नयाँ सिइओ नियुक्तिले एनआरएनएमा तरंग

नयाँ सिइओ नियुक्तिले एनआरएनएमा तरंग नवनियुक्त सिइओ अधिकारीलाई शुक्रबार सचिवालयमा स्वागत गर्दै कार्यकारी अध्यक्ष कुल आचार्य र महासचिव गौरीराज जोशी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटरस्थित सचिवालयमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) को शुक्रबार आगमन भयो। नवनियुक्त सिइओ रविकिरण अधिकारीले आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्। अधिकारी खुल्ला प्रतिस्पर्धामार्फत् छनोट भएर सिइओ नियुक्त भएका हुन्।

महासचिव गौरीराज जोशीका अनुसार छनोट समितिको सिफारिसका आधारमा अधिकारीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।

संघमा गत १ बैशाखदेखि सिइओ पद रिक्त थियो। यसअघिका सिइओ राजेश राणाले उमेरहद नाघेपछि अवकास लिएका थिए।

कसरी गरिएको थियो छनोट ?

संघले गत ८ जुनमा सिइओ नियुक्तिका लागि खुल्ला दरखास्तको आह्वान गरेको थियो। १४ जुनसम्म तय गरिएको दरखास्त दिने म्यादसम्म कूल ४० आकांक्षीको आवेदन परेको थियो।

प्रारम्भिक अन्तर्वार्ताबाट ५ जना उम्मेदवार अन्तिम चरणका लागि छनोट भएका थिए।

छनोटका लागि गत शनिबार अन्तिम अन्तर्वार्ता भएको थियो। अधिकारीसहित, राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय (अनिल), र बन्दना शर्माले फाइनल अन्तर्वार्ता दिएका थिए। छनोटमा परेका अर्का एक जना भने सहभागी भएनन्।

छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा. बद्री केसी, महासचिवहरू डा.केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ थिए।

यस्तै विज्ञ तथा स्वतन्त्रका रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो।

समितिमा ९ जना भए पनि मुल्यांकन गर्ने अधिकार भने स्वतन्त्र हैसियतले बाहिरबाट राखिएका उदास, खतिवडा र भट्टराईलाई दिइएको थियो। यी तीनले दिएको नम्बरका आधारमा अधिकारीलाई सिइओको जिम्मेवारी दिइएको महासचिव जोशीले प्रवास खबरलाई बताए।

२३२ अंकसहित पहिलो नम्बरमा अधिकारी

फाइनल अन्तर्वार्तामा विभिन्न ‘क्राइट एरिया’ राखिएको थियो। जसमा ३०० पूर्णाङ्क थियो।

यही ‘क्राइट एरिया’ मा रहेर छनोट समितिका तीन सदस्यले नम्बर दिएका थिए। समितिले पहिलो नम्बरमा अधिकारी र दोस्रोमा राउतको नाम सिफारिस गरेको थियो।

जसमा अधिकारीले २३२ अंक प्राप्त गर्न सफल भए भने राउतले २२५ अंक प्राप्त गर्दै दोस्रो बने। यही अंकको आधारमा अधिकारी सिइओ बनेका हुन्।

नियुक्ति प्रक्रिया निष्पक्ष र पारदर्शी तरिकाले भएकोले शंका गर्नुपर्ने ठाउँ नरहेको महासचिव जोशीको भनाइ छ।

सेवा–सुविधा वृद्धिमा नियमावली मिचेको भन्दै विवाद

संघभित्र फेरि किचलो सुरु भएको छ। संघ आफैले बनाएको कर्मचारी नियमावली मिचेर नवनियुक्त सिइओको तलब वृद्धि गरिएको भन्दै विरोध सुरु भएको हो।

कार्यकारी अध्यक्ष कुल आचार्यलगायतले नियमावली मिचेर एकलौटी ढंगले सिइओको सुविधा बढाएको आरोप लागेको छ।

एकलौटी ढंगले अतिरिक्त सेवा सुविधा बढाइदिएको आरोप आचार्यमाथि छ।

संघको नियमावलीमा सिइओको तलब १ लाख ४८ हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ। तलबबाहेक यसअघिका सिइओले महङ्गी भत्ता ५ हजार, इन्धन खर्च ५ हजार पाउँथे। यस्तै खाजाभत्ता वापत ३ हजार ७५० रुपैयाँ बुझ्थे।

तर, नयाँ सिइओ अधिकारीको सेवा–सुविधा नियमावलीविपरीत ह्वात्तै बढाइएपछि विरोध भएको हो।

संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइएस)मै रहेका पदाधिकारीले ५ सयप्रतिशतसम्म सेवा–सुविधा बढाइएको भन्दै विरोध जनाएका हुन्। इन्धन भत्ता एकैपटक ५२३ प्रतिशत बढाएर ३१ हजार १७६ बनाइएको छ। यस्तै इन्धन खर्चवापत पहिला दिँदै आएको ५ हजारबाट ५ सयप्रतिशत वृद्धि गरेर ३० हजार पुर्‌याइएको छ।

यसैगरी खाजाभत्तामा १६७ प्रतिशत वृद्धि गर्दै १० हजार रुपैयाँ पुर्‌याइएको छ। यसरी संघले अब सिइओका लागि मात्रै मासिक करिव २ लाख ३२ हजार रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ। यसबाहेक कार्यक्रम, सेमिनार तथा विदाका दिनमा काम गरेवापतको भत्ता छुट्टै दिनुपर्छ।

घटाउनुपर्ने आवाज उठिरहेका बेला उल्टो बढाइयो : उपाध्यक्ष शर्मा

संघका उपाध्यक्ष डा. हेमराज शर्माले सिइओले पाउने सेवा–सुविधामा कटौती गर्नुपर्ने माग उठिरहेका बेला उल्टै ५ सयप्रतिशसम्म वृद्धि गरिएको भन्दै विरोध जनाएका छन्।

‘नवनियुक्त हुनु भएका सिइओको कार्य क्षमतामा मेरो कुनै प्रश्न छैन। स्वतन्त्र छनोट समितिले गरेको निर्णय अनुसार नै अध्यक्ष ज्युले नियुक्ति दिनु भएको हो। उहाँलाई बधाईसहित स्वागत गर्न चाहान्छौं,’ उपाध्यक्ष शर्माले भने, ‘तर, नियुक्ति पत्रमा उल्लेख गरिएको भत्ता भने नियमविपरीत छ। साथीहरुले यसअघिका सिइओले खाइपाइ आएको तलब–भत्ता घटाउनुपर्ने माग गरिहनु भएको थियो। तर, उल्टो पहिलेका सिइओले खाँदै आएको भत्तामा ५ सयप्रतिशतभन्दा बढीले वृद्धी गरिएको छ।’

नियवालीविपरीत जान सक्दैनौं : अध्यक्ष डा. बद्री केसी

यता कार्यकारी अध्यक्ष आचार्यले गरेको निर्णयविरुद्धमा संघका अर्का अध्यक्ष डा. बद्री केसी समेत उत्रिएका छन्।

उनले कुनै पनि काम संगठनात्मक मापदण्डभित्र रहेर गर्नुपर्ने बताए।

‘सिइओको सेवा–सुविधा कर्मचारी नियमावलीविपरीत छ। हामी नियमभन्दा बाहिर जान सक्दैनौं,’ डा. केसीले भने। आर्थिक कारोवारको जानकारी कोषाध्यक्ष मण्डललाई हुनुपर्ने उनको भनाइ छ।

वित्तीय कारोवारका कागजात कोषाध्यक्ष मण्डलबाट स्वीकृति गराएर मात्रै कार्यान्वयन गर्नुपर्ने डा.केसी बताउँछन्। यस विषयमा डा. केसीले आइएसमा इमेलमार्फत विरोध जनाएका छन्।

कर्मचारीको तलब र अन्य सुविधा बढाउनुपर्ने आवश्यकता परेमा आइएसको बैठकबाट मात्रै परिमार्जन गर्नुपर्ने डा. केसीको माग छ। ‘आवश्यक परेमा कर्मचारीको तलब र सुविधा आइएसको बैठकबाट मात्रै परिमार्जन गरिनुपर्छ। यसमा मेरो कडा अडान छ,’ डा. केसीको माग छ, ‘नियम मिचेर गरिएको सम्झौता सच्याउन माग गर्दछु।’

कोषाध्यक्ष मण्डलको प्रश्न– कुन आधारमा बढाइयो?

संघको कोषाध्यक्ष मण्डलले समेत सेवा– सुविधा वृद्धिमा आपत्ति जनाएको छ। कुनै छलफल नै नगरी सेवा–सुविधा बढाइएको भन्दै कोषाध्यक्ष मण्डलले विरोध जनाएको हो।

संघमा अहिले तीन कोषाध्यक्षसहित ११ जनाको आर्थिक विभाग हेर्न टीम छ।

कोषाध्यक्ष लोकप्रसाद दाहाले सेवा–सुविधा किन र कसरी बढाइयो भनेर आफूहरुले सोधपुछ गरेको प्रवास खबरसँग बताए।

‘सबैभन्दा पहिला सेवा सुविधा किन र कसरी बढाइयो भन्ने जानकारी मागेका छौं। कोषाध्यक्ष मण्डलले एउटा इमेल पठाइसकेको छ। यसको जवाफ आएपछि अघि के–कसरी जाने भन्ने विषयमा निर्णय हुन्छ,’ दाहालले भने, ‘नियमबाहिर रहेर कुनै पनि कामका लागि हामिले स्वीकृति दिदैनौं।’

विवाद गर्ने समय होइन : महासचिव जोशी

यसमा महासचिव जोशीको धारणा भने अलि फरक छ। उनले विवाद नबढाउन आग्रह गरेका छन्।

‘यो विवाद गर्ने समय होइन। सिइओ पद रिक्त हुँदा गर्नुपर्ने धेरै काममा बाधा पुगेको छ,’ उनले भने। सबै मिलेर संघलाई नयाँ उचाइमा लैजानु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

यसअघिका सिइओले पनि अहिले तोकिएको भन्दा बढी सेवा–सुविधा लिने गरेको उनको तर्क छ। ‘पहिलाको भन्दा बढी भन्ने मलाई लाग्दैन। विभिन्न वाहानामा पहिला पनि थुप्रै खर्च हुने गरेको थियो।’

साथीहरूले ५ वर्षअघिको नियमावली पढेर निहुँ खोज्दैछन् : कार्यकारी अध्यक्ष आचार्य

शुक्रबार अधिकारीलाई नियुक्ति पत्र थमाएर सपथ खुवाएका कार्यकारी अध्यक्ष आचार्यले भने नियमविपरीत कुनै पनि काम नगरेको दावी गरेका छन्।

प्रवास खबरसँगको कुराकानीमा अध्यक्ष आचार्यले सेवा–सुविधा वृद्धि कर्मचारी नियमवाली अनुसार नै गरिएको बताए।

‘सबै प्रक्रिया पूरा गरेर नियुक्ति दिइएको हो। यसमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन। आइएस, टेक्निकल टिम सबैलाई यसबारेमा जानकारी छ,’ आचार्यले भने, ‘५ वर्ष पहिलाको नियम पढेर केही साथीहरूले निहुँ खोजिरहेका छन्। भम्र छरिरहेका छन्।’

उनले २०७६ मा बनाइएको कर्मचारी नियमावलीमा टेकेर सिइओ नियुक्ति गरिएको बताए। सेवा–सुविधा पहिलाको भन्दा धेरै नबढाइएको उनको भनाइ छ। ‘पहिलाको अनुसार नै छ। यसअघि एक्जुकेटिभ डाइरेक्टर हुनुहुन्थ्यो। अहिले सिइओ हो,’ उनले भने। नयाँ सिइओ नियुक्ति प्रक्रिया निष्पक्ष ढंगले भएको बताउँदै उनले यसले संस्थाको हित हुने बताए।

नियमावलीमा के छ?

संघको कर्मचारीसम्बन्धी नियमावली २०७६ अनुसार भत्ता र आधारभुत तलबको पुनरावलोकन संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले मात्र गर्न सक्ने उल्लेख छ।

कर्मचारी सम्बन्धि नियमावलीको दफा अनुसार ५१ (३) अनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन आइइएसले मात्र गर्ने प्रावधान छ।

कर्मचारीको नियुक्ति, सरुवा वा बढुवा सम्बन्धमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइएस) बाट भएको निर्णयको अनुमोदन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बाट गराउनुपर्ने उल्लेख छ।  यस्तो छ नियमावलीको पूर्णपाठ 

यो पनि पढ्नुहोस्

एनआरएनएमा सिइओ नियुक्ति सकस, नियमावलीविपरित पदपूर्ती समिति

एनआरएनएको सचिवालय प्रमुखमा अधिकारी