शंकास्पद भन्दै विमानस्थलबाट फर्काइएकै कागजातमा कुवेत उडे श्रमिक

शंकास्पद भन्दै विमानस्थलबाट फर्काइएकै कागजातमा कुवेत उडे श्रमिक फाइल फोटो

काठमाडौं। बुधवार रोजगारीका लागि कुवेत जाने तयारीसहित विमानस्थल पुगेका १०१ श्रमिकले अध्यागन कार्यालयबाट प्रस्थान अनुमति पाएनन्। बिहीबार पनि १६ जना विमानस्थलबाटै फर्किन बाध्य भए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिसालगायत कागजात शंंकास्पद भएको भन्दै उनीहरूलाई रोकेको थियो।

तर, यसरी रोकिएका श्रमिकमध्ये ९ जना भने उही कागजातमा शुक्रबार कुवेत उडेका छन्।

शंकास्पद भनि फर्काइएका श्रमिकलाई सोही कागजातमा अध्यागमनले कुवेत उड्न दिएको हो। निलकमल एचआर म्यानपावरका सञ्चालक जयराम भुर्तेलका अनुसार शुक्रबार विहान ८ महिलासहित ९ जना कुवेत उडेका हुन्।

उनीहरूको भिसा अवधि आजै सकिदैं थियो। म्यानपावरले बाध्य भएर उनीहरूलाई अर्को टिकट बनाएर पठाएको हो।

दुई दिनअघि शंकास्पद कागजात भनेर फर्काइएका श्रमिक आज उही कागजात देखाएर कुवेत उडेपछि अध्यागमन विभागका कर्मचारीमाथि प्रश्न उठेको छ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाइसकेर रोजगारीमा जान लागेका श्रमिकलाई विमानस्थलबाट फर्काइएपछि अहिले अध्यागमन विभागको चौतर्फी आलोचना भएको छ।

वैदेशिक रोजगार व्यवासायीहरूले विरोध जनाइरहेका छन्। यही विषयमा शुक्रबार दिउँसो व्यवासायीहरूले पत्रकार सम्मेलन समेत आयोजना गरेका छन्।

अध्यागमन विभागका कर्मचारीमाथि नियम पूरा गरेका श्रमिकलाई अनावस्यक दुःख दिने तर, भिजिटमा यूएईलगायतका देशमा जान लागेकालाई भने सेटिङमा प्रस्थान अनुमति दिने गरेको आरोप लागेको छ।