नक्कली भुटानी शरणार्थी प्रकरण : कहिले टुंगिन्छ अनुसन्धान?

नक्कली भुटानी शरणार्थी प्रकरण : कहिले टुंगिन्छ अनुसन्धान?

काठमाडौं। पावर र पहुँच बनाइसकेका गिरोहले सोझासाझा सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनेर आफ्नो पासोमा पारे।

अमेरिका गएर काम गरे पनि नगरे पनि महिना १५ सय डलर पाउने प्रलोभन उनीहरूलाई दिइएको थियो।

‘मानवतस्कर’ को यो गिरोहले झापाका मात्रै नभएर पश्चिम नेपालका सर्वसाधारणलाई पनि आफ्नो जालमा फसाइसकेका थिए। जबकि उनीहरूलाई भुटानी शरणार्थीबारे खासै जानकारीसमेत थिएन।

गिरोहले दिएको प्रलोभनमा फसेर उनीहरूले प्रतिव्यक्ति साढे १५ लाख रूपैयाँसम्म बुझाए।

यो गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका उडाइदिने बताएका थिए। गिरोहका मानिसहरूले उनीहरूलाई न भुटानी शरणार्थी बनाउन सके, न अमेरिका नै उडाउनसके।

सापट र ऋण काढेर गिरोहलाई रकम बुझाएकाहरू सशंकित बने। उनीहरूको छटपटी बढ्यो। र, भन्न थाले– कि अमेरिका उडाऊ, कि पैसा फिर्ता देऊ।

पैसा असुल गरेकाहरूको दबाबमा फसे गिरोहका सदस्यहरू। पावरसँग नजिक भएकाले आफूहरूको सुइको समेत नभाचिनेमा ढुक्क थिए, उनीहरू।

मोटो रकम ठगिएको आभास पाएपछि पीडितहरूको जाहेर प्रहरीमा पुग्यो। प्रहरीलाई पनि अनुसन्धानका लागि एउटा आधार चाहिएको थियो। र, त्यो आधार बन्यो पीडितहरूको उजुरी।

त्यही उजुरीको आधारमा प्रहरीले यतिबेला अनुसन्धानलाई अगाडि बढाइरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा चौतर्फी चर्को दबाब रहे पनि अनुसन्धान अगाडि बढिरहेको गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार एक साताभित्र अनुसन्धानको काम सक्नेगरी काम भइरहेको छ।

तीब्र राजनीतिक दबाबक बीच पनि काम नरोकिएको स्रोतको दाबी छ।

भुटानी शरणार्थीको सूचीमा नक्कली मानिसहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा गत बुधबार प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्‍यो।

मैजुबहालस्थित आफ्नो निजी निवासमा नियमित काममा रहेका खाँणलाई डिएसपी नेतृत्वको टोलीले पक्राउ ग¥यो।

यो प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित कैयौं उच्चपदस्थ अधिकारी पक्राउ परेका छन्।

यही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्।

प्रहरी हिरासतमा रहेका खाँणसँग प्रहरीले यो प्रकरणबारे सोधपुछ गरिरहेको छ।

गत साता सचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्यमा केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ र सागर थुलुङ राई रहेका छन्।

यो प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अहिलेसम्म २० वटा उजुरी परेका छन्।

यो प्रकरणमा खाँणकी श्रीमती मञ्जु खाँण र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं कांग्रेस नेतृ आरजु राणा देउवाको पनि नाम मुछिएको अडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको छ।

यो अडियो प्रहरीको हातमा पनि पुगेका बताइएको छ।

खाँण पक्राउ परेकै दिनदेखि प्रतिनिधिसभा सदस्यसमेत रहेकी मञ्जु सम्पर्कविहीन छन्। उनको मोबाइलको स्वीच अफ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धमा सबै कोणबाट अनुसन्धान भइरहेको बताएका छन्।

‘सामाजिक सञ्जाल, पत्रपत्रिकालगायतका स्थानमा आएका विषयलाई हामीले सूचनाका रूपमा लिएका छौं,’ उनी भन्छन्,‘सबै विषयमा अनुसन्धान भइरहेको छ। यतिबेला अनुसन्धान जारी रहेको बाहेक अरू केही बताउन मिल्दैन।’

यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझी ‘फरार भएको’ र उनको एमालेले प्रतिरक्षा गरिरहेको भन्दै आलोचना भइरहेको छ।

एमालेका प्रमुख सचेतक पदम गिरी सरकारले पूर्वाग्रही भएर अनुसन्धानको काम अगाडि बढाएको देखिएको बताएका छन्।

