विश्वकप फाइनल : त्यो ‘टर्निङ प्वाइन्ट’ जहाँबाट चुक्यो भारतीय टिम

विश्वकप फाइनल : त्यो ‘टर्निङ प्वाइन्ट’ जहाँबाट चुक्यो भारतीय टिम File Photo

काठमाडौं। विश्वकपको फाइनलमा भारतलाई ६ विकेटले पराजित गरेर अस्ट्रेलिया छैठोपटक च्याम्पियन बनेको छ।

फाइनल खेलमा भारतीय टिमले २४० रन बनायो र अस्ट्रेलियाले ट्रेविस हेडको सतकीय इनिङको मदतले ४३ ओभरमै जित हासिल गर्‍यो।

यो म्याचको सुरूवातमा सबैथोक ठीकठाक चलिरहेको थियो। रोहित शर्मा आफ्नो विस्फोटक शैलीमा ब्याटिङ गरिरहेका थिए।

चार ओभरमा ३० रन र पाँचौं ओभरमा ओपनर ब्याटर शुभमन गिल आउट हुँदा पनि रोहितले आक्रमक रवैया छोडेका थिएनन्।

१० औं ओभरको दोस्रो र तेस्रो बलमा रोहितले एक छक्का र एक चौका प्रहार गरिसकेका थिए। यतिबेलासम्म ७६ रन भइसकेको थियो र रनरेट ८ भन्दा माथि थियो।

ग्लेन मैक्सवेल बलिङ गरिरहेका थिए र त्यो पावर प्लेको अन्तिम ओभर पनि थियो। रोहितले फेरि एकपटक ठूलो सट खेल्ने चाहेका थिए। रनरेटको हिसाबले रोहितले त्यो सट खेल्न जरूरी नभएको कतिपयले भनिरहेका छन्।

रोहितको त्यो सटपछि म्याचको यस्तो ‘टर्निङ प्वाइन्ट’ आयो जो अन्त्यमा भारतीय टिमको हातबाट विश्वकप गुमाउने ठूलो कारण बन्यो।

मैक्सवेलले रोहितलाई गुडलेन्थ बल फ्याले। रोहितले मिडअफमाथि सट हान्ने प्रयास गरे। तर, बल उनको ब्याटको छेउमा लागेर हावामा गयो।

प्वाइन्टमा फिल्डिङ गरिरहेका हेडले असम्भवझैं देखिएको क्याच लिए।

हेड यो विश्वकपको सुरूवातमा चोटिल थिए। फिट भएर टिममा फर्किएपछि ५९ बलमा सतक हानेर टिमलाई न्युजिल्यान्डविरूद्ध जित दिलाए।

पहिले सेमिफाइनल र त्यसपछि फाइनलमा यो क्याचपछि कीर्तिमानी सतक बनाउँदै म्याचमात्रै जिताएनन् ‘प्लयेर अफ द म्याच’ पनि चुनिए।

रोहित आउट भएसँगै कमेन्टेटर र क्रिकेटका जानकार हर्ष भोगलेले ट्विट गरे,‘एउटा ठूलो दिनमा फिल्डिङले कसरी अन्तर ल्याउनसक्छ अस्ट्रेलियाले देखाइदिएको छ।’

त्यस्तै पूर्वक्रिकेटर सुनिल गावस्कर र सञ्जय मान्जरेकरले पनि रोहितको क्याच फाइनलको टर्निङ प्वान्इट रहेको बताए।

रोहित १५१.६१ को स्ट्राइक रेटले ब्याटिङ गरिरहेका थिए। उनी पिचमा छँदासम्म टिमको कुल स्कोरमा ६२ प्रतिशत रन उनकै ब्याटबाट आएको थियो।

फाइनलभन्दा ठीक एक दिनअघि अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफूहरू टिमको प्रदर्शनबाट अहमदाबादको दर्शकलाई शान्त राख्ने प्रयास गर्ने बताएका थिए।

र, रोहित आउट भएपछि ठीक त्यस्तै भयो।

म्याचपछि भारतीय टिमका मुख्य कोच राहुल द्रविडले पनि ‘रोहितको विकेट दुर्भाग्यपूर्ण भएको’ बताए।

लगातार विकेट खसिरह्यो र राम्रो ब्याटिङ हुन नसकेको उनले बताए।

विराट कोहलीले ६३ बलमा ५४ रन बनाए। त्यस्तै केएल राहुलले ६६ रन बनाउन १०७ बल खर्च गरे। यो क्रममा उनको स्ट्राइकरेट केवल ६१.६६ मात्रै रह्यो।

त्यतिमात्रै होइन रोहित र श्रेयस अय्यर आउट भइसकेपछि भारतीय टिमले १६ ओभरसम्म कुनै बाउन्ड्री लगाउनसकेन।

जसका कारण आठभन्दा माथि रहेको रनरेट करिब पाँच रनप्रति ओभर भइसकेको थियो।

विराट आउट भएपछि सूर्यकुमार यादवको ठाउँमा आएका रवीन्द्र जडेजाले केवल ४९.९० को स्ट्राइकरेटले २२ बलमा मात्र ९ रन बनाएर रनको गतिलाई झनै कम बनाइदिए।

र, त्यसपछि एउटा ठूलो स्कोरको सम्भावना झनै क्षिण भया। अन्त्यमा स्कोरबोर्डमा केवल २४० रनमात्रै खडा भयो।

म्याचमा हारपछि भारतीय कप्तान रोहितले आफूहरू कम्तिमा २८० रनको अपेक्षा गरेको बताए।

उनले भने,‘हामीले राम्रो खेल्न सकेनौं। विराट र राहुल खेलीरहेका बेला हामीले २७०–२८० रनको लक्ष्य लिएर अगाडि बढिरहेका थियौं। तर, हामीले निरन्तर अन्तरालमा विकेट गुमायौं। हामीले कम्तिमा २०–३० रन कम बनायौं।’

राहुल द्रविड र रोहितले जेसुकै भने पनि अस्ट्रेलियाका कप्तान कमिन्सको तयारी भने फरक थियो। म्याचपछि उनको भनाइले टस जितेर बलिङ रोज्नुपछाडिको कारण प्रष्ट हुन्छ।

कमिन्सले भने,‘हामीले कम्तिमा तीन सय रन बन्ने अपेक्षा गरेका थियौं।’

यसबाट बुझ्न सकिन्छ कि अस्ट्रेलियन टिम कुन हदसम्मको जुझारू छ र एउटा ठूलो म्याचका लागि उसको तयराी कुन स्तरसम्मको रहन्छ।