म्यानपावरवालाको दुबई मेला : विदेश जाने कामदारले जम्मा गरेको कोषबाट तारे होटलमा मस्ती

म्यानपावरवालाको दुबई मेला : विदेश जाने कामदारले जम्मा गरेको कोषबाट तारे होटलमा मस्ती

काठमाडौं। सरकारले रोजगारीका लागि विदेश जाने श्रमिकलाई उड्नपूर्व कल्याणकारी कोषमा केही रकम दाखिला गर्न बाध्य बनाउँछ।

वैदेशिक रोजगार बोर्डले कामदारको हितका लागि भनेर श्रमिक कल्याणकारी कोष खडा गरेको छ।

विदेशमा काम गर्ने क्रममा अंगभंग वा मृत्य हुँदा यही कोषबाट सहयोग गर्ने भन्ने सरकारको घोषित नीति हो। विदेश जानुपूर्व सीपमुलुक तालिम प्रदान, विदेशबाट फर्किनु परे स्वदेशमै टिक्नसक्ने वातावरण सिर्जना गर्नेदेखि विदेशमा ज्यान गुमाएका श्रमिकका छोराछोरीलाई पढाउनेसम्मको काम यही कोषको रकमले गर्नुपर्ने हो।

त्यसैले श्रमिकहरू ऋणपान गरेर कोषमा रकम दाखिला गर्छन्। तर, उनीहरू कार्यस्थल वा बाहिर कुनै समस्यामा परे उक्त कोषबाट तुरुन्तै सहयोग पाउँदैनन्। आफैले जम्मा गरेको पैसाबाट सहयोग पाउन पनि अनेकौं झन्झट हुन्छ। मृत्यु भएको खण्डमा शव झिकाउन समेत लामो समय लाग्छ। समस्यामा पर्दा कानुनी तथा बिरामी हुँदा स्वास्थ्य उपचार समेत समयमै पाउँदैनन्।

उनीहरूले जम्मा गरेको यही कोष कतिपयलाई भने ‘फलिफलाप’ भएको छ। मन्त्री,सचिव, बोर्डका प्रतिनिधि, सरकारी कर्मचारीदेखि र म्यानपावरवालाले यही कोषबाट मोजमस्ती गरिरहेका छन्, विदेश सयर गरिरहेका छन्।

केही दिनअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले यही कोषको चरम दुरुपयोग गरेका छन्। श्रमिकले जम्मा गरेको ५० लाख रुपैयाँभन्दा बढी रकम दुबईको पाँच तारे होटलमा उडाएर भण्डारीलगायतको टोली फर्किएको छ। त्यो पनि म्यानपावर व्यवसायीको स्वार्थका लागि।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले केही दिनअघि दुबईको पाँचतारे होटलमा ‘जब फेयर २०२४’ आयोजना गरेको थियो। भण्डारीले म्यानपारवालाको डिजाइनमा तयार गरिएको यही कार्यक्रमलाई श्रमिकको ५० लाख रुपैयाँ दिएका हुन्। त्यही निहुँमा एक टोली लिएर दुबई घुमेर उनी फर्किएका हुन्।

जानेबेला श्रममन्त्रीको हैसियतमा पुगेका भण्डारीको फर्किनेबेला सत्तासमिकरण बदलिएपछि मन्त्री पद समेत चैट भएको थियो।

दुबईमा रहेका नेपालीका अनुसार म्यानपावरवालाहरूले आयोजना गरेको यो रोजगार मेलाको उपलब्धी लगभग शून्य जस्तै छ।

‘आफू–आफूहरू भेला भएर के को रोजगार मेला नि ! २/३ जनाबाहेक यहाँका कोही पनि रोजगारदाता मेलामा सहभागी भएनन्। आफैले कार्यक्रम गरे फर्किए। यसबाट फाइदा केही हुनेवाला छैन,’ एक नेपाली सामाजिक संस्थाका प्रतिनिधिले भने।

मेलामा कोषको रकम खर्चिएर निवर्तमान श्रममन्त्री भण्डारीसहित मन्त्रालयका सचिव केवल भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिकानाथ उप्रेती, बोर्डकी सदस्य मिनाक्षी ठाकुर, दुर्गाप्रसाद खतिवडासहितकाे  सरकारी प्रतिनिधिमण्डल सहभागी थियो।

भण्डारीले केही पत्रकारलाई काेषाबाट हवाइ टिकटको समेत व्यवस्था मिलाएको चर्चा छ।

बोर्डको दुई पटकसम्म बसेको सञ्चालक समितिको वैठकले रोजगार मेलाको नाममा ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। श्रमिकको कोषको रकमबाट विदेश घुमेपछि अहिले चौतर्फी विरोध समेत भएको छ।