प्रवासीलाई मताधिकार : निर्वाचन आयोग र एनआरएनएबीच सकारात्मक छलफल, अध्ययन समिति बनाइने

प्रवासीलाई मताधिकार : निर्वाचन आयोग र एनआरएनएबीच सकारात्मक छलफल, अध्ययन समिति बनाइने

काठमाडौं। नेपालका राजनैतिक दल तथा नेताहरुले विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार दिने सम्बन्धमा पटक–पटक प्रतिबद्धता जनाउँदै आएका छन्।

तर, यससम्बन्धी कानून बनाउन भने उनीहरुले मतलब राखेका छैनन्। जसका कारण रोजगारीका लागि विदेशमा बस्ने लाखौं नेपाली निर्वाचनका बेला मतदानबाट बञ्चित हुने गरेका छन्।

त्यसो त सर्वोच्च अदालतले २०७४ चैत ७ गते निर्देशात्मक आदेश जारी गर्दै प्रवासी सबै नेपालीहरुको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउनु भन्ने आदेश दिएको थियो।

राजनीतिक दलहरुले नै यसमा चासो नदेखाउँदा संसदबाट विदेशमा रहेका नेपालीलाई मताधिकार दिने अधिकारसहितको एकीकृत निर्वाचन सम्बन्धी विधेयक पारित हुन सकेको छैन।

यो विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पटक–पटक आवाज उठाइरहेको छ। कैयौं पटक अध्ययन प्रतिवेदन तयार पारेर निर्वाचन आयोगदेखि विभिन्न निकायसम्म बुझाएको पनि छ।

संघले पुनः यो विषयमा निर्वाचन आयोगको ध्यानआकर्षण गराएको छ। सोमबार संघका पदाधिकारी निर्वाचन आयोगमै पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायत अन्य कर्मचारीसँग लामो छलफल गरेको छ।

विदेशमा बस्ने नेपालीहरुको मतदानको सुनिश्चितता, प्रकिया र अनलाइन भोटिङमार्फत कसरी मतदान गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

संघले आफूले चुनावको लागि प्रयोगमा ल्याइरहेको अनलाइन भोटिङ एप्सकोबारेमा जानकारी गराउँदै प्रवासी नेपालीलाई पनि मतदानमा सहभागी गराउन यो प्रविधि उपयोगी हुने बताएको थियो।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विदेशमा बस्ने नेपालीहरुका लागि मतदान व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने बताएका थिए। दूतावाससँगको सकहकार्यमा मतदान गराउन सकिने उनको भनाइ थियो।

त्यस्तै अर्का अध्यक्ष बद्री केसीले एनआरएनएले चुनावको लागि बनाएको एप्स उच्च प्रविधियुक्त भएकोले निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए।

संघका पूर्वअध्यक्ष जीवा लामिछानेले विश्व सञ्जालमा जोडिएको नेपालीहरुलाई मताधिकार दिलाउन निर्वाचन आयोगले विशेष भूमिका खेल्नुपर्ने बताएका थिए।

यसैगरी निर्वतमान सल्लाहकार टिबी कार्कीले सम्वन्धित देशको दूतावासबाट अनलाइन भोटिङ गर्न सकिने र त्यसका लागि निश्चित स्थान तोक्नुपर्ने धारण राखे। निर्वाचनका बेला संघका पदाधिकारीलाईपरिवेक्षकको रूपमा समावेश गराएर निर्वाचनलाई व्यवस्थित बनाउन सकिने उनको भनाइ थियो।

त्यस्तै संघका उपाध्यक्ष महेश श्रेष्ठले विदेशमा बस्ने नेपालीको अनलाइनबाट मतदाता संकलन गर्न निर्वाचन आयोगलाई सुझाव दिए।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रवासी नेपालीलाई मताधिकार दिलाउन आयोगले आफ्नोतर्फबाट पहल गरिरहेको बताए।

‘संविधानमा लेखिएअनुसार सूचना तथा सञ्चारको भरपुर प्रयोग गर्न पाउनुपर्ने नियममा टेकेर निर्वाचन आयोगले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिन्छ। यसका लागि निर्वाचन आयोग सकारात्मक छ,’ उनले भने।

अनलाइन भोटिङ एप्सको विकासको लागि निर्वाचन आयोगका प्राविधिक टिम र एनआरएनएको प्राविधिक टिमबीच सहकार्य गर्नुपर्ने उनले बताए।

यसविषयमा थप नीतिगत अध्ययनका लागि आयोग र संघबीच एउटा समिति नै बनाएर काम गर्नुपर्ने उनकाे भनाइ थियाे।

यो पनि पढ्नुहोस्

प्रवासीको ‘नोट’ गन्ने सरकारले भोट भने खोजेन

‘नेता नै चाँहदैनन् विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन’