अर्को टिकट बनाएर उड्न लागेका श्रमिकलाई अध्यागमनले फेरि रोक्यो

व्यवासायी भन्छन्– जघन्य अपराध हो, अरु देशमा भएको भए हङ्गामा भइसक्थ्यो

अर्को टिकट बनाएर उड्न लागेका श्रमिकलाई अध्यागमनले फेरि रोक्यो शुक्रबार सिनामंगलमा व्यवसायीसंघले आयोजना गरेको पत्रकार सम्मेलन

काठमाडौं। रोजगारीका लागि कुवेत जान लागेका ३७ श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोकेको छ।

यी ३७ श्रमिक उनै हुन् जसलाई २७ असारमा पनि अध्यागन विभागले फर्काएको थियो।

२७ असारमा अध्यागमनले ११७ श्रमिकलाई भिसालगायतका कागजात शंकास्पद रहेको भन्दै प्रस्थान अनुमति नदिएरै फर्काएको थियो।

शुक्रबार राति निरकमल एचआर म्यानपावर कम्पनीले पठाएका ११ जना जजिरा एयरलाइन्स र ४ जना सलाम एयरबाट कुवेत जान लागेका थिए।

यस्तै, युथ म्यानपावरले पठाएका १३ जना जजिरा एयर र ९ जना सलाम एयरबाट कुवेत उड्ने तयारीसहित विमानस्थल पुगेका थिए।

उनीहरूलाई म्यानपावरले अर्को टिकट बनाएर पठाउन लागेको थियो। तर, अध्यागनले उनीहरूलाई दोस्रो पटक पनि प्रस्थान अनुमति दिएन।

‘मिति २०८०/०३/२७ गते कागजातलगायतका विषय शंकास्पद भएको भनी प्रस्थान अनुमति नदिएकोमा निजको भिसालगायतका अन्य कागजातहरू छानविनको प्रक्रियामा रहेकाले अध्यागमन विभागका महानिर्देशकज्यूको निर्देशनअनुसार प्रस्थान अनुमति नदिइएको,’ अध्यागनले कामदारलाई थमाएको पत्रमा भनिएको छ।

शुक्रवार विहान भने ९ जनालाई ‘शंकास्पद’ भनिएकै काजजातका आधारमा कुवेत जान अध्यागमनले अनुमति दिएको थिए। २७ असारमा शंकास्पद भनेर पठाइएका ८ महिलासहित ९ जना शुक्रबार कुवेत पुगिसकेका छन्।

अध्यागमनले निरन्तर श्रमिकहरूलाई फर्काउन थालेपछि वैदेशिक रोजगार व्यवासायीहरूले  विभागका हाकिमले अनावस्यक रुपमा दुःख दिइरहेको आरोप लगाएका छन्।

शुक्रबार वैदेशिक रोजगार व्यवासायी संघले यस विषयमा पत्रकार सम्मेलन गरेर प्रक्रिया पूरा गरी रोजगारीमा जान लागेका श्रमिकलाई अध्यागनले रोकेको भन्दै क्षत्तिपूर्ति समेत माग गरेको छ।

‘अध्यागन विभागले विनाकारण दुःख दिइरहेको छ। खादामाला लगाएर उड्न ठिक्क परेकालाई फर्काइएको छ। मानवीय हिसावले पनि यो जघन्य अपराध हो,’ संघका अध्यक्ष राजेन्द्र भण्डारी भने, ‘यसबाट कामदार पीडा र व्यवसायीलाई ठूलो नोक्सान भएको छ। यसको जिम्मेवारी अध्यागनका हाकिमले लिनुपर्छ।’ झण्डै ७० लाख रुपैयाँ बराबरको टिकट खेर गएको उनको भनाइ छ।

भण्डारीले अरु देशमा भएको भए यो विषय अन्तर्राष्ट्रिय मुद्दा बनिसक्ने बताए। ‘सबै प्रक्रिया पूरा गरेकालाई यत्तिकै रोकिएको छ। ४० जनालाई त अध्यागन र सुरक्षा जाँच सकाएर गेटमा जहाजको पर्खाइ गर्ने ठाउँबाट फेरि फर्काइएको छ।

एकपटक डिपाचर स्टायम् लगाइसकेको व्यक्तिलाई फेरि क्यान्सिल भएको छाप हानिएको छ। यसले श्रमिकको राहदानीमा समेत खराव रेकर्ड बन्छ,’ उनले भने, ‘यो सानो विषय होइन। अन्तर्राष्ट्रिय कानुनविपरीत हो। अरु देशमा भएको भए हङ्गामा भइसक्थ्यो।’