एनआरएनएमा सिइओ नियुक्ति सकस, नियमावलीविपरित पदपूर्ती समिति

एनआरएनएमा सिइओ नियुक्ति सकस, नियमावलीविपरित पदपूर्ती समिति

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयमा रिक्त रहेको कार्यकारी निर्देशक (सिइओ) पद नियुक्तिमा सकस भएको छ।

संघको नेतृत्व गरिरहेका पदाधिकारीले आफू निकट सिइओ भित्र्याउने चाहना राखेपछि नियुक्ति प्रक्रियामा बाधा पुगेको हो।

संघले ८ जुनमा सिइओ नियुक्तीका लागि खुल्ला दरखास्तको आह्वान गरेको थियो। योग्यता र दक्षताको आधारमा आवेदकको ‘र्‍याङकिङ’ गर्ने जिम्मेवारी ‘पिुपुल टू पिपुल’ नामक कम्पनीलाई दिइएको थियो। १४ जुनसम्म तय गरिएको दरखास्त दिने म्यादसम्म कूल ४० आकांक्षीको आवेदन परेको थियो।

अहिले एनआरएनएमा तीन अध्यक्ष छन्। तीनै जनाको चाहना आफू निकट सिइओ नियुक्त गर्ने हो।

संघकाे सचिवालयमा १ बैशाखदेखि सिइओ पद रिक्त छ। यसअघि सिइओ रहेका राजेश राणा कर्मचारी नियमावलीअनुसार ५८ वर्षको हद नाघेपछि अनिवार्य अवकाशमा गएका छन्।

अविश्वासको भूमरीमा अध्यक्ष र महासचिव

कर्मचारी नियुक्ति गर्दा संघको कर्मचारी नियामावली र नेपालको श्रम ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रावधान छ।

सचिवलायमा सिइओ पद रिक्त भएपछि पदपूर्ती गर्ने जिम्मेवारी केन्द्रीय समितिको बैठकले तीन अध्यक्ष र दुई महासचिवलाई दिएको थियो।

तर, निष्पक्ष र पारदर्शी ढंगले सिइओ छनोट गर्नुको सट्टा तीन अध्यक्ष र दुई महासचिव आफू निकटको मान्छेलाई कसरी भित्राउने भन्ने दाउमा लागेका छन्। आफू निकट सिइओ राख्न सकियो भने काम गर्न सहज हुने ‘भ्रम’ उनीहरूमा देखिन्छ।

स्रोतका अनुसार कार्यकारी अध्यक्ष कुल आचार्य समूह आफू निकटको नआए बद्री केसीसँग नजिक रहेको व्यक्तिलाई ल्याउनै हुन्न भन्ने पक्षमा छन्। ‘कुलजीलाई आफ्नो मान्छे ल्याउनपर्छ भन्ने पनि छैन। उहाँलाई जोसुकै आएपनि त्यत्ति फरक पर्दैन,’ श्रोतको दावी छ, ‘तर, कुनै पनि हालतमा बद्रीजी निकटको मान्छेलाई ल्याउनु हुँदैन भनेर कम्मर कसेर लाग्नु भएको छ।’

केसी पक्षले आफू निकटतम व्यक्ति ल्याउन खोजेको भन्ने आचार्य पक्षलाई लागेको छ।

आचार्य समूहले डा.केसीमाथि गरेको शंकामा सत्यता नभएको आइसीसीका एक पदाधिकारी बताउँछन्।

‘महाधिवेशनताका संघ धेरै गिजोलियो। त्यस्तो विवाद र झगडा अब फेरि नदोहोरियोस् भन्नेमा बद्रीजी सचेत हुनुहुन्छ,’ ती पदाधिकारीले प्रवास खबरसँग भने, ‘सिइओ भन्ने पद फेरि कसैलाई टिको लगाएर दिने कुरा पनि भएन। यो मनोनयन गर्न मिल्ने पद पनि होइन। बद्रीजीलाई जोसुकै आएपनि मतलब छैन। काम गर्न सक्ने अनुभवी र सक्षम व्यक्ति आउनु पर्छ भन्ने मात्र हो।’

आचार्य निकट एक पदाधिकारी पनि सिइओ पद नियुक्तिमा पादर्शीता हुनुपर्ने बताउँछन्। ‘यो कुनै ‘टिके पद’ होइन। कसैले चाहेको भरमा छनोट गर्ने। यसमा जसको योग्यता छ, त्यही व्यक्ति आँउछ,’ ती पदाधिकारीले प्रवास खबरसँग भने, ‘मलाई लाग्छ कुलजी पनि यसमा सचेत हुनुहुन्छ। बाहिर हल्ला भएजस्तो नहोला। उहाँ पनि अनुभवी र दक्ष व्यक्ति आउनपर्छ भन्ने मान्यतामा हुनुहुन्छ।’

