उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर

काठमाडौं। लियोनल मेसीले पहिलो पटक जित्छन् ? या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् ? यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ।

कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ। नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ। अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रोपटक च्याम्पियन हुने दाउमा छन्।

३५ वर्षीय मेसी सातपटक बालोन डि ओर उपाधि जितेका छन्। व्यावसायिक फुटबलमा सबै उपलब्धि हासिल गरेका मेसीले विश्व च्याम्पियन हुन सकेका छैनन्।

सन् २०१४ मा अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने योजनामा थियो। तर, फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो। सन् १९७८ र सन् १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिना ३६ वर्षयता पहिलोपटक उपाधि जित्ने अभियानमा छ।

फ्रान्स तेस्रोपटक उपाधि जित्ने योजनामा छ। टोलीका प्रशिक्षक डिडियर डेस्चाम्प्सले सन् १९९८ मा टोलीलाई च्याम्पियन बनाएका थिए। सन् २०१८ मा फ्रान्स डेस्चाम्प्सकै प्रशिक्षणमा दोस्रो पटक विजेता भयो। २३ वर्षीय एम्बाप्पेको उच्च प्रदर्शनसँगै फ्रान्स तेस्रोपटक उपाधि हात पार्ने दाउमा छ।