रूसले गर्यो किएभमा मिसाइल आक्रमण

रूसले गर्यो किएभमा मिसाइल आक्रमण File Photo

काठमाडौं। युक्रेनसँग जारी युद्धमा रूसले किएभमा मिसाइल आक्रमण गरेको छ। मिसाइल आक्रमणमा परी युक्रेनको राजधानी किएभमा कैयौं मानिसको मृत्यु हुनुका साथै घाइते भएका छन्।

युक्रेनका आन्तरिक मामिलामन्त्रीका एक जना सहयोगीले बताएअनुसार क्षेप्यास्त्र हमलाका कारण ८ जना मानिसको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्।

युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समयअनुसार बिहान ८ बजेलगत्तै कम्तीमा दुईवटा विस्फोटनको आवाज सुनिएको थियो।

कैयौं महिनाको अन्तरालमा किएभमा यस्तो आक्रमण भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार युक्रेनका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आएका छन्।

ती विस्फोटनहरू युक्रेन युद्धको सुरूमा भएका रूसी हवाइ आक्रमणभन्दा निकै धेरै केन्द्र भागमा सुोझिएको देखिन्छन्।

यी हमलाहरू रूसअधिनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो।

सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोहरूमा किएभको कैयौं भागहरूबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ।

सोमबार बिहान युक्रेनभर भएका हवाई हमलाहरूले रूसले ‘संसारबाट हाम्रो नामनिसान मेटाउन चाहेको’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।