पदाधिकारीले आ–आफ्नो तर्क गरेर चोखिएपनि एक–अर्काप्रति विश्वास नहुँदा एउटा कर्मचारी नियुक्ति प्रक्रियामा तीन अध्यक्ष र दुई महासचिव असफल देखिएका छन्। एक–अर्काप्रति विश्वास हुन्थ्यो र निष्पक्ष ढंगले नियुक्ति गर्न चाहेको भए यो ठूलो विषय थिएन।

‘पीटूपी’ सँगको सम्झौता रद्ध

यसअघि संघको सचिवालयमा कर्मचारी नियुक्त गर्दा विज्ञापन गर्ने, उम्मेदवारको आवेदन लिने, आवेदक मध्येबाट योग्यता र दक्षताका आधारमा ‘सर्ट लिष्ट’ गर्ने जिम्मा ‘मेरो जब’ नामक कम्पनीलाई दिइएको थियो। अहिले सचिवालयमा कार्यरत कर्मचारी यही कम्पनीमार्फत नियुक्त भएका हुन्।

तर, यसपटक भने सिइओ नियुक्त गर्दा यो कम्पनीलाई छनोट गरिएन। ‘पिपुल टू पिपुल’ नामक कम्पनीलाई दिइएको थियो।

‘अहिलेसम्म गरिरहेको कम्पनीमाथि साथीहरूलाई अविश्वास भयो। मिलेमतोमा आफू निकटकै मान्छे ल्याउँछन् कि भन्ने आशंका गरेर विभिन्न बखेडा झिक्ने काम भयो,’ एक उच्च पदाधिकारीले प्रवास खबरसँग भने,‘अनि नयाँ कम्पनीलाई जिम्मा दिइयो। तर, नयाँ कम्पनीकाे काम गर्ने शैली त बिजोग पो रहेछ।’

स्रोतका अनुसार यो कम्पनीले आवेदकको योग्यता, अनुभवका आधारमा ‘ग्रेडिङ’ गरेर संघलाई बुझाउन पर्दथ्यो। ४० जना आवेदकलाई कम्पनीले ‘ए, बी, सी र डी’ भनेर ‘ग्रेड’ प्रणालीमा वर्गिकरण गरेको थियो।

‘तर, उक्त कम्पनीले ‘ग्रेडिङ’ गरेर पठाएको नाम देखेर अच्चममा परियो,’ ती पदाधिकारी भन्छन्, ‘योग्यता र अनुभवका आधारमा ‘ए’ ग्रेडमा हुनुपर्ने ‘डि’ र ‘डि’ हुनुपर्नेलाई ‘ए’ मा हालिएको थियो। यो कुनै पनि ढंगमा निष्पक्ष थिएन। शंका गर्नुपर्ने थुप्रै ठाउँ थिए।’

यसरी सिइओ नियुक्तिमा थप विवाद उत्पन्न भयो। केही पदाधिकारीलाई कम्पनी छनोटमै चलखेल भएको भन्ने लाग्यो। र, उक्त कम्पनीले गरेका काम बदर गर्नुपर्ने माग राखे।

अन्ततः गत १८ जुलाइमा बसेकाे आइएस बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्ध गर्ने निणर्य गरेको छ। आफैले छनोट गरेको कम्पनीसँगको सम्झौता रद्ध गर्नुपर्ने अवस्था आएपछि छनोटमा संलग्न पदाधिकारीमाथि नैतिक प्रश्नसमेत उठेको छ।

नियमावलीविपरित पदपूर्ती समिति

बैठकले ‘पीटूपी’सँगको सम्झौता रद्ध मात्र गरेन लगत्तै ३ सदस्यीय नयाँ पदपूर्ती समिति बनाउने निणर्य समेत गर्‍यो। ‘पीटूपी’ कम्पनीमार्फत आएका आवेदकबाट नै ‘सर्ट लिष्ट’ गरेर सिइओ नियुक्ति गरिने भनिएको छ।

आपतकालीन सूचना जारी गरेर बोलाइएको बैठकमा सम्झौता रद्ध गर्ने र नयाँ समिति गठन गरिने एजेण्डा राखिएको थियो। जसअनुसार बैठकमा तीन सदस्यीय समिति गठन गर्ने र त्यही समितिले सिइओ छनोट गर्ने प्रस्ताव गरियो। जसमा वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका महेश श्रेष्ठ, संस्थापक महासचिव भिम उदास र अर्थ विज्ञ अनलराज भट्टराईको नाम थियो।

