यसरी जाकिए खाण…

यसरी जाकिए खाण…

काठमाडौं- दुई दिन अघिमात्रै काठमाडौं प्रहरी परिसरमा आफै पुगेर अनुसन्धानमा ‘सहयोग गर्छु’ भनी फर्किएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई लागेकै थिएन ४८ घण्टापछि प्रक्राउ गर्न प्रहरी घरमै पुग्नेछ।

बुधबार बिहान खाण चावहिलको मैजुवहालस्थि आफ्नै घरमा बसिरहेका थिए।

एकएक प्रहरी टोली त्यहाँ पुग्यो। पूरै घर घेरा हाल्यो।

घरभित्रै रहेका उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीले तत्कालै समाएर गाडीमा राख्यो। एकजना डिएसपी खाणको कोठामा पुगेर ‘सर जानुपर्ने भयो…’ भने।

खाणले ढोकाबाटै भनें ‘दुई मिनेट है…’ त्यसपछि खाणले ढोकाको छेस्कन लगाए र खोल्दै खोलेनन्। धेरै बेरसम्म उनले ढोका नखोलेपछि प्रहरीलाई झन अर्कै घटना हुने हो कि? भन्ने शंका लाग्यो र उसले ढोका नै फोड्यो।

भित्र खाणले श्रीमती मञ्जु खाणलगायत केही मानिसहरूसँग सामूहिक भिडियो कल गरिरहेका थिए। प्रहरीको अनुमानमा त्यो बेला ढोका थुनेर खाणले सबै ठूला नेताहरूसँग प्रहरी आफूलाई गिरफ्तार गर्न आएको बारे कुराकानी गरेका थिए।

खाणलाई बाहिर निकालेर प्रहरीकै गाडीमा राख्न खोजिएको थियो। तर उनले आफ्नै निजी गाडीमा जाने अडान राखे। उनकै निजी ड्राइभरले गाडी हाँके। अघिल्लो सिटमा खाण आफै बसे।

पछिल्लो सिटमा एकजना डिएसपी र अर्का एकजना वरिष्ठ सई बसे। अघि पछि प्रहरीको गाडी र बीचमा खाण बसेको गाडी सिधै काठमाडौं प्रहरी परिसर टेकुतिर हुँइकियो।

भित्र छिर्ने बेलामा खाणले भने ‘पिसाव लाग्यो…’ प्रहरीले उनलाई अफिसरहरूको अलि सफा ट्वाइलेट छिराए। बाहिर निस्किँदा केही पत्रकारहरू परिसरमा जम्मा भइसकेका थिए।

खाणले भने ‘पहिला पत्रकारहरूलाई हटाऊ अनि निस्किन्छु…।’ उनी केहीबेर फेरि ट्वाइलेटमै रोकिए। एक छिन पछि प्रहरीले उनलाई छेक्दै भित्र लग्यो। पत्रकारहरूले उनको अनुहार नदेखिएको पछिको भाग आउनेसम्मको फोटो खिच्न भ्याए। खाणले घरबाट निस्किदा नै मास्क लगाएका थिए।

‘एक्कासी प्रहरी पुग्दा उहाँ निकै हतास र आत्तिएको जस्तो देखिनुभएको थियो’ उनलाई पक्राउ गर्न पुगेका एकजना प्रहरी अधिकारी भन्छन् ‘सायद उहाँले प्रहरी आजै आएर समाउलान् भन्ने लागेकै थिएन होला। उहाँले प्रहरीसँग आउन पनि सुरुमा आनाकानी गर्नुभएको थियो। तर पछि को-अपरेट गर्नुभयो।’

उनकी श्रीमती मञ्जु खाण र नेपाली कांग्रेसकै अर्की नेता आरजु देउवाको नाम पनि पक्राउ परेका गिरोहले मुछेका छन्। उनीहरूबीच भएका भनिएका कतिपय अडियोहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा पनि सार्वजनिक भएका थिए। तर उनीहरूलाई प्रहरीले अझै अनुसन्धानमा तानेको छैन।

‘अनुसन्धानका क्रममा धेरैका नाम आएका छन् तर हामीले सबैलाई पक्राउ गर्नु वा अनुसन्धानमा ल्याउनुअघि प्रमाणहरू जुटाउँदैछौं’ एक प्रहरी अनुसन्धान अधिकृतले भने।

प्रहरीका अनुसार बुधबार बिहान खाणकी श्रीमती मञ्जु भने घरमा थिइनन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मञ्जुको पनि नाम जोडिएको छ।

बुधबार नै प्रहरीले हाजिर गराएपछि जिल्ला अदालत काठमाडौंले खाणलाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

किन समातिए खाण ?

