यूएईमा आदिवासी महोत्सव मनाइने

यूएईमा आदिवासी महोत्सव मनाइने

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा आदिवासी महोत्सव मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ यूएईले २८औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव मनाउन लागेको हो।

महासंघले २४ अगष्टमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय आदिवासी दिवस तथा आदिवासी महोत्सव मनाउने भएको हो।

महासंघले हरेक वर्ष दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको थियो। तर, कोरोना महामारीका कारण विगत २ वर्षयता कार्यक्रम हुन सकेको थिएन।

दुई वर्षको अन्तरालमा आयोजना गरिएको उक्त कार्यक्रम दुबईस्थित क्लभ एभरेस्टमा हुनेछ।

महासंघकी अध्यक्ष बिजय लक्ष्मी राईले कार्यक्रममा नेपाली आदिवासी जनजातीहरुको पुरातात्विक महत्वका स्टलहरु, भेषभूषा र सांस्कृतिक झाँकी प्रदर्शन हुने बताएकी छिन्।

कार्यक्रममा प्रवासी कलाकारहरुको बेजोड प्रस्तुति साथै मिस्टर तथा मिस आदिवासी २०२२ प्रतियोगिता समेत हुने अध्यक्ष राईले प्रवास खबरलाई जानकारी दिइन्।

उक्त कार्यक्रममार्फत् प्रवासी कलाकारहरुले गरेको योगदानको सम्मान पनि गरिने भएको छ।प्रवासी कलाकारहरुले एक्सो २०२० मा नेपालको मौलिक संस्कृति झल्काउदै देशको शिर उच्च राख्न महत्वपुर्ण योगदान दिएका थिए।

नेपाल पेवेलियनका आयोजक आइजीग्रुपले दुबई एक्स्पो– २०२० मा योगदान दिएका प्रवासी कलाकारहरुलाई सम्मान गर्न लागेको ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए।

त्यसैगरी कार्यक्रममा कोभिड (१९) विश्व महामारीको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्धार गर्न स्थानीय प्रशासनसँग समन्वय गरी कोभिड प्रभावित नेपाली समुदायको सेवामा खटिएका स्वयंसेवकहरुलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बूले बताए।

नेपाल आदिवासी जनजाति महासंघ यूएईले अन्य विभिन्न दिवसको अवसरमा समेत कार्यक्रमहरु आयोजना गर्दै आएको छ।