समिति बनाउँदा आफ्नै कर्मचारी नियुक्ति सम्बन्धी नियामवली मिचिएको थियो। संघको नियमावलीमा पदपूर्ती छनोट गर्दा महासचिव संयोजक, अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले तोकेको पदाधिकारी वा विशेषज्ञ सदस्य र कार्यकारी प्रमुख सदस्य सचिव हुनुपर्ने प्रावधान छ।

समितिमा संयोजक संस्थापक महासचिव उदासलाई बनाइएको छ। जवकी नियममा संयोजक महासचिवलाई बनाउने भन्ने छ। अहिले डा.केशव पौडेल र गौरीराज जोशी महासचिव छन्। उदास संस्थापक महासचिव थिए, हालका होइनन्।

सिइओ पदपूर्ती गर्नुपर्ने अवस्थामा अध्यक्षले तोकेको पदाधिकारी सचिव हुनुपर्छ, बाहिरबाट होइन।

संघको कर्मचारी नियमावली

यसरी विधानविपरित समिति बनाइएपछि गत बैठकमा केही पदाधिकारी खरो रुपमा उत्रिएका थिए। उनीहरूले विरोधसमेत गरे। विवाद चर्किने देखिएपछि बोल्न चाहने केहीलाई बोल्न नदिइ ‘म्युट’मा राखिएको थियो।

‘पहिला यहि समितिले सिइओ छनोट गर्ने भनिएको थियो। तर, कडा प्रतिकार भएपछि यो समितिले ४० जनाबाट ‘सर्ट लिष्ट’ मात्रै गर्ने र अन्तिम छनोटको अधिकार संघमा नै निहित रहने सहमति भएको हो। तर, पनि ‘सर्ट लिष्ट’मा चलखेल हुने आशंका उत्तिकै छ,’ बैठकमा सहभागी पदाधिकारीको भनाइ छ।

प्रवास खबरलाई विशेष सुत्रबाट प्राप्त जानकारीअनुसार नियामावलीविपरित गठित समितिले काम सुरु गरिसकेको छ। ४० जनामध्ये ५ जनाको नाम अन्तर्वार्ताको लागि तय गरिसकेको स्रोतको दावी छ।

संयोजक उदासमाथि शंका

नियामवली विपरित बाहिरैबाट पदपूर्ती समितिको संयोजक बनाइएका उदासमाथि शंका गर्ने धेरै ठाउँ छन्। संघको महाधिवेशनका बेला विवाद चर्किरहँदा उनले एक पक्षीय चुनावी सभामा पुगेर सम्बोधन गरेका थिए।

उनले होटल याक एण्ड यतिमा आयोजित कुल आचार्यको चुनावी सभालाई सम्बोधन गरेका थिए। आचार्यलाई जीतको शुभकामाना दिएका उदास एलिस रिसेप्सनमा डा. बद्री केसीले आयोजना गरेको कार्यक्रममा भने निम्तो पठाउँदा समेत सहभागी भएनन्।

जवकी डा. केसीले उनलाई विशेष अतिथिका रुपमा आफ्नो चुनावी सभामा बोलाएका थिए।

‘विवाद बढेर संस्था तहनहस हुने स्थितिमा पुग्दा उहाँले समाधानका लागि भूमिका खेल्नुपर्दथ्यो। तर, एक पक्षीय रुपमा खुलेर विवादलाई अझ बढाउन मलजल गर्नुभएको थियो,’ एक उपाध्यक्षले प्रवास खबरसँग भने, ‘उहाँले निष्पक्ष काम गर्नुहुन्छ भन्ने विश्वास छैन। यो मान्य हुँदैन। जबरजस्ती गरेर हुँदैन।’

यता समितिको सदस्य रहेका श्रेष्ठमाथि पनि शंका उठेको छ। अर्काेपटक अध्यक्षको तयारीमा जुटिरहेका श्रेष्ठलाई यो जिम्मेवारी दिनुहुँदैन्थ्यो भन्ने धेरै पदाधिकारीको तर्क छ। ‘उहाँ आफै अध्यक्षको तयारी गर्दै हुनुहुन्छ। त्यसैले पनि यो समितिमा बस्नु उचित थिएन,’ ती उपाध्यक्ष भन्छन्, ‘जहाँ पनि हात हाल्नु त भएन नि ?’

केही पदाधिकारीले भने अहिले समितिमा बसेको व्यक्ति आगामी निर्वाचनमा उम्मेदावार बन्न नपाउने माग राखेका छन्।