‘यमनिया एयरवेज’को सानादेखि साउदी अरबसम्म सिधा उडान सुरु

‘यमनिया एयरवेज’को सानादेखि साउदी अरबसम्म सिधा उडान सुरु

साना। यमनको राष्ट्रिय वायुसेवा कम्पनी, ‘यमनिया एयरवेज’ले हुथी विद्रोहीको नियन्त्रणमा रहेको सानाबाट साउदी अरबका लागि करिब आठ वर्षको सेवा अवरोधपछि सिधा उडान पुनः सुरु गरेको छ।

यमनको राजधानी सानालाई साउदी शहर जेद्दाह र मदिनासँग जोड्ने यो उडानको उद्देश्य यमनी तीर्थयात्रीहरूलाई राज्यमा यात्रा गर्न मद्दत गर्नु रहेको बताइएको छ।

योे यमनमा शान्तिका लागि मार्ग प्रशस्त गर्न जारी अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा अर्को सफलताको प्रतीक हो।

सन् २०१४ मा हुथी विद्रोहीको नियन्त्रणमा आएपछि साना अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान बन्द गरिएको छ।

सन् २०२२ को मे महिनामा यमनियाले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतापछि साना र जोर्डनको राजधानी अम्मानबीच बीचबीचमा उडान सञ्चालन गरेको थियो।

यी उडानहरूले यात्रु ओसारपसारलाई सुविधा प्रदान गर्नुका साथै यमनवासीहरूलाई विदेशमा चिकित्सा उपचार गर्न सहयोग पुर्याएको थियो।

हुथी लडाकूसमूहले सन् २०१४ मा यमनका विभिन्न उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएपछि र यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन सैन्य द्वन्द्वमा फसेको छ।

यमनी द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत हुनुका साथै अरब विश्वको सबैभन्दा गरिब देशलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटमा फसाइएको छ।