नेपाल सबै प्रकारका युद्धको विपक्षमा छः राष्ट्रपति भण्डारी

नेपाल सबै प्रकारका युद्धको विपक्षमा छः राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवि भण्डारीले विश्वमा हुने सबै प्रकारका युद्धको पक्षमा नेपाल नरहेको र आणविक हतियारको होडबाजी रोकिनुपर्ने बताएकी छिन्।

काठमाडौंमा शनिबार आयोजित ‘अन्तराष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका एशीयाको सन्दर्भ’विषयक एउटा अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वका राष्ट्रहरूबीच उत्पन्न विवादहरूमा शान्तिपूर्ण माध्यमबाट समाधान खोजिनुपर्नेमा जोड दिइन्।

‘हामी सबै प्रकारका युद्धको विरोध गर्दछौं र राष्ट्रहरूका बिचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने मान्यता राख्दछौं। विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ भन्ने हाम्रो सुदृढ विश्वास रही आएको छ’उनले भनिन् ‘संयुक्त राष्ट्र संघको वडापत्र,पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व र विश्वबन्धुत्वको भावना र अहस्तक्षेपको र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको छ। विशिष्ट ऐतिहासिक अनुभव,अन्तर्राष्ट्रियसम्बन्धका आयाम एवम् भौगोगिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा समेत ठोस योगदान गर्दै आएको इतिहासतर्फ म यस विद्धत सम्मेलनको ध्यान आकृष्ट गर्न चाहन्छु।’

उनले नेपालजस्ता भूपरिवेष्ठित देशहरूका लागि निर्वाध पारवहन अधिकार प्रत्याभूति गर्ने समुन्द्रसम्बन्धि कानुनको निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिका स्मरणीय रहेको उल्लेख पनि गरिन्।