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं उठाउने एउटा गिरोहलाई यसअघि देखि नै प्रहरीले पक्राउ गरिरहेको थियो। उनीहरूकै बयानका आधारमा खाण पनि आरोपित हुन्। उनीसँगै पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि यो काण्डमा मुछिएका छन्। यसअघि नै पक्राउपूर्जी जारी भइसके पनि रायमाझी अझै लुकिरहेका छन्।

तर खाणका विरूद्ध भने प्रहरीले अदालतबाट पक्राउ पूर्जी जारी गरेन। बरू उसले सिधै ‘जरुरी पूर्जी’ थमाएको थियो। पक्राउपूर्जी जारी गर्न केही प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ र त्यतिञ्जेल खाण भाग्न पनि सक्छन् भन्ने डर प्रहरीलाई थियो। ती प्रक्रियाहरू पूरा हुँदासम्म त्यसको सूचना चुहिएर खाणसम्म पुग्न पनि सक्थ्यो। र, उनी फेरि नेता रायमाझीजस्तै ‘फरार’ हुन पनि सक्थे। त्यसैले उनलाई नियन्त्रणमा राखिराख्नका लागि प्रहरीले ‘जरुरी’ बाटो अपनायो।

प्रहरीसँग एउटा प्रस्ट आधार त खाणका स्वकीय सचिव नरेन्द्र केसीले गिरोहबाट करोडौं रकम बुझेका प्रमाणहरू छन्। गिरोहसँगको सेटिङ अनि अर्का आरोपित एमाले नेता रायमाझीसँग खाणको उठबस पनि निकै बाक्लो देखिन्छ।

र, अर्को एउटा बलियो प्रमाण भनेको खाणले सघाएको नीतिगत अनियमितता हो। जहाँ उनी गृहमन्त्री हुँदा मन्त्रालयमा रहेको भुटानी शरणार्थीबारे अध्ययन गरिएको प्रतिवेदनमाथि गिरोहले आफूखुसी चलखेल गर्न पायो।

‘खासमा उहाँका स्वकीय सचिवले पैसा बुझेका प्रमाणहरू प्रहरीसँग सुरक्षित छन्। त्यो गिरोहसँग जोडिएका नेता रायमाझीसँग पनि उहाँको उठबस निकै बाक्लो देखिन्छ’ नक्कली भुटानी शरणार्थी प्रकरणबाट अनुसन्धान गरिरहेका एकजना बरिष्ठ प्रहरी अधिकृत भन्छन् ‘त्यसमाथि प्रतिवेदनमाथि गिरोहको चलखेलमा खाणको भूमिका देखिन्छ।’

भुटानी शरणार्थीहरूको स्थायी सामाधान खोज्नका लागि तत्कालीन सरकारले २०७६ सालमा जेठ ३० गते पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा एउटा कार्यदल बनाएको थियो।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायोगका प्रतिनिधिहरूसँग मिलेर केही महिनापछि उक्त कार्यदलले प्रतिवेदन तयार गरेर गृहमन्त्रालयलाई बुझाएको थियो। त्यो मन्त्रिपरिषदबाट पास पनि भयो र फेरि गृहमन्त्रालयमै फर्कियो।

भुटानबाट लखेटिएर सन् १९९०को दशकतिर करिब १ लाख २० हजार जना शरणार्थी भारतको बाटो भएर नेपाल प्रवेश गरेका थिए र उनीहरूलाई झापा अनि मोरङका विभिन्न ठाउँमा शिविर बनाएर राखिएको थियो। नेपाल सरकारले लामो पहलपछि ती शरणार्थीहरूलाई पुर्नवासका लागि अमेरिका लगायतका देशमा लैजाने सहमति भएको थियो। त्यसक्रममा धेरै शरणार्थीहरू अमेरिकालगायत विभिन्न आठ देशहरूमा गए। तर करिब ६ हजार ५७७ जति शरणार्थी अहिले पनि मोरङको शनिश्चरे तथा झापाको बेलडाँगीमै छन्।

यो कार्यदल बनाउने बेलामा गृहमन्त्री रामबहादुर थापा बादल गृहमन्त्री थिए। त्यहीबेलादेखि नेपालीलाई अमेरिका पठाउन सक्रिय रहेको गिरोह सक्रिय भएर त्यो कार्यदलमाथि नै हस्तक्षेप गर्न थाले। कार्यदल पुर्नगठन भयो र गणेशबहादुर केसी कार्यदलका संयोजक तोकिए। यो कार्यदलले ‘छुट भएका’ शरणार्थीहरूको नाममा आवेदन मागे।

गिरोहले त्यही सूचनाका आधारमा नेपालीसँग पैसा मागेर त्यहाँ निवेदन दिन लगाए। तर कार्यदलका सबै सदस्यहरूले नमानेपछि करिब ८७५ जनाभन्दा धेरैको आवेदन अस्विकृत भयो। गृहमन्त्रालयमा थन्किएको प्रतिवेदनमा गिरोहले नै हस्तक्षेप गर्‍यो र आफैले प्रतिवेदनका केही बुँदाहरू आफूअनुकुल सच्याउन थाल्यो।

त्यही सच्याइएका बुँदाका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले अस्विकृत भएका ८७५ जना नेपालीसँग करोडौं पैसा उठाएको थियो। उनीहरूसँग बार्गेनिङ गर्ने र राजनीतिक दलका नेताहरूसँग ‘सेटिङ’ गर्ने सबैभन्दा धेरै सक्रिय रहेका गिरोहका एकजना नाइके सानु भण्डारीले ती ‘नक्कली शरणार्थी’ बन्न चाहनेहरूलाई कहिले विराटनगर त कहिले चितवनमा जम्मा पारेर पैसा असुल्ने गरेका थिए।

प्रहरीमा उजुरी दिएका केही ‘पीडित’हरूका अनुसार भण्डारीले उनीहरूले आफूहरू ‘गृहमन्त्रीका गोप्य टिम’का मान्छे भनेर विश्वास दिएका थिए र पैसा असुलेका थिए। प्रहरीमा निवेदन दिएका करिब १०० भन्दा धेरै पीडितहरूका अनुसार एकैजनासँग करिब ५० लाखसम्म असुलेका थिए। तीमध्ये केहीले आधा र केहीले त्यो भन्दा पनि कम रकम दिएका छन्। तर एक पटकमा १० लाखभन्दा कम रकम लिन गिरोहले मान्दैनथ्यो।

केही महिनाअघि एउटा समूह आफूहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं ठगिएको गुनासो लिएर पुगेको थियो। प्रहरीको काठमाडौं जिल्ला अपराध अनुसन्धान कार्यालयमा पुगेको थियो। उनीहरूका कुरा सुनेपछि प्रहरीले उजुरी दर्ता गर्न भन्यो।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा त्यो गिरोहमा बहालवाला र पूर्व उच्चस्तरका व्यक्तिहरूको ‘कनेक्सन’ देखिएको थियो। केही अनुसन्धानपछि त्यो फाइल प्रहरी परिसर टेकु पुग्यो र त्यहाँ पनि थप उजुरीहरू आउन थाले।

प्रहरीले यो अनुसन्धान अघि बढाएपछि ठूला राजनीतिक दलका नेता तथा उनीहरूका सहयोगी पनि तानिएका थिए। अनुसन्धानका क्रममा पीडितहरूले भनेका आधारमा गिरोहका केही सदस्यहरू पक्राउ परेका थिए। उनीहरूले अरू मानिसहरू पनि यसमा जोडिएको भनेर नाम लिए।

प्रहरी अनुसन्धानले त्यो कामका लागि गृहमन्त्रीका तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, उनका छोरा, बादलका छोरा प्रतिक, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायतले सहयोग गरेका थिए। बादलका छोराबाहेक उनीहरू राई, उनका छोरा अनि तत्कालीन गृहसचिव पाण्डेलगायत नौ गिरोहका नौ जना यसअघि नै पक्राउ परिसकेका छन्।

राई मोरङकै हुन्। उनको गिरोहमा सबैभन्दा सक्रिय र पैसाको लेनदेन गर्ने नाइके केशव दुलाल, सानु भन्डारी, टेक गुरुङ र सागर थुलुङ राई पनि झापा अनि मोरङतिरकै हुन्। त्यही गिरोहका सन्देश शर्मा पोखरेल पनि पक्राउ गरिसकेका छन्।

रायमाझी मुख्य जोजनाकार !

ठगी धन्दामा माहिर सानु भण्डारी नेता टोपबहादुर रायमाझीका भाञ्जा हुन्। रायमाझीका छोरा सन्दीप, रामबहादुर थापा बादलका छोरा प्रतीक, कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व निजी सचिव केशव दुलालहरू यस्ता ठगी धन्दालाई ‘राजनीतिक सेटलमेन्ट’ गर्ने एउटा अदृश्य समूह हो।

भुटानी शरणार्थीबारे यो समूहलाई आइडिया दिने पनि रायमाझी नै हुन्। उनैले सबै आइडियाहरू लगाएपछि गृहमन्त्री खाणसँग पनि उठबस हुनथाल्यो। प्रहरीका अनुसार गृहमन्त्रालयमा रहेको त्यो प्रतिवेदनका अनुसूचीहरू सच्याउने अवधिमा नेता रायमाझी र खाणबीच धेरैपटक भेटघाट भएको पाइएको छ।

पक्राउ परिसकेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र नेता रायमाझी एउटै क्षेत्रका वासिन्दा हुन्। पाण्डे सचिव हुँदा गृहमन्त्री रामबहादुर थापा बादल थिए। त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय गएका पाण्डेलाई बादलपछि गृहमन्त्री भएका खाण आफैले रोजेर फेरि गृहमन्त्रालयमै तानेका थिए। त्यसपछि फेरि उनी उपराष्ट्रपतिको कार्यालय छिरेका थिए। अहिले उनीहरू त्यहीँ हुँदा पक्राउ परेका हुन्।

र, त्यसमा जोडिए अर्का ‘खेलाडी’ सन्देश शर्मा उनी दाङका हुन्। अनि यो समूहमा सबैभन्दा धेरै ‘अमेरिका जाने मान्छे’ बटुल्ने पनि यिनै सन्देश शर्मा हुन्। प्रहरीका अनुसार यो गिरोहले ठगेका मध्य ६० जना त दाङका मात्रै छन्। भारतमा लुकेर बसेका सन्देश शर्मालाई प्रहरीले आफन्तको सहयोगमा झिकाएर नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार थप सूचना चुहिने डरका कारण गिरोहले शर्मालाई भारतमै लुकेर बस्न भन्दै वार्गेनिङ पनि गरेको थियो।

प्रहरीले सुरुमै नेता रायमाझी र उनका छोरा सन्दीपको नाममा पक्राउ पूर्जी लिइसकेको छ। छोरा सन्दीप पक्राउ परे पनि नेता रायमाझी भने अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन्। यसअघि नै प्रहरीले सन्दीपको नाममा गिरोहले काटेको डेढ करोडको चेक पनि बरामद गरेको थियो।

नेता रायमाझीलाई नेकपा एमालेले पार्टीका सबै पदहरूबाट निलम्बन गरेको छ। उनी नेकपा एमालेका सचिव पनि हुन्। भूमिगत भएर माओवादी युद्धमै होमिएका रायमाझी र बादल यसअघि नेकपा विभाजन हुँदा एमालेमै रहेका थिए।

खाण र रायमाझी दुवै बारम्बार सत्ता र शक्तिमा रहेका नेताका रूपमा परिचित छन्।

खाण र रायमाझी दुवैजना पटक पटक सत्तामा पुगेका नेता हुन्। खाण कांग्रेस सभापति शेरबहादुर देउवाका एकदमै नजिकका विश्वासपात्र हुन्।

तत्कालीन केपी ओलीको सरकार ढलेपछि २०७८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा खाणलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए। लुम्बिनी प्रदेशको रुपन्देहीबाट पटक पटक चुनाव जित्दै आएका खाणले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने जित्न सकेनन्। बरू उनले आफ्नी श्रीमती मञ्जु खाणलाई समानुपातिक सूचीमा राखेर सांसद बनाए।

बहुदल आउनुभन्दा अघि नेपाल विद्यार्थी संघका अध्यक्ष पनि भएका खाड पटक पटक, रक्षा, गृह तथा सिचाइजस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्ने जिम्मेवारी लिइसकेका नेता हुन्।

गत मंसिरको चुनावमा करिब ४२,६७५ हजार मत ल्याएर नेकपा एमालेका तर्फबाट बिजयी भएका नेता रायमाझीले पनि पटक पटक उपप्रधानमन्त्री, भौतिक, स्थानीय विकास, शान्ति तथा पुनर्निर्माण एंव ऊर्जा मन्त्रालयलगायतको जिम्मेवारी सम्हालिसकेका छन्।