‘वस्ती जोगियो, अझ धेरै मानवीय क्षती भएन’

‘वस्ती जोगियो, अझ धेरै मानवीय क्षती भएन’ तस्वीर : सुदर्शन रञ्जित

हामी घटनास्थलमा पुग्दा जहाल जलिरहेको थियो। त्यहाँ स्थानीयको भीड लागिसकेको थियो। माघे संक्रान्ति भएका कारण नजिकै मेला पनि लागिरहेको थियो। त्यसैले पनि मान्छेहरू धेरै जम्मा भइसकेका थिए।

हामी पुग्दा २ जना यात्रु सास चलिरहेको अवस्थामा निकालिएका थिए। उहाँहरूलाई एम्बुलेन्समा हालियो। मैले घटनास्थलका केही फोटोहरू खिँचे। अनि उद्धारमा पनि लागें। के गर्ने कसो गर्ने केही भेउ पाइरहेका थिएनौं। हामी साथीहरु मिलेर पुगेका थियौं।

खासमा उद्धारटोली आधा घण्टाजति ढिला भएको थियो। त्यो बेलासम्म जहाज जलिसकेको थियो र त्यहाँबाट निकाल्न नसकिएकाहरू पनि जलिसकेका थिए होलान्।

जहाज जहाँ खसेको हो त्यहाँ वरिपरि बाक्लो वस्ती छ। बीचको खोंचमा जहाज खसेको भएर वस्ती जोगिएकोजस्तो लाग्छ।

खासमा त्यहाँको घरनजिकै रहेको बाँसघारी पनि जहाजमा लतारिएको छ। त्यसैले घटनास्थलमा धेरै घनावस्ती भएको ठाउँ हो भन्ने स्पष्ट हुन्छ। खोंचमा जहाज ठोक्कियो। घरहरूमा ठोक्किएको भए सायद अझ धेरै मानवीय क्षती हुनसक्थ्यो।

खासमा पोखरा विमानस्थलमा अवतरण हुनका लागि केही समयमात्रै बाँकी थियो। अन्तर्राष्ट्रिय विमानस्थलकै रुट थियो। त्यहाँ अवतरणको तयारी गरिरहेका बेला जहाज खसेको रहेछ।

सबै तस्बिरहरू सुदर्शन रञ्जितले खिचेका हुन्।

(प्रत्यक्षदर्शी   सुदर्शन रञ्जितसँग कुराकानीका आधारमा। उनी पोखराका समाजसेवी र फोटोग्राफर हुन्। काठमाडौंबाट उडेको यती एयरलाइन्नसको जहाज आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणको तयारी गर्दागर्दै सेती खोंचमा खसेको थियो। यसमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।)