…अनि सुरु भयो विभेदविरुद्ध लडाइँ

…अनि सुरु भयो विभेदविरुद्ध लडाइँ

काठमाडौं। त्यो मन्दिरका भगवान कस्ता होलान् ?

त्यो बालापनमा हुर्रिएर मन्दिर पुगेकी सरस्वती नेपालीलाई एक दिन ‘ठूला जात’का मान्छेले लातैलात हाने।

विक्षिप्त त्यो कलिलो दिमागमा फेरि प्रश्नहरू ओइरो लागे- भगवान बस्ने त्यो मन्दिर कस्को होला ?

सायद सरस्वती नेपालीहरूको थिएन कि।

छुन पनि नपाइने मन्दिरमा बस्ने कस्का होलान् ?

कुनै बेला त लाग्ने नै भयो, आफ्नै यो सरस्वती नाम कसले दियो होला ? जो उनले पढ्ने अक्षरकी ‘देवी’ थिइन्।

‘छोएको पानी’ नचलेपछि स्कुले जीवनमै ‘मौन’ विद्रोह सुरु गरेकी यी उनै सरस्वती नेपाली हुन्, जो अमेरिकाबाट संसारभरि नेपाल चिनाउने एउटा ‘अवार्ड’ बोकेर भर्खरै फर्किएकी छिन्।

बैतडीको त्यो खोंचमा ‘विभेद’का भंयकर चीराहरूबाट जागेकी सरस्वती आज विश्वभरि चिनिएकीमात्रै छैनन्। देशलाई पनि चिनाएकी छिन्।

जातका आधारमा समाजको तिरस्कार, लाञ्छना, अपमानहरू सहेर आफूलाई ‘इस्पात’ बनाएकी सरस्वतीले विद्रोह गर्न छोडिनन्, सामाजिक असमानताविरुद्ध लम्किएका उनका पाइलाहरु रोकिएनन्, र त उनलाई संयुक्त राज्य अमेरिकाको एउटा विश्वप्रसिद्ध अवार्ड चुम्न सफल भइन्।

अमेरिकी विदेश मन्त्रालयले यसै वर्ष स्थापना गरेको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाउने विश्वका ६ जनाभित्र सरस्वती पनि एक हुन्।

साउन २४ (अगस्ट ९)मा अमेरिकाको विदेश मन्त्रालयमा आयोजित एउटा भव्य कार्यक्रमबीच त्यो अवार्ड थाप्दै गर्दा सरस्वतीका मनभित्र ‘उपल्लो जात’ले गरेका ती सारा अपमानहरू झलझली नाचिरहेका थिए।

मौन विद्रोह

सरस्वतीको जन्म वि.सं. २०३८ भदौ ८ मा बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ४ खलंगागढीमा भएको थियो। भारतीय आर्मीसमेत रहेका बुबाको निधन हुँदा सरस्वती मात्रै ६ महिनाकी थिइन्। बुबाको हात समाउन नपाएकी सरस्वती आमा र तीन दाजुहरूको कष्टपूर्ण संघर्षका बीच हुर्किइन्।

जातीय विभेदको घेराभित्र रुमलिएको सरस्वतीको परिवारले बुबाको निधनपछि झन कष्ट भोग्नु पर्‍यो।

आर्थिक अभावसँगै बुवाको कमीले सरस्वतीको मन बटारिरहन्थ्यो।

बुबा भएका केटाकेटी र गुमाएका केटाकेटीहरूलाई समाजले हेर्ने नजर नै फरक थियो त्यो समय।

सरस्वतीको बाल्यकाल अभावमै। लाउने, खाने अभाव। बालापनमा अभिभावकत्वको अभाव। माया, प्रेम अनि सामाजिक सद्भावले बिथोलिएको बालापन बाँचिन् उनी।

स्कुल पढ्न थालेकी सरस्वतीका लागि कापि-कलमको जोहो गर्नै उनकी आमा र दाजुहरूलाई महिनौं लाग्थ्यो।
सरस्वती अझै पनि स्मरण गर्छिन्, खुट्टामा चोट लाग्दा आमा घस्रिँदै घ्रसिँदै काममा गएको। स्कुल ड्रेस किन्दिने पैसा जुटाउन कान्छो दाइ खाली बोतलहरू बटुलेर झुलाघाटमा बेच्न पुगेको।

सरस्वतीले प्राथमिक तहको शिक्षा घरनजिकको दशरथचन्द प्राथमिक विद्यालयबाट पूरा गरिन्।

६ कक्षाभन्दा माथिको पढाइ पूरा गर्न घरबाट २० मिनेट हिँडेर पुगिने वीरेन्द्र उच्च माध्यमिक विद्यालयमा जानु पर्थ्यो। सरस्वती जब घरपरको विद्यालयमा पढ्न सुरु गरिन्, अनि महसुस गर्न थालिन आफूमाथि भएको जातीय विभेद।

मन्दिर छुँदा उनीमाथि वर्षिएका ‘लात’को भाषा ठुला जातका आफ्नै विद्यार्थी साथीहरूले बोलिरहेका थिए। अलिअलि बुझ्ने भएका उनका इन्द्रीयहरू विस्तारै परिपक्व हुँदै थिए।

वीरेन्द्र उच्च मा.वि.मा दलित विद्यार्थीहरुले पानी छुन पाउँदैनथे।

विद्यालयको प्रशासनिक कक्षमा राखिएको पानीको भाँडो छुन दलित विद्यार्थीहरुलाई निषेध थियो। तीर्खा लागे गैर-दलितहरूलाई हातमा पानी खनाइदिन भन्नुपर्थ्यो।

अनि, सँगै पढ्ने गैरदलित साथीले पानी खनाइदिने दलितले हात थापेर खाने।

विद्यायलमा बसालिएको यो थितिले सरस्वतीको मन चर्रचरी चिरिन्थ्यो।

सरस्वतीको कलिलो मस्तिष्कले पनि बुझ्दैथियो, त्यस्तो किन भइरहेको छ?

अनि, मनमा विद्रोहको झिल्को बल्यो।

सरस्वतीले त्यसलाई निभ्न दिइनन्।

अनि मनमनै एउटा संकल्प गरिन्  ‘आफै निकालेर पानी खान पाउने भए खान्छु, नत्र यहाँको पानी नै खान्नँ।’

१५-१६ वर्षको उमेरमै सरस्वतीले जातीय विभेदविरुद्ध सुरु गरेको त्यो एउटा ‘मौन’ विद्रोह थियो।

र, पनि ‘ठुला जात’हरू उनलाई त्यो पानी र त्यसको भाँडो त कसरी छुन दिन्थे र!

अनि त सरस्वतीले त्यो स्कुलको पानी नै पिउन छोडिन्।

प्यास बोकेरै घरै फर्किन्थिन्, मनभरि पिउँथिन्।

‘मैले स्कुलमा कहिले पानी खाइनँ, हात थापेर पनि कसरी खानू जस्तो लाग्यो?’ सरस्वतीले सम्झिन्छन्, ‘तीर्खा लाग्यो भने पढाइ छोडेर भए पनि दौडिदैं घरमै पुगेर पानी खाएर फेरि स्कुल जान्थेँ।’

सरस्वतीले २०५८ मा एसएसली उत्तीर्ण गरिन्। त्यो घरमा एसएलसी पास भएकी उनीमात्रै सन्तान थिइन्।

आइएससी (प्लस टु) पढ्दा पनि त्यस्तै भोगाइ थियो।

स्कुले जीवनमै ‘ठुला जात’ भनेर रटाइका साथीहरू उनै थिए। क्याम्पस पुग्दासम्मै पनि छोडेनन्।

सरस्वती आइएससी पढ्दा पनि बेन्चमा एक्लै बस्थिन्। ‘तल्लो जातकी केटी’ भनेर अपमान गर्ने साथीहरू सरस्वतीसँग कक्षा कोठाभित्र पनि परपर भए।

आइएससी सकेपछि उनी स्नातक पढ्न भर्ना त भइन् तर जातीय विभेदविरुद्ध खुलेर बोल्न सक्ने भएकी सरस्वतीलाई किताब भित्तामा गुम्सिएका भावनाहरुले विभेदको पर्खाल भत्किन्छ जस्तो लागेन।

क्याम्पस जान छाडेर उनी अब जातीय र सामाजिक विभेदविरूद्धको लडाइँमा होमिइन्।

‘स्कुलमा पढाउने शिक्षकहरुले त जातीय विभेद गर्छन् भने हामीले पढेर के काम? शिक्षित मान्छेले त विभेद गर्छन् भने हामीले के पढ्ने? बरु समाजसँग विद्रोह गर्ने भन्ने सोच आयो अनि पढाइमा भन्दा आन्दोलनमा ध्यान गयो। पढाइ रोकियो’, सरस्वतीले भनिन्।

सरस्वतीले एसएसली उत्तीर्ण गरेको वर्ष बैतडीमा पुरनसिंह दयालको नेतृत्वमा दलितहरूको मन्दिर प्रवेश अभियान सुरु भएको थियो। त्यो अभियानमा सरस्वतीका दाइ पनि सहभागी थिए।

जातीय विभेदविरुद्ध मैदानमा उत्रिएको दयाल नेतृत्वको अभियानले होटेलमा चिया खाएपछि गिलास माझ्नुको साटो फुटाउने, जातीय विभेदविरुद्ध भित्ते लेखन गर्ने, मन्दिर प्रवेश गर्नेलगायत योजना बनाएको थियो।

यो अलि उग्र अभियान थियो। तर, गर्नु त पर्थ्यो नै!

दाइहरूको प्रेरणाले सरस्वतीले पनि जातीय विभेदविरुद्ध मुठ्ठी कसिन्।

०५८ को मध्यतिर बैतडीमा मन्दिर प्रवेश अभियान चर्कियो।

हजारौँ वर्षको बन्धन तोडेर जगन्नाथ मन्दिर प्रवेश गर्ने आँट गरेका पुरनसिंहहरू गैरदलितहरुबाट कुटिए।

जगन्नाथ मन्दिर प्रवेश अभियानमा सरस्वती पनि सहभागी थिइन्।

नाराबाजी गर्दै जगन्नाथ मन्दिर प्रवेश गर्न जाँदा गैरदलितबाट कुटिएर पुरनसिंह दयाल र कर्ण दयाल घाइते भए। बाँकी सबै लखेटिए।

जगन्नाथ मन्दिर प्रवेश गर्दा लखेटिएका उनीहरूलाई ६ महिनासम्म स्वतन्त्र तरिकाले बाहिर हिँड्नै पाएनन्। उनीहरू जहाँ पुग्थे, त्यहीँबाट लखेटिन्थे।

गणतन्त्र स्थापनापछि देशमा सामाजिक संघ संस्थाहरूले स्वतन्त्र ढंगले काम गर्न पाए।

०६३ सालसम्म आइपुग्दा सरस्वती सामाजिक न्यायको लागि प्रखर बोल्नसक्ने भइसकेकी थिइन्। विभिन्न सामाजिक संघ संस्थाहरूको नेतृत्व गर्नेदेखि आन्दोलन हाँक्नेसम्मै।

०५८ मा मित्र संघ बैतडी नाम संस्थामा आबद्ध भएर काम गरेकी सरस्वती त्यसपछि ‘राष्ट्रिय दलित नेटवर्क’, सामुदायिक आत्मनिर्भर केन्द्र, महिला पुन:स्थापना केन्द्र (ओरेक)लगायत संस्थाहरुमा आबद्ध भएर काम गरिन्।

ती संस्थाहरुको सहयोगमा सरस्वतीले जातीय विभेदविरुद्धको आन्दोलन, महिला हिंसाविरुद्धको आन्दोलन, हली प्रथाविरुद्धको आन्दोलनलाई झनै चर्काइन्।

२०६० मा बैतडीमा हलियामुक्ति अभियान सुरु भयो।

०६३ साल भदौमा बैतडीमा हलिया सम्मेलन भयो। त्यसपछि हलियाहरूको मुद्दा राष्ट्रियकरण भयो।

२०६७ सालमा बैतडीमा सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनुपर्ने मागसहित आन्दोलन भयो।

त्यसपछि बैतडीका ३७ परिवारले २-२ रोपनीका दरले जमिन पाए। सुकुम्बासीहरुले जमिन पाउँदै गर्दा सरस्वतीले महिला अधिकारीको पनि कुरा उठाइन्। ‘त्यति बेला मैले लालपुर्जामा महिला र पुरुष दुबै जनाको नाम हुनुपर्छ भने आवाज उठाएकी थिएँ’, सरस्वतीले भनिन्, ‘त्यसपछि संयुक्त पुर्जा पनि बने।’

२०६४ सालम्म सरस्वती बैतडीसँगै अन्य जिल्लाका कार्यक्रमहरूमा पनि सहभागी भइन्। संविधान जारी गर्ने क्रममा दलित समुदायका अधिकार सुरक्षित गर्न माग राख्दै आन्दोलित भइन्।

०६४ असोज १ गते डोटीको शैलेश्वरी मन्दिरमा घटना भयो। दलितहरूको मन्दिर प्रवेश अभियानको क्रममा शैलेश्वरी मन्दिरमा दलित र गैरदलितबीच भिडन्त भयो। त्यतिबेला सरस्वती पनि नराम्रोसँग घाइते भइन्।

जातीय विभेदविरुद्धका आन्दोलनमा बैतडीमा कयौँ पटक घटना भए। सरस्वतीको समूहले जातीय विभेदको निरन्तर प्रतिवाद गरिह्यो। त्यस क्रममा जातीय विभेदका घटनामा निरीह भनेका दलितको मुद्दा अदालतसम्म दर्ता हुने चरणमा पुगे।

सक्रिय राजनीतितिर

०७० पछि सरस्वतीका पाइलाहरु राजनीतितर्फ लम्किए।

उनी नेकपा (एमाले)निकट विभिन्न संगठनहरुमा जोडिइन्। हाल नेकपा (एमाले) बैतडी जिल्ला उपसचिव, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा मदन भण्डारी फाउन्डेसनको सदस्य रुपमा काम गरिरहेकी छन्।

देश संघीयतामा गएपछि भएका दुवै स्थानीय तहका निर्वाचनमा सरस्वतीले दशरथचन्द नगरपालिकाको उपप्रमुख पदमा प्रतिस्पर्धा गरेकी थिइन्। तर, उनी दुवै निर्वाचनमा पराजित भइन्।

अघिल्लो वर्षकाे निर्वाचनमा उनी अढाइ सय मतान्तरले पराजित भइन्। ‘त्यति बेला पनि यो दलित हो, यसले मन्दिर प्रवेश गर्छे, झन् आतंक मच्चाउँछे, भोलि पानी कसरी चलाउने? जस्ता मुद्दाहरुमा जोडेर मेरो कुप्रचार गरेर मलाई हराउने काम भयो’, सरस्वतीले भनिन्।

सुदूरपश्चिममा बसेर निरन्तर सामाजिक न्यायको लागि काम गर्दै आएकी सरस्वतीले सन २०१८ मा पाँच लाख राशिको दर्नाल अवार्ड पाएकी थिइन्।

सामाजिक न्यायको क्षेत्रमा काम गर्दा देशले चिनेकी सरस्वतीलाई अन्तत: संसारले चिन्यो। संसारभरि आफू र आफ्नो देश अनि समाजलाई चिनाइन्।

र, अन्तत: अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ प्राप्त गर्न सफल भइन्।

सुरुमा यस अवार्डको लागि आफ्नो नाम छनोट भएकोमा आश्चर्य मानेकी सरस्वती अहिले खुसीले गद्गद् छिन्।

‘पहिला त यस अवार्डको लागि मेरो नाम छनोट हुँदा सक्ड भएँ। म हो कि होइन भनेको जस्तो भएको थियो’ तर यहाँबाट अमेरिका गएर पुरस्कार थाप्दा यति त्यो खुसीको सीमा नै भेटेकी छैनन् सरस्वतीले।

जीवन-साथीबारे सोच्ने समय नै भएन

४२औँ वसन्त  यात्रा गरिरहेकी सरस्वतीले अहिलेसम्म जीवन-साथीबारे कहिल्यै सोचिनन्।

वैवाहिक बन्धनमा बाँधिएपछि सामाजिक काममा सक्रिय हुन मुस्किल हुने उनको बुझाइ छ।

‘पुरुषबाट महिलामाथि भएका घटना देखेर विवाह भन्ने शब्द मनबाटै हट्दै हट्दै गयो’, सरस्वती भन्छिन्, ‘एक त त्यतातिर सोच्ने समय पनि भएन। यदि बिहे गरेको भए त यता समय दिन सक्ने थिएन।’

सरस्वतीको घरमा ९० वर्षीया आमा र उनका दाजुहरू छन्।

सरस्वती आफ्नो घरको परिवारलाई आफ्नो प्रेरणाको स्रोत मान्छिन्।

‘छोरी मान्छे घरबाहिर हिँड्नु हुँदैन’ भन्ने मान्यता राख्ने समाजले अनेकौं लान्छना लाए पनि सरस्वतीलाई आफ्नो परिवारले कहिले पनि कुनै काममा रोकतोक लगाएन।

‘समाजमा त कुरा काटिन्थ्यो, बाहिर गएपछि बिग्रिन्छे भनेर, त्यो बिग्रिने भनेको के हो थाहा भएन्। तर, मलाई परिवारले कहिले पनि बन्धनमा राखेन्’, सरस्वतीले भनिन्।

आफ्नो सफलताको श्रेय आमा र परिवारलाई दिने सरस्वतीले अमेरिकाबाट सम्मान पाएपछि झन जिम्मेवार महसुस भएको बताउँछिन्।

‘हामी यस्तो ठाउँमा पुग्यौं, अब त न रोकिन मिल्छ न पछाडि फर्किन मिल्छ’, सरस्वती भन्छिन्, ‘अब त पाइला रोकिदैनन्, झन् शक्तिशाली पो भएका छन्।’