नेपाली नर्सलाई बेलायत पठाउने नाममा ठगी बढेपछि सरकारको चासो

नेपाली नर्सलाई बेलायत पठाउने नाममा ठगी बढेपछि सरकारको चासो

काठमाडौं। सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससँग विभिन्न बहानामा पैसा असुलेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

विभिन्न व्यक्ति तथा संस्थाहरुले सरकारका सम्बन्धित अधिकारीहरुसँग समन्वय गराइदिने आश्वासन देखाएर ठगी गरेको भन्ने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समाचार प्रकासित भएपछि मन्त्रालयले यसबारे चासो देखाएको हो।

‘यस प्रकारका कार्यले नेपाल सरकारबाट लिइएको सुरक्षित र व्यवस्थित आप्रवासन नीति कार्यान्वयनमा जटिलता आउने हुनाले संलग्न व्यक्ति तथा संस्थाहरुबाट यस प्रकारका गैरकानूनी कार्य नगर्न नगराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा  उल्लेख छ।

बेलायले नेपाली स्वास्थ्यकर्मीलाई स्वास्थ्य क्षेत्रमा रोजगारी दिने नेपाल सरकारसँग सम्झौता गरिसकेको छ। सोही सम्झौता अनुरुप नै दक्ष नर्सलाई प्रथामिकता दिइने बेलायतको तयारी छ।

बेलायतको स्वास्थ्य क्षेत्रमा जाने नेपाली नर्सहरुको लागत शून्य रहने मन्त्रालयले बताएकाे छ।

नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न समझदारी प्रतिकूल हुने कुनै पनि क्रियाकलापप्रति मन्त्रालयले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र यस कार्यमा संलग्नलाई वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिइएको छ।

त्यस्तै, मन्त्रालयले बेलायत सरकारका सम्बद्ध अधिकारीहरुसँग निरन्तर वार्ता गरी कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने तयारी भइरहेको जानकारी गराएको छ।

उक्त ढाँचा स्वीकृत भएपछि नेपाली नर्सहरुलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले अगाडि बढ्ने मन्त्रालयले प्रष्टाएको हो।

बेलायतको प्रथामिकतामा नेपाली दक्ष नर्स