अब दक्ष जनशक्तिमात्रै विदेश पठाउनुपर्छ : राजदूत वाग्ले

अब दक्ष जनशक्तिमात्रै विदेश पठाउनुपर्छ : राजदूत वाग्ले तीर्थराज वाग्ले बहराइनका लागि नेपाली राजदूत

खाडी मुलुक बहराइनमा अहिले झण्डै २० हजार नेपालीले रोजगारी गर्दै आएका छन्। कोभिड महामारी अघि यो संख्या अझ ठूलो थियो। महामारीले बहराइनको श्रमबजार पनि अस्तव्यस्त बनायो। वर्षौंदेखि काम गर्दै आएका कतिपय नेपालीले रोजगारीबाट हातै धुनु पर्‍याे।

मान्मास्थित नेपाली दूतावासका अनुसार बहराइनका विभिन्न क्षेत्रमा नेपालीले रोजगारी गरिरहेका छन्। यहाँ धेरेजसोले सामान्य काम गर्छन्। यस्तै, केही मध्यमस्तरको काम गर्ने श्रमिक छन्। केही भने उच्चपदमा काम गर्ने नेपाली पनि छन्।

बहराइनमा विशेषगरी निर्माण, हस्पिटालीटी, सुरक्षालगायतका क्षेत्रमा नेपाली कार्यरत छन्। कोभिडपछि बहराइनको श्रम बजार अझै पनि तंग्रिसकेको छैन। ठूला परियोजनाहरु सञ्चालन भएका छैनन्। चलिरहेका कम्पनीहरु पनि खुम्चिरहेको अवस्था छ। अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन सकेको छैन।

बहराइनले पछिल्लो समय राम्रो र आकर्षक तलब हुने रोजगारीमा स्थानीय नागरिकलाई प्राथामिकता दिने नीति लिएको छ। जसको प्रत्यक्ष असर नेपालीलाई पनि परेको छ। बहराइन सरकारको यो नीतिले धेरै नेपालीको रोजगारी गुमेको छ।

बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले अहिले बहराइनको श्रम बजारमा दक्ष श्रमिकहरुको माग भइरहेको बताउँछन्। यसमा पहिलो प्रथामिकता स्थानीय नागरिकलाई नै दिइन्छ।

स्थानीयसँग प्रतिष्पर्धा गर्नका लागि नेपालले पनि दक्ष जनशक्ति उत्पादन गरेर मात्र विदेश पठाउनुपर्ने नीति लिनुपर्ने राजदूत वाग्लेको जोड छ।

स्वदेशमा सीप सिकाएर श्रमिकलाई पठाउन सकेमात्र देशले त्यसको लाभ लिनसक्ने उनको बुझाइ छ। विदेश उड्नुअघि दिइने अभिमुखिकरण तालिम प्रभावकारी नहुँदा जोखिम बढिरहेको उनको तर्क छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नेपालदेखि नै सरकारवाला निकायहरुले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता रहेको वाग्ले बताउँछन्।

राजदूत भएर ५ महिनाअघि मात्र कार्यभार सम्हालेका वाग्लेसँग बहराइन भम्रणकाबेला प्रवास खबरका बिनेश खनालले कुरा गरेका छन्। संवादका क्रममा उनले नेपाल र नेपालीप्रति बहराइनमा एकदमै माया र सदभाव रहेको आफूले पाएको बताए।

बहराइनमा नेपालको पर्यटन प्रवद्र्धन, नेपाली खेलकुद क्षेत्रमा विकास र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने योजना उनको छ।

बहराइनसँग नेपालको सिधा हवाइ उडान छैन। त्यसका लागि प्रयास भइरहेपनि हवाइ कम्पनीहरुले प्रर्याप्त यात्रु नहुने भएकाले उडान भर्न चाहेका छैनन्।

दुई देशबीच सिधा हवाइ उडान हुनसके नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ। हवाइ उडान भएमा नेपाल र बहराइनबीच व्यापार समेत बढ्ने सम्भावना देखेका उनले यसका लागि पहल पनि गरिरहेका छन्।

प्रस्तुत छ राजदूत वाग्लेसँग गरिएको भिडियो संवाद