जापानमा ४० नेपाली सवार बस दुर्घटना, तीन जनाको अवस्था गम्भीर

जापानमा ४० नेपाली सवार बस दुर्घटना, तीन जनाको अवस्था गम्भीर

नागोया। जापानमा ४० नेपाली सवार बस दुर्घटना भएको छ। काममा जाँदै गरेका नेपाली विद्यार्थीहरु चढेको बस मियागी प्रान्तमा दुर्घटना भएको हो।

प्राप्त जानकारी अनुसार जापानको मियागी प्रान्तमा रातको समयमा काममा जाँदै गरेका नेपाली विद्यार्थीहरु चढेको बसलाई ट्रकले ठक्कर दिँदा हताहती भएको हो।

जापानी समाचार संस्थाहरुकाअनुसार हालसम्म मृत्युको पुष्टि भएको छैन। तर, दुर्घटनामा तीनजनाको अचेत अवस्थामा र एकजनाको गम्भिर अवस्थामा उद्दार गरिएको छ।

अचेत अवस्थामा पाइएका तीन जनामा दुईजना नेपाली विद्यार्थी र एकजना बसका चालक रहेका छन् भने गम्भिर घाईते ट्रकका चालक हुन्।

यसरी भयो दुर्घटना

बस जापानको मियागी प्रान्तको कुरिहारा शहरमा पर्ने तोहोकु एक्स्प्रेस वेमा एक कम्पनीतर्फ जाँदै थियो।

कामदारहरु खोजेर काममा लगाउने कम्पनीमार्फत काममा जाने क्रममा उक्त बसमा करिव ४० जना सवार थिए। बसमा चढेका मध्ये सबैजसो नेपाली विद्यार्थीहरु थिए। बस एक्सप्रेस वेको बिच भागमा गुडिरहेकै अवस्थामा प्राविधिक गडबडी आएपछि रोकिन पुगेको थियो। बसभित्र गनाएको जस्तो गन्ध आएपछि बसमा सवार नेपालीहरुले ढोका खोल्न भन्दै बाहिर निक्लिएका थिए।

त्यस पश्चात बसका महिला चालकले सबैजनालाई बस रोकिएको ठाउँ भन्दा करिव १०० मिटर अगाडी उभिन लगाएकी थिइन्।

बसमा आएको प्राविधिक खराबी चेकजाँच गर्न गएकी चालकलाई सहयोग गर्न दुई नेपाली विद्यार्थी टर्च बालिदिन गएका थिए।

बस चेकजाँचकै क्रममा रहँदा रात करिव ८ बजेर ३ मिनेटमा उहि दिशातर्फ गुडिरहेको ट्रकले पछाडिबाट बसलाई ठक्कर दिएर पल्टाइदिएको थियो।

बसले ठक्कर दिंदा दुई नेपाली विद्यार्थी र बसको महिला चालक चेकजाँच गरिरहेका थिए। ट्रकले अकस्मात ठक्कर दिंदा उनिहरु तीनैजना घटनामा गम्भिर घाईते बन्न पुगेका थिए।

घाईतेमध्ये एक नेपाली विद्यार्थीलाई करिव आधा घण्टापछि बसमा च्यापिएको अचेत अवस्थामा निकालिएको थियो।

प्रत्यक्षदर्शीहरुका अनुसार महिला चालक सहित दुई जना नेपालीको जीवन रहेको कुनैपनि संकेत देखिएको थिएन। ट्रकका चालक समेत गम्भिर घाइते साथै चिन्ताजनक अवस्थामा उद्दार गरिएको थियो।

प्रहरीले घटनास्थलमा निधनको पुष्टि नगर्ने भएकाले उनिहरु चारजनालाई नै तत्काल अस्पताल लगिएको छ । तर अस्पतालले यसबारेमा बताएको कुनैपनि आधिकारिक विवरण आइनसकेको जापानबाट संचालित नेपाली अनलाइन जापान समाचारले जनाएको छ।

ट्रकले ठक्कर दिएर उछिट्टिएको केही भागले १०० मिटर पर उभिएका केही नेपाली विद्यार्थी घाइते भएका थिए। तर, उनीहरुको अवस्था खतरामुक्त छ।

दुर्घटनामा परेको बस केहि पुराना भएकाले प्राविधिक समस्या आएको हुनसक्ने बसमा यात्रा गरेका एक विद्यार्थीले जानकारी दिए। एकसाता अघिसम्म उक्त बसमा सवार सबैलाई अन्य राम्रो कण्डिसनको बसमा लैजाने र ल्याउने गरिएको थियो। साथै अन्य समयमा पुरुष चालकले बस चलाउने गरेको भएपनि दुर्घटनाको दिनमा मंगलबार महिला चालकले बस चलाएको सोहि कम्पनीमा कार्यरत एक नेपाली विद्यार्थीले बताएका छन्।