जापान बस दुर्घटना : २ नेपाली विद्यार्थीको निधन

जापान बस दुर्घटना : २ नेपाली विद्यार्थीको निधन

टोकियो। मंगलबार राती जापानको मियागी प्रान्तमा सडक दुर्घटनामा २ जना नेपाली विद्यार्थीको निधन भएको छ।

काममा जाने क्रममा रहेका नेपाली विद्यार्थीहरु सवार बसको इन्जिनमा खराबी आएपछि चेकजाँचका लागि रोकिएको अवस्थामा बसलाई ट्रकले ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । उक्त बसमा ४०नेपाली विद्यार्थी र बंगलादेशी समेत सवार थिए ।

मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्स्प्रेस वेमा दुर्घटनास्थल भएको थियो। उक्त स्थान राजधानी टोकियोबाट करिव ३५० किलोमिटर उत्तर पूर्वमा रहेको छ।

बस दुर्घटना रात करिव ८ बजेर ५ मिनेटको समयमा भएको बसमा सवार एक नेपाली विद्यार्थीले जानकारी दिएका छन्।

ट्रकको ठक्करबाट निधन हुनेमा दुईजना नेपाली विद्यार्थी छन् । उनीहरु फरक फरक विद्यालयमा अध्ययनरत थिए। साथै उनीहरुको घर पनि नेपाल फरक जिल्ला भएको पाइएको छ।

एनआरएनए तोहोकुका पूर्व संयोजक सन्तोष चौहानले दिएको जानकारी अनुसार मृत्यु हुनेमा २२ वर्षका नवराज तामाङ र २७ बर्षका युवराज थापा रहेका छन्। तामाङको घर नेपाल काभ्रे जिल्ला र थापाको स्थाई घर ओखलढुंगा भएपनि हाल काठमाडौंमा बसोबास थियो।

तामाङ सेन्दाई ल्यांग्वेज स्कुलमा अध्ययनरत थिए भने थापा खादान् जिदोस्या गाक्कोउमा अध्ययनरत थिए।

मृत्यु भएका अर्का व्यक्ति बसका महिला चालक हुन्। उनी जापानी नागरिक हुन्।

बसलाई ठक्कर दिने ट्रकका चालक भने गम्भिर घाइते रहेको र अवस्था गम्भिर रहेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन्। मृतक तथा घाइते जापानी नागरिकको परिचय खुलेको छैन।

जापानमा ४० नेपाली सवार बस दुर्घटना, तीन जनाको अवस्था गम्भीर