विश्वभरका भू–वैज्ञानिक पोखरामा भेला हुँदै

विश्वभरका भू–वैज्ञानिक पोखरामा भेला हुँदै

काठमाडौं। विश्वभरका भू–वैज्ञानिकहरुको सम्मेलन नेपालमा हुने भएको छ। नेपाल भौगर्भिक समाजको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन पोखरामा हुने भएको हो।

२– नोभेम्बरमा ‘३५ औं हिमालय–काराकोरम–तिब्बत वर्कसप’ हुन लागेको हो।

प्रवक्ता इन्द्र लम्सालका अनुसार नेपालसहित विश्वभरबाट २६० भू–वैज्ञानिक र अनुसन्धानकर्ताले अध्ययन–अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दैछन्।

सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीको प्रमुख अतिथि रहनेछन्।

लम्सालका सन् १९८५ मा बेलायतको लेसेस्टर विश्वविद्यालयमा हिमालय क्षेत्रका वैज्ञानिकले पहिलोपटक हिमालयन कार्यशाला गोष्ठी भएका थिए। दोश्रो, तेश्रो र चौथो सम्मेलनहरु क्रमशः फ्रान्स, बेलायत र इटालीमा गरिएको थियो।

भू–वैज्ञानिकहरुका अनुसार हिमालय र तिब्बती क्षेत्रको सकृय धरातलीय अवस्था र यसबाट उत्पन्न हुने प्राकृतिक प्रकोप यसका विविध आयामहरुको अध्ययनमा विगतका वर्षहरुमा भएको वृद्धिले यो सम्मेलनको वार्षिक बैठकको आवश्यकतालाई समेत समर्थन गरेको छ।

सम्मेलनले हिमालय क्षेत्रमा बसोबास गर्ने समुदायमा यस्ता अनुसन्धानको प्रचारप्रसार हुने र यस क्षेत्रमा हुने भौगर्भिक प्रक्रियाको सहि बुझाइले दिगो विकासमा समेत टेवा पुग्ने भौगर्भिक समाजका अध्यक्ष डा. अनन्तप्रसाद गजुरेलको विश्वास छ।

नेपाल भौगर्भिक समाजले सन् २०१२ मा २७ औं हिमालय–कारकोरम तिब्बत कार्यशाला गरेको थियो।

यसअघिका ३३ र ३४ औं सम्मेलन क्रमश : स्विजरल्याण्ड र अमेरिकामा सम्पन्न भएका थिए।

सन् २०२१ मा नेपालमा आयोजना गर्ने भनिएको ३५ औं सम्मेलन कोभिडका कारण दुई पटक सारिएको थियो।

सम्मलेनको तयारी अन्तिम चरणमा पुगेकोले आफूहरु उत्साहित रहेको सम्मेलनका संयोजक डा. कविराज पौड्यालले बताए।

‘जनताको समृद्धि र दिगो विकासका लागि भू–विज्ञान’ नारा राखिएको उक्त सम्मेलनले भू–विज्ञान र इन्जिनियरिङ क्षेत्रका विशेषज्ञहरु, वैज्ञानिकहरु, प्राध्यापक, अनुसन्धानकर्ता, शिक्षाविद, नीति निर्माता, विद्यार्थी र पेशागत समुदायका व्यक्तित्वहरुबीच नवीनतम् ज्ञान, विज्ञान र प्रविधिका मौलिकताबारे विचारहरु आदानप्रदान हुने लक्ष्य राखिएको छ।

सम्मेलनबाट प्राकृतिक श्रोत परिचालन सम्बन्धि तथ्य तथा प्राकृतिक प्रकोप, जलवायु परिवर्तनबाट उत्पन्न असर न्यूनीकरणमा भइरहेका विश्वव्यापी प्रयास, अनुसन्धान, प्रविधिको प्रयोग तथा उपलब्धिका बारेमा ज्ञान आदानप्रदान हुने विश्वास गरिएको छ।

सम्मेलनले नेपालको विज्ञान प्रविधिको क्षेत्रमा विकास हुनुका साथै नेपालको समग्र पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

सम्मेलनको अवसर पारेर दुई ओटा फिल्ड अध्ययन भ्रमण पनि तय गरिएको छ। अध्ययन भ्रमणमा सम्मेलनपूर्व काठमाडौं–पोखरा क्षेत्रमा भएका भौगर्भिक महत्वका स्थानको अध्ययन अवलोकन गरिनेछ।

यस्तै सम्मेलनपश्चात् पोखरा–मुक्तिनाथ क्षेत्रका उच्च हिमालय क्षेत्रमा अर्को अध्ययन भ्रमण राखिएको छ । दुवै अध्ययन भ्रमणमा विदेशी अनुसन्धानकर्ताको सहभागिता हुनेछ भने नेतृत्व नेपाली प्राध्यापक तथा अनुसन्धानकर्ताले गर्नेछन्।

झण्डै ५० लाख खर्च हुने सम्मेलनमा विभिन्न सरकारी, गैरसरकारी तथा निजि क्षेत्रबाट आर्थिक सहयोगको अपेक्षा गरिएको समाजका कोषाध्यक्ष आशिष केसीले बताए।