साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु FILE PHOTO

काठमाडौं। साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ।

जेद्दास्थित अमेरिकी वाणिज्यदूतावास भवनबाहिर बन्दुक बोकेका अर्का व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका एक व्यक्ति कारमा आएका थिए।

अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ।

घटनाबारे साउदी अरबका निकायहरूले अनुसन्धान सुरू गरेका छन्।

रोयटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपिएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड यो घटनामा सुरूमा घाइते भएका र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ।

जेद्दास्थित नेपालको महावाणिज्य दूतावासका अनुसार हालसम्म आधिकारिक रूपमा सूचना प्राप्त हुन सकेको छैन।

आक्रमणमा परी मृत्यु भएको सुरक्षा गार्डको नाम र ठेगाना खुल्न नसकेको महावाणिज्य दूतावासको भनाइ छ।

इदका कारण साउदी विदेश मन्त्रालय बन्द रहेकाले आधिकारिक रूपमा सूचना प्राप्त गर्न समय लाग्ने अवस्था देखिएको छ।