सरकारबिनै आइटिबीमा निजी क्षेत्र, पर्यटनमा नेपालको अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ शून्य

सरकारबिनै आइटिबीमा निजी क्षेत्र, पर्यटनमा नेपालको अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ शून्य

बर्लिन। हरेक वर्ष विश्वको सबैभन्दा ठूलो पर्यटन मेला लाग्छ, जर्मनीको बर्लिनमा।

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि महाकुम्भ मानिने ‘आइटिबी बर्लिन’मा हरेक वर्ष नेपाल पनि सहभागी हुन्थ्यो।

पर्यटन क्षेत्रमा काम गर्दै आएका नेपालका नीजि क्षेत्र यो कुम्भ मेलामा सहभागी हुन्थे। यसको नेतृत्व पर्यटन बोर्डले गर्दै आएको थियो।

यो मेलामा पर्यटन क्षेत्रमा संग्लन संसारभरका व्यवसायीहरू सहभागी हुन्छन्। ट्राभल कम्पनी, ट्रेकिङ कम्पनी, होटल व्यवसायी, टुर अपरेटर, ट्राभल एजेन्सी, एयरलाइन्स कम्पनी, बुकिङ पोर्टल, यातायात कम्पनी, फुड कम्पनी, सप्टवयर कम्पनीलगायत सबै क्षेत्रका व्यवसायीहरू बर्लिनमा जम्मा हुने गर्छन।

यसपटक पनि ५ मार्चदेखि ७ मार्चसम्म यो मेला चल्यो। तर यसपालि नेपाल सरकार भने यो कुम्भ मेलामा सहभागी भएन।

आर्थिक मन्दीको कारण देखाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट पारित नगरेपछि  यो वर्ष पर्यटन बोर्ड पछि हटेकाे हाे।

पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरुमा ‘आइटीबी बर्लिन’ विश्वकै सबैभन्दा ठूलो ट्राभल ट्रेड शो हो। यो पर्यटन मेलामा नेपाल पर्यटन बोर्ड स्थापना भएदेखि नै सहभागी हुँदै आएको थियो।

यसपटक भने पर्यटन बोर्डबिनै प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालमा आवद्ध ४० व्यवासायीहरू आइटीबीमा सहभागी भएका थिए।

नेपालसँगै माल्दिभ्स र श्रीलंकाको स्टल थियो। त्यो भन्दा अर्कोतर्फ भारतका विभिन्न राज्यका स्टल राखिएका थिए। छिमेकीका देशका स्टलहरुमा सरकारी निकायको सहभागितामा पर्यटन प्रवर्द्धन गरिएको थियो। तर,नेपालबाट भने निजी क्षेत्रका व्यवसायीहरु पर्यटन प्रवर्द्धन गर्न जर्मनी आइपुगेका थिए।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सरकारी निकाय नआउने भएपछि नेपाल चिनाउन सकिने मेलालाई उपभोग गर्न व्यवसायीहरु जर्मनी आएको बताए।

विगतमा पर्यटन बोर्डको नेतृत्वमा विश्वमा हुने यस्ता मेलाहरुमा सहभागिता हुने भएपनि पछिल्लो समय पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुनु तथा तथा विभागिय मन्त्रालयको उदासिनताले प्रर्यटन प्रवर्द्धनका कार्यक्रममा सरकारी निकायको सहभागिता हुन छाडेको हो।

पाटा नेपाल च्याप्टरका सीईओ बडाल गतवर्ष वल्र्ड ट्राभल मार्ट(डब्लूटीएम)  मा प्यालेस्टाइनको सहभागिता रहेको बेला नेपालकाे नरहेको दृष्य आफूहरुले देखेको भन्दै सरकारी सहभागितामा हुने कार्यक्रमले पर्यटक भित्राउन सहयोगी भूमिका खेल्ने बताउँछन्।

नेपालसँगै स्टल रहेका दक्षिण एशियाली मुलुकहरुमा कार्यक्रममा उनीहरुको प्रस्तुती सांस्कृतिक गतिविधि देखाउने खालको थियो।

पर्यटन व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईँ विश्वमा हुने मेलाहरुमा पर्यटन बोर्डको सहभागिता हुन छाडेपछि संस्थाको औचित्य माथि नै प्रश्न उठेको बताउँछन्।

‘सार्वजनिक निजी साझेदारी (पीपीपी) को योजनामा बनाइएको बोर्डले देशको प्रचार गर्ने काम गर्न नसकेको देखिया’ बजगाईँले भने,‘पर्यटक भित्रिएमा कर मात्र लिने प्रचार नगर्ने नीति सरकारी निकायको देखियो।’

यो पटक नेपालबाट बुद्ध एयर,ह्याम्स हस्पिटल,सोल्टी होटलसहित ४० जना पर्यटन क्षेत्रका व्यवसायीहरू सहभागी थिए।

