ्यतामा मनाइयो महिला दिवस

हङकङ । हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा आइतबार जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाइएको हो।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङमा कार्यरत नेपालीहरूको विदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाइएको हो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली प्रमुख अतिथि थिइन्।

कार्यक्रममा बोल्दै पराजुलीले नीतिगत सुधार गर्न नसकिएसम्म महिलाका समस्या समाधान गर्न चुनौती रहेको बताइन्।

उनले प्रवासमा कार्यरत नेपाली महिलाहरूको समस्याका विषयमा पनि चासो राखेकी थिइन्।

प्रवासी महिलाका समस्या समाधानमा राष्ट्रिय महिला आयोगले काम गर्ने प्रतिबद्धता उनले जनाइनन्।

उनले एनआरएनए, महिला संघलगायतका प्रवासका संघ–संस्थाहरूसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ।

कार्यक्रममा नेपाली महावाणिज्य दूतावास हङकङका महावाणिज्यदूत उदयबहादुर राना, भारतीय महावाणिज्यदूत सावान्त कनलिया विशेष अतिथि थिए।

यस्तै, याउ त्सिम मोङका जिल्ला काउन्सिलर येउङ त्ज हेई बेनी र गुआन वेक्सी हेउडका साथै जिल्ला काउन्सिलर अरुणा गुरुङ पनि कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी थिए।

कार्यक्रममा एनआरएनएकी केन्द्रीय महिला सचिव राधिका गुरूङ (टिका), हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकाललको पनि अतिथि थिए।

कार्यक्रममा हङकङमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलालाई सम्मान समेत गरिएको छ। सामाजिक क्षेत्रमा योगदान पुर्‍याए वापत कमला गुरूङ, साहित्यमा जानु काम्बाङ र व्यापारीक क्षेत्रमा काजल नैना शेरचनलाई सम्मान गरिएको हो।

कार्यक्रमका बारेमा एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले प्रकाश पारेकी थिइन् भने एनआरएनए हङकङकी महिला संयोजक कविता गुरूङले स्वागत मन्तव्य राखेकी थिइन्।

महिलाका हक अधिकार, सशक्तिकरण एवं लैंगिक समानताका पक्षमा आवाज उठाउँदै सन् १९११ देखि हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ।