२० सेकेन्डमा सकिएका ७२ जीवन

२० सेकेन्डमा सकिएका ७२ जीवन तस्वीर : सुदर्शन रञ्जित

लगभग २० सेकेन्डमै यती एयरलाइन्सको ‘एटिआर-७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्थ्यो। तर त्यो सेतीको खोंचमा खसेर खरानी भयो। केही शबहरू जोगिए। जल्दाजल्दै निकालिए।

कैयौं परिवार नै सकिए। केही विदेशी र नेपाली गरी ७२ जना त्यो जहाजसँगै जले।

आइतबार बिहान चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एउटा जहाज विमानस्थल नजिकै सेतीमा खस्यों। साघुरो सेतीको खोंचमा ठोक्किएर त्यो जहाज केहीबेरमै खरानी भयो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।

यतीको यही विमानले पोखरा अन्तर्रराष्ट्रिय विमानस्थलमा ‘परीक्षण उडान’ गरेको थियो। दुर्घटना भएको यही विमान हो जसले त्यहाँ पहिलो परीक्षण उडान गरेको थियो। र त्यो विमान उडाउने उनै चालक कमल केसी हुन् जो यही जहाज दुर्घटनामा परे।

यतीका यस्ता ७२ सिटे ५ जहाज थिए। अब उसँग ४ वटामात्रै यस्ता जहाज बाँकी छन्। साना जहाज भने ‘तारा’ एयरलाइन्सको नाममा सञ्चालित छन्।

 

विमान लगभग २ किलोमिटरमात्रै टाढा थियो विमानस्थलभन्दा। तर, पुरानो विमानस्थलको पछाडितिर विमान खस्यो। यो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलकै रुट हो। यो विमानस्थल हालैमात्र सञ्चालनमा आएको हो।

विमानस्थलका एकजना अधिकारीका अनुसार अवतरणको लागि सम्पर्क गरेका चालक दललाई विमानस्थलले ‘मुसम खराब’ भएको जानकारी गराएको थियो। नियमित रूटअनुसार त्यो विमान पश्चिमतिरबाट अवतरण हुनुपर्ने थियो। तर विमानस्थलले त्यतातिर सम्भव नभएको र पूर्वतिरबाट अवतरण गर्न भनेको थियो।

त्यसलगत्तै विमान ‘सम्पर्क बिहीन’ भयो। स्थानीयका अनुसार विमानस्थलसँग सम्पर्क गर्न नसकेको त्यो विमान पोखरा बसपार्कमाथि लड्खडाइरहेको थियो र एउटा भागमा आगो लागिरहेको थियो। त्यसपछि स्थानीयले त्यो विमान एकैपटक खसेको देखे।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र ५ जना भारतीय नागरिक थिए। विमानमा सवार ७२ जनामा ७ पुरुष र २५ महिला थिए। तिमध्ये तीन बालक र तीन शिशु थिए।

यात्रु को कहाँ को?

नेपाली: ५३ यात्रु

भारतीय: ५ जना

रुसी: ४ जना

कोरियाली: २ जना

आइरिश: १ जना

अस्ट्रेलियन: १ जना

आर्जेन्टिनी: १ जना

फ्रान्सेली: १ जना

यो दुर्घटनापछि सरकारले सोमबार शोक विदा दिएको छ। ‘असुरक्षित’ देखिएपछि प्रचण्ड पोखरा गएनन्। उनले यो दुर्घटनाबारे छानबिन गर्न समिति पनि बनाउने भनेका छन्।

सरकारले जाँचबुझ आयोग पनि बनाइसकेको छ। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको समितिमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । यो समितिले ४५ दिनमा सरकारलाई अध्ययन प्रतिवेदन बुझाउनेछ।

पोखरा जान ठिक्क भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘सुरक्षा’ कारण देखाउँदै गएनन्। यती एयरलाइन्सको जहाज दुर्घटनास्थल पोखरा जानका लागि बालुवाटारमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो।

उनका स्वकीय सचिव रमेश मल्लका अनुसार सबै सुरक्षा प्रमुखहरू उद्धारमा खटिएका कारण सुरक्षा अभाव देखिएकाले प्रचण्ड पोखरा नगएका हुन्।

‘सबै सुरक्षा निकाय उद्धारमा खटिनुभएको छ। त्यहाँ जाँदा सुरक्षा अभाव हुने भएका कारण नजानुभएको हो’ मल्लले भने।

आइतबार बिहान चालक दलका सदस्यहसित ७२ जना यात्रु लिएर यती एयरलाइन्सको जहाज विमानस्थल नजिकै खसेको थियो।

वस्ती जोगियो, अझ धेरै मानवीय क्षती भएन : प्रत्यक्षदर्शी, सुदर्शन रञ्जित

हामी घटनास्थलमा पुग्दा जहाल जलिरहेको थियो। त्यहाँ स्थानीयको भीड लागिसकेको थियो। माघे संक्रान्ति भएका कारण नजिकै मेला पनि लागिरहेको थियो। त्यसैले पनि मान्छेहरू धेरै जम्मा भइसकेका थिए।

हामी पुग्दा २ जना यात्रु सास चलिरहेको अवस्थामा निकालिएका थिए। उहाँहरूलाई एम्बुलेन्समा हालियो। मैले घटनास्थलका केही फोटोहरू खिँचे। अनि उद्धारमा पनि लागें। के गर्ने कसो गर्ने केही भेउ पाइरहेका थिएनौं। हामी साथीहरु मिलेर पुगेका थियौं।

खासमा उद्धारटोली आधा घण्टाजति ढिला भएको थियो। त्यो बेलासम्म जहाज जलिसकेको थियो र त्यहाँबाट निकाल्न नसकिएकाहरू पनि जलिसकेका थिए होलान्।

जहाज जहाँ खसेको हो त्यहाँ वरिपरि बाक्लो वस्ती छ। बीचको खोंचमा जहाज खसेको भएर वस्ती जोगिएकोजस्तो लाग्छ।

खासमा त्यहाँको घरनजिकै रहेको बाँसघारी पनि जहाजमा लतारिएको छ। त्यसैले घटनास्थलमा धेरै घनावस्ती भएको ठाउँ हो भन्ने स्पष्ट हुन्छ। खोंचमा जहाज ठोक्कियो। घरहरूमा ठोक्किएको भए सायद अझ धेरै मानवीय क्षती हुनसक्थ्यो।

खासमा पोखरा विमानस्थलमा अवतरण हुनका लागि केही समयमात्रै बाँकी थियो। अन्तर्राष्ट्रिय विमानस्थलकै रुट थियो। त्यहाँ अवतरणको तयारी गरिरहेका बेला जहाज खसेको रहेछ।

दमकल आउनै आधा घण्टा लाग्यो, हामीले ग्यालिनबाट पानी हालिरह्यौं : प्रत्यक्षदर्शी, अरूण तमु

जहाज खसिसकेको थियो। हामी त्यसपछि जहाज खसको लगभग १ मिनेटमै पुगेका थियौं। खसेको जहाजमा आगो लागेर धुँवाको मुस्लो आइरहेको थियो। हामीले आगो निभाउने र मान्छेहरू निकाल्ने प्रयास थाल्यौं।

दमकल, एम्लुलेन्सहरू केही आइसेका थिएनन्। आगो दन्किरहेको थियो। हामीले केही उपाय नलागेर ग्यालिनबाट पानी ल्याएर हाल्न थाल्यौं। तर त्यसले आगो निभ्ने चान्स नै थिएन। तर दमकल आएकै थिएनन्। त्यसैले ग्यालिनबाट पानी हालिरह्यौं।

हामीले सुरुमा २०-२२ जनालाई त्यो आगोबाट निकाल्यौं। तीमध्ये २ जना जीवित हुनुहुनु्थ्यो। ती महिलाहरू हुनुहुन्थ्यो। हातखुट्टा त भाँचिएका जस्ता थिए तर हल्का सास चलिरहेको थियो। हामीले उहाँहरुलाई भर्खरै आएको एम्मुलेन्समा हालेर पठायौं।

खासमा जहाज सेतीको एउटा भागमा ठोक्किएको थियो। जहाजको एउटा भाग त्यहीँ ठाउँमा जलिरहेको थियो। अर्को भाग सेतीको अर्को किनारामा थियो। दुबै ठाउँमा आगो दन्किरहेको थियो।

आखैँअघि जहाज खस्यो र एकाएक धुँवाको मुस्लो देखियो : प्रत्यक्षदर्शी, वसन्त थकाली

हामीले ग्यालिनबाट पानी हालिरहेका थियौं। प्रहरी प्रशासनलाई पनि फोन गरिरहेका थियौं। रामबजारमा रहेको प्रहरी घटनस्थलबाट सबैभन्दा नजिक थियो। तर त्यहाँको फोन धेरैबेरसम्म बिजीमात्रै आइरह्यो। जहाज खसेको ठाउँमा पुग्न बाटोहरू अलि सजिला छैनन्। त्यही कारण पनि उद्दार टोली समयमा नपुगेको हुनसक्छ।

हामीले त्यहाँ उद्दार गरिरहँदा लगभग आधाघण्टापछि मात्रै प्रहरी अनि सेनाको उद्दार टोली आइपुगे। एम्बुलेन्स अनि दमकलहरू पनि आए। सायद जहाज ठूलो भएर हो कि सेती किनाराको दुबैतिर जहाजका भाग उछिट्टिएका थिए।

हामीले धेरैलाई निकालिरहेका थियौं। सायद दकमल अनि उद्दार टोली चाँडै आएको भए उद्दारमा अलि सजिलो हुने थियो। को जिउँदा वा को मृत्यु भइसकेको हामीले हेक्का राखेनौं। कम्तीमा आफन्तले लाश चिन्नसक्ने थिए कि, समयमै उद्दार भएको भन्ने लागिरह्यो हामीलाई।

आफ्नै आँखाअघि यस्तो दुर्घटना भयो। के गर्ने कसो गर्ने भन्ने केही हेक्का भएन। हामी उद्दारमा लागिहाल्यौं।

जहाज ठोक्किएको बाँस घाडी