पहिलो पटक आइटिबीमा आएका ट्राभल टुरिजमको व्यवसाय गर्ने सुरज लामिछानले सरकारी निकायको सहभागिता हुँदा उच्च स्तरिय छलफलमा सहभागिता हुन सकिने मेलाको उपभोग गर्नुपर्ने बताए।

यस्तै अर्का व्यवसायी दिपक मरासिनी सरकारी निकायको सहभागी नभएपनि निजी क्षेत्रको पहलमा पर्यटन प्रवर्द्धनको कामहहरू भइरहेको बताउँछन्।

४० वर्षदेखि बर्लिनमा व्यवसाय गर्दै आएका दिल गुरुङ नेपाललाई चिनाउने अवसरलाई सरकारले ख्याल नगरेको बताउँछन्।

‘आइटिबीमा विश्वभरका पर्यटन क्षेत्रसँग सरोकार राख्नेहरु आएका छन्, यस्ता ठाउँमा आएर आफ्नो देशका घुम्ने ठाउँहरूको बारेमा प्रचार गरेपछि पर्यटक आउने हो,’ गुरुङले भने ।

१० वर्षदेखि बर्लिनमा रहेका आशिष कोइरालाले सरकारी निकायले कसरी पर्यटक भित्राउने भन्ने नसोचेको बताए।

‘अहिलेको आइटिबीमा हेर्नुभयो भने सरकारी निकायको नेतृत्वमा निजी क्षेत्रका कम्पनीहरु प्रचारको लागि आएका छन्,नेपालबाट निजी कम्पनीले आफ्नो तर्फबाट सक्ने काम गरेका छन्,’ कोइरालाले भने।

यसपटकको मेलामा एआईदेखि पछिल्लो समय पर्यटन गतिविधिमा भएका परिवर्तनको बारेमा विभिन्न खाले सेसन मेलामा थिए।

पर्यटनमा पर्नसक्छ असर

यो मेलामा नेपालले सुरुदेखि नै सहभागिता जनाउँथ्यो। आइटीबी टिमले नेपाल पर्यटन बोर्डसँग समन्वय गथ्र्यो। बोर्डकै मातहतमा नेपालका नीजि क्षेत्रले यो मेलामा स्टलहरू राख्थे। जहाँ, बोर्डले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थियो।

मेलामा स्टल राख्न आइटिबी टिमसँग स्पेस किन्नुपर्छ। स्क्वायर फिट अनुसार स्पेस किन्नुपर्ने हुन्छ। संसारभरबाट सहभागी हुने भएकाले स्पेस निकै मँहगो हुन्छ।

आइटिबीले स्पेस मात्रै दिने गर्छ। जहाँ, स्टल डेक्रोशेसन गर्ने कम्पनी छुट्टै हुन्छन्। स्टल डेक्रोसन गर्न छुट्टै खर्च गर्नुपर्ने हुन्छ।

पाटा नेपाल च्याप्टरका सीईओ बडालले आइटिबीमा सहभागी हुन व्यवसायीले उल्टो सरकारलाई कर तिर्नु परेको दुखेसो पोखे।

‘विगतमा सरकारको सहभागितामा निजी क्षेत्रका व्यवसायीहरू आफ्नो खर्चमा यस्ता मेलामा सहभागी हुने गरेका थिए,’ बडालले भने,‘यो पटक सरकारको सहभागिता छैन। हामीहरू उल्टो कर तिरेर आउनु परेको छ।’

युरोपमा नेपालको प्रचारप्रसार गर्न ‘आइटीबी बर्लिन’ र ‘डब्लूटीएम’  सबैभन्दा ठूला प्लार्टफर्म हुन्। यस वर्ष दुवै कार्यक्रममा नेपाल जान नसकेपछि आउँदो सिजन कसरी विदेशी पर्यटक आकर्षित गर्ने भन्नेमा व्यवसायी चिन्तित छन्।

‘यसपालि पर्यटन बोर्डको बजेट समयमै पारित नहुँदा डब्लूटीएम, आइटीबी बर्लिन जस्ता ठूला कार्यक्रममा हामी प्रोमोसनमा जान सकेनौँ’, नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले भने, ‘पर्यटन मन्त्रालय र बोर्डका कारण यस वर्ष हाम्रो अन्तर्राष्ट्रिय प्रोमोसन शून्य जस्तै छ। अब कसरी नेपालमा पर्यटक ल्याउने?’

बोर्डले वर्षेनी आइटिबी बर्लिनमा हुने ट्राभल सोमा नेपालका व्यवसायीका लागि आवश्यक स्टलको भाडा तिरिदिने गरेको थियो। विगतका वर्षहरुमा नेपाली व्यवसायीले प्रतिव्यक्ति २ लाख रुपैयाँ तिरेर मेलामा स्टल राख्न सक्थे। यसपटक भने बोर्डले हात झिक्दा व्यवसायीहरूको खर्च समेत बढेको छ।