विश्वकप फुटबल : कतारले छोटो समयका लागि नेपाली लैजाने

विश्वकप फुटबल : कतारले छोटो समयका लागि नेपाली लैजाने फाइल फोटो

काठमाडौं । कतारले नोभेम्बरदेखि  सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजाने भएको छ। यसका लागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुमति समेत दिएको छ।

प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो।

सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णय समेत गरेको छ ।

काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजिव पोख्रेलले जानकारी दिए।

फुटबल प्रतियोगिताका लागि कामदारको माग आएको कुरा यसअघि कतारमा रहेको नेपाली दूतावासलाई रोजगारदाता कम्पनीले जानकारी गराएका थिए। आफूलाई जानकारी आएपछि दूतावासले पत्र लेखेको थियो।

मन्त्रालयले गरेको यो निर्णय अब फेरी कतारमा रहेको नेपाली दूतावासलाई पठाइने छ। यो निर्णयसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गरेर कामदार पठाउन पाइने छ।

विश्वकप फुटबलसम्मका लागि मात्रै नेपाली कामदार पठाइने भएकाले सरकारले सुन्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरुलाई अनुमति दिनेछ। त्यस्तै मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नु पर्ने निर्णय गरेको छ।

त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ। म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीको लागि जान खोज्नेहरूले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ।

कानुन अनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भएपनि कहीँ कतैबाट त्यो भन्दा कम अवधिको कामको अवसर र भिसा आएमा श्रम स्वकृति प्रदान गर्ने समेत कानुनी व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै कामदार पठाउन कानुनी अड्चन नभएको सहसचिव पोख्रेलले जानकारी दिए।

नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित नइसकेको मन्त्रालयले जनाएको छ। कामदारको लागि मागपत्र प्रमाणीकरण भएर आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा सुविधाको बारेमा जानकारी हुनेछ। तर, सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन्। त्यस्तै विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झण्डै १२ हजार श्रमिकको माग गरेको छ।

वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीहरूले यो छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन पाउनेछन्।