‘यसमा एउटै मापदण्ड हुनुपर्छ। जो–जो आरोपति छन्, उनीहरूलाई ल्याउनुपर्‍यो र पारदर्शी ढंगले अगाडि बढ्नुपर्‍यो भन्ने मात्रै हाम्रो भनाइ हो,’ गिरी भन्छन्।

यो प्रकरणमा कांग्रेसका तर्फबाट यसअघि गृहमन्त्री बनेका बालकृष्ण खाँण पनि संलग्न रहेको भन्ने दाबी गरिएकोले त्यसको पनि अनुसन्धान हुनुपर्ने उनको माग छ।

आफ्नो पार्टीका सचिव तथा पूर्वऊर्जामन्त्री रायमाझीसहित पक्राउपुर्जी जारी भएका व्यक्तिहरूलाई प्रहरीसमक्ष उपस्थित भएर छानबिनमा सघाइदिन प्रमुख सचेतक गिरीको अनुरोध छ।

यसैबीच भूतपूर्व एआइजी विज्ञानराज शर्माले बालकृष्ण खाँण गृहमन्त्री हुँदा नै नक्कली शरणार्थी प्रकरणबारे उजुरी परेको र दुई जना मान्छे पक्राउ गरिएको भन्ने विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

उनले उक्त भिडियोमा खाँणले दबाब दिएर ती मानिस छुटेको दाबी गरेका छन्।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले अनुसन्धान भइरहेकोले सबैले सघाउनुपर्ने बताउँछन्।

एमाले सांसदहरूले संसदमा सत्तापक्षले केवल यो प्रकरणमात्रै नभइ विगतका भ्रष्टाचारका थुप्रै मुद्दाहरूमाथि पनि बहस र छानबिन हुनुपर्ने कुरा उठाएका छन्।

विगतमा पनि ललिता निवास प्रकरण, ३३ किलो सुन प्रकरण, वाइडबडी प्रकरणसहित विभिन्न भ्रष्टाचारका विषय उठे पनि ती विषयहरूमाथिको छानबिनले गति लिन सकेको देखिएको छैन।

राजनीतिक संरक्षण र मिलेमतोका कारण भ्रष्टाचारका ठूला मुद्दाहरू सेलाउने गरेको आशंका धेरैले गर्दै आएका छन्।

चर्चित अपराध

उच्च तहको राजनीतिक एवं प्रशासनिक संयन्त्र तथा मानव तस्करी गर्ने सन्दिग्ध गिरोह सम्मिलित नक्कली भुटानी शरणार्थी खडा गर्ने प्रकरण नेपाल प्रहरीले हालैका वर्षमा अगाडि बढाएको सर्वाधिक चर्चित अपराध अनुसन्धानमध्ये एक हो।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रतिबद्धतासहित नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको विषयप्रति आफू चिन्तित रहेको संयुक्त राष्ट्रसंघको शरणार्थी हेर्ने निकाय युएनएचसिआरले बताइसकेको छ।

नेपाल सरकारले अघि बढाएको अनुसन्धानलाई युएनएचसिआरले स्वागत गरिरहँदा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप नहुने बताउँदै आइरहेका छन्।

नक्कली प्रतिवेदन

यो प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिलगायतका उच्च पदस्थहरूको प्रत्यक्ष संलग्नता खुलेपछि अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको योजनाअनुरूप २०७६ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा कार्यदल गठन भएको थियो।

पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजक तथा गणेशबहादुर केसी विज्ञ र दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेको कार्यदलले झापा, मोरङलगायतका जिल्ला पुगेर तेस्रो मुलुक जान छुटेका शरणार्थीको पुनः प्रमाणीकरण ग¥यो।

कार्यदलले तत्कालीन गृहमन्त्री थापालाई प्रतिवेदन बुझायो। प्रतिवेदन हालसम्म गोप्य छ।

नक्कली भुटानी शरणार्थी बनेर अमेरिका उड्न पर्खेका पीडितले आफू ठगिएको भनेर काठमाडौं प्रहरीमा उजुरी दिएपछि मात्र गृह मन्त्रालयबाट कुनै गलत काम भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थाल्यो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रहरीले फेला पारेको प्रतिवेदनमा कीर्ते गरी अनुसूची थपेर नक्कली भुटानी शरणार्थी भनी ४२९ जनाको नाम थपेको पाइयो।

यो प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा वा बालकृष्ण खाँण कसको समयमा मन्त्रिपरिषदमा पठाइयो खुलेको छैन।

नक्कली प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका संलग्न कर्मचारीका साथै नेतृत्वबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिवेदनमा युएनसिएचआर र जिल्ला प्रशासन कार्यालय झापामा रहेको शरणार्थी समन्वय एकाइले पहिचान गरेको भनी ४२९ जनाको नाम अनुसूचीमा थपेको पाइएको छ।