हिमाचलमा एकै परिवारका ३ नेपालीकाे ज्यान गयो

हिमाचलमा एकै परिवारका ३ नेपालीकाे ज्यान गयो

काठमाडौं। विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ।

हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीन जनाको पहिरोमा परी निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

निधन भएका नेपाली नागरिकप्रति राजदूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहायता तथा समन्वय गर्नको लागि भारत सरकार, हिमाचल प्रदेश सरकार त्यहाँ कार्यरत गैरसरकारी संस्था तथा नेपाली समुदायसँग राजदूतावासले निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

हालको बाढी पहिरोको प्रभाव कम नहुँदासम्म प्रभावित क्षेत्रमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन राजदूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गरेको छ। भारी वर्षाका कारण कुनै पनि नेपाली नागरिक अप्ठेरो स्थितिमा रहेको जानकारी प्राप्त भएमा राजदूतावासको हटलाइन नं ८९२९६०१९२५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतको उत्तरी क्षेत्र खास गरी हिमाचल प्रदेशको सबैजसो भाग र अन्य राज्यमा समेत बाढी तथा पहिरोमा परी धनजनको क्षति भएको जानकारी प्राप्त भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए छ।

भारतको केन्द्रीय सरकार र राज्य सरकारद्वारा उद्धारका कार्य तीव्र गतिमा सञ्चालन भइरहेको समाचार प्रसारण भएका छन्।



No ads found for this position