‘नेता नै चाँहदैनन् विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन’

‘नेता नै चाँहदैनन् विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन’

म लामो समयदेखि प्रवासमा छु। विदेशमा बस्दा मलाई राजनीतिमाभन्दा पनि देशका समसामयिक विषयमा चासो हुन्छ। खेलुकद, गीतसंगितलगायत सामाजिक कार्यमा मेरो रुची रहन्छ। त्योभन्दैमा राजनीतिसँग मतलबै छैन भनेको होइन। नेपालको राजनीतिसँग पनि अपेडट भइरहन्छु।

अहिलेसम्म नेपालमा भएका प्राय : सबै निर्वाचनमा मैले भोट हालेको छु। कम्तीमा तीन र बढीमा ६ महिनाको बीचमा म विदामा नेपाल आइरहेको हुन्छु। अहिले उता इदको विदा चलिरहेको, यता स्थानीय तहको चुनाव। त्यसैले चुनावसम्म बस्ने गरी विदा लिएर आएको छु। अब भोट हालेर चुनावको भोलिपल्ट फर्किन्छु।

अहिलेसम्म म राजनीतिक रुपमा कुनै पार्टीमा सक्रिय छैन। संस्थाको हिसावले उता ओमनमा एनआरएनसँग आवद्ध छु। म एनआरएन सोसल क्लब ओमनको उपाध्यक्ष छु अहिले। यसमा जोड्निुको एउटै उद्धेश्य भनेको नेपालीलाई समस्या पर्दा कसरी सहयोग गर्न सकिन्छ भनेर हो।

चुनावको बेला मलाई सधै एउटै कुराले दु : खी बनाइरहेको हुन्छ। चुनावमा लाखौं नेपाली युवा मदतानबाट बञ्चित हुन्छन्। जसले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको छ, उनीहरुले नै निर्वाचनमा मतदान गर्न पाउँदैनन्। आफूले मन परेको मान्छे चुन्न पाउने उनीहरुको अधिकार खोसिएको छ।

विदेशमा रहेका नेपालीलाई उतैबाटै मतदान गर्न पाउने व्यवस्था गरिनुपर्छ भनेर धेरैले भाषण गरे। नेताहरुले पनि धेरै पटक यो कुरालाई उठाए। तर, अहिलेसम्म पनि यो पूरा भएन। अहिलेको निर्वाचनमा पनि देशबाहिर रहेका लाखौं युवा मतदानबाट बञ्चित भए। यो निकै गम्भिर विषय हो। विदेशमा श्रम बगाएर देशको अर्थतन्त्र जोगाइरहेका युवामाथि राज्यले अपराध गरेको छ।

विदेशबाट मतदान गराउन चाहे, यो एक हप्ताको काम हो। अहिले प्रविधिले जस्तोसुकै कुरालाई सम्भव बनाइरहेको छ। यदि नेता र सरकारले चाहेको भए अहिलेको निर्वाचनमा पनि यो सम्भव थियो। मलाई त लाग्छ माथिल्लो तहमा रहेका मान्छेले यो चाहेकै छैनन्। उनीहरुलाई विदेशमा बस्ने नेपालीको बारेमा मतलबै छैन।

यसको एउटा कारण पनि छ। विदेशमा गएका धेरै मान्छे नेपालको राजनीतिबाट दिक्क छन्। जस्तो विदेश गएका एकसयमा ८० जनाले नेपालका कुनैपनि राजनीतिक दललाई मन पराउँदैनन्। उनीहरुलाई थाहा छ–पार्टीको सिद्धान्त राम्रो भएपनि नेता गतिला छैनन्। यहाँ मैले भन्न खोजेको कुरा के भने, अहिले पार्टी र उनका नेतालाई विदेशमा बस्नेले मन पराउँदैनन्। मन नपर्ने भएपछि उनीहरुले भोट दिने कुरा भएन्। नेताहरुलाई यो कुरा राम्रोसँग थाहा छ कि विदेशबाट हामीलाई भोट आउँदैन। भोट नै नआउने भएपछि त्यत्तातिर किन समय खर्च गर्ने। यही कारणले गर्दा अहिलेसम्म विदेशबाट मतदान गर्न पाउने व्यवस्था लागू भएको छैन।

विदेशमा बस्ने नेपालीले देशको विकास भएको मात्रै हेर्न चाहान्छन्। जोसुकै दल आएपनि विकास गरोस् भन्ने चाहाना हुन्छ। त्यसैले उनीहरु नयाँ अनुहारको खोजिमा छन्। प्रवासी नेपालीलाई मतदानमा सहभागी गराउन नेता डराउनुको मुख्य कारण यही नै हो।

होइन भने अरु देशले गरिरहेका छन्, नेपालले चाँहि किन गर्न सक्दैन त ? जस्तो फिलिफिन्समा केहीदिन अघि चुनाव थियो। त्यो चुनावमा विदेशमा रहेका फिलिफिनो नागरिकले भोट हाले। उनीहरुले आफू रहेको आफ्नो देशको दूतावासमा गएर मतदान गरे। यो व्यवस्था सरकारले मिलाएको थियो।

अहिले नेपालको पनि प्राय ठाउँमा दूतावासहरु स्थापना भइसकेका छन्। जहाँ बढी नेपाली छन्, त्यहाँ दूतावास छ। फिसिपिन्सले जस्तै नेपालले पनि दूतावासमार्फत मतदान गर्ने व्यवस्था मिलाउन सक्छ। अनलाइनमार्फत भोट व्यवस्था गरियो भने झनै सहज। स्थानीय तहमा कठिनाइ भएपनि कम्तिमा सामानुपातिकतर्फ भएपनि विदेशमा बस्ने नेपालीलाई सहभागी गराइनुपर्छ।

मतदाता परिचय–पत्र नै चाहिन्छ भन्ने छैन। विदेशमा बस्ने सबैसँग राहदानी हुन्छ। राहदानी नम्बरको आधारमा मतदानमा सहभागी गराउन सकिन्छ। यो विश्वासिलो पनि हुन्छ। दूतावासमा सरकारी कर्मचारी नै हुन्छन्। यहाँ पनि चुनावमा खट्ने भनेको सरकारी कर्मचारी नै हुन्। यहाँ जस्तो प्रणाली हुन्छ, त्यही उता पनि प्रयोग गरेर सजिलै मतदान गराउन सकिन्छ।

चुनावको बेला नेपालका पार्टीहरुले विदेशमा बस्ने नेपालीका लागि यो गर्छाैं, त्यो गर्छौं भनेर घोषणा–पत्र सार्वजानिक गर्छन्। तर, उनीहरुले चुनाव जितेपछि गर्ने केही होइनन्। मलाई त घोषणा–पत्रमा भनिएका सबै कुरा बकवास लाग्छन्। व्यवहारमा लागू नभएपछि घोषणा–पत्रमा लेखेर मात्रै के गर्नु ? गर्ने हो भन्ने सबै कुरा सम्भव छ। तर, लेखेर मात्रै हुँदैन, भित्रैदेखि गर्नुपर्छ भन्ने भावना हुनुपर्छ।

आखिर विदेशमा बस्ने नेपालीले त्यत्रो ठूलो अपेक्षा केही राखेका हुँदैनन्। उनीहरुले वैदेशिक रोजगारीको प्रक्रिया सहज र सरल होस् भन्ने चाहेका हुन्छन्। आफूहरु विदेश–आउँदा झन्झट् नहोस् भन्ने चाहान्छन्। तर, उनीहरुको दु : ख कस्ले सुन्ने ? प्रत्येक पाइला–पाइलामा उनीहरुलाई विभिन्न बाहानामा दु : ख दिइन्छ। श्रम कार्यालयदेखि विमानस्थल सबै ठाउँमा उनीहरुले कष्ठ झेलिरहेका हुन्छन्।

वैदेशिक रोजगारीमा जाने श्रमिक ठगीमा परिरहेका छन्। उता पुगेपछि पनि चरम श्रोषणमा पर्छन्। विरामी हुँदा घर फर्किन पाउँदैनन्। तलब रोकिन्छ। मृत्युवरण गरेका श्रमिकको शव समेत उतै रोकिन्छ। श्रमिकले भोगिरहेका यस्ता समस्या समाधानमा कसैको नजर पुग्दैन। खालि घोषणा–पत्रमा ठूला–ठूला कुरा लेखेर क्यार्नु ? मलाई लाग्छ नेताहरुले श्रमिकका यी समस्या मात्रै हल गर्न सके भने यो भन्दा ठूलो उपