एनआरएनएको सचिवालय प्रमुखमा अधिकारी

एनआरएनएको सचिवालय प्रमुखमा अधिकारी नवनियुक्त सिइओ अधिकारीलाई शुक्रबार सचिवालयमा स्वागत गर्दै कार्यकारी अध्यक्ष कुल आचार्य र महासचिव गौरीराज जोशी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रवी किरण अधिकारीले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

महासचिव गौरीराज जोशीका अनुसार छनोट समितिको सिफारिसका आधारमा अधिकारीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।

संघमा गत १ बैशाखदेखि सिइओ पद रिक्त थियो। यसअघिका सिइओ राजेश राणाले उमेरहद नाघेपछि अवकास लिएका थिए।

संघले गत ८ जुनमा सिइओ नियुक्तिका लागि खुल्ला दरखास्तको आह्वान गरेको थियो।१४ जुनसम्म तय गरिएको दरखास्त दिने म्यादसम्म कूल ४० आकांक्षीको आवेदन परेको थियो।

विभिन्न चरणको अन्तर्वार्ताबाट ५ जना उम्मेदवार फाइनल अन्तर्वार्ताका लागि छनोट भएका थिए।

छनोटका लागि गत शनिबार बेलुका अन्तिम अन्तर्वार्ता भएको थियो। अधिकारीसहित, राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल), र बन्दना शर्मा फाइनल अन्तर्वार्तामा सहभागी भएका थिए। छनोटमा परेका अर्का एक जनाले भने फाइनल अन्तर्वाता दिएनन्।

छनोट समितिले पहिलो नम्बरमा अधिकारी र दोस्रोमा राउतको नाम सिफारिश गरेको थियो ।

छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा. बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ थिए।

यस्तै विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो।