नेपाल यमनसंग २–० गोलले पराजित

नेपाल यमनसंग २–० गोलले पराजित Photo : ANFA

काठमाडौं। फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो। यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे। ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता दिलाए।

त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे। नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो।

यसजीतसँगै यमनले शीर्ष तीन अङ्क जोडेको छ। नेपालको भने यो लगातार दोस्रो हार हो। यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएई) सँग ०–४ गोलअन्तरले पराजित भएको थियो। त्यस्तै यमन बहराइनसँग ०–२ गोलअन्तरले पराजित भएको थियो। उक्त प्रतियोगिताको छनोटअन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुनेछ।