विमान दुर्घटना : रुपावासीले आफ्नो गौरव सम्झन्छन् पाइलट केसीलाई

विमान दुर्घटना : रुपावासीले आफ्नो गौरव सम्झन्छन् पाइलट केसीलाई

गण्डकी। पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ।

केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन्। केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो।

कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गरेका उनका गुरु अग्रज पत्रकारसमेत रहेका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताए। कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गरेको प्रतीकले बताए। उनले भने, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे। सानैदेखि मेहनती र अनुशासित थिए। आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ।”

पाइलट बनेपछि समेत केसीसँग पटक पटक भेटघाट हुने गरेको प्रतीकले सुनाए। “भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे। सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ। उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ।”

उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित थिए। पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन्।

केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बनेका गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए। “उनकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बनेका छन”, उनले भने, “केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो।” रासस