विश्व कपमा अस्ट्रेलियासँग ट्युनिसिया पराजित

विश्व कपमा अस्ट्रेलियासँग ट्युनिसिया पराजित

काठमाडौं। विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ।

कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो। अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो।

यससँगै  समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ। २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ। अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो। यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो।

समूह ‘डी’ कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ। यस्तै आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन्।

आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दैछन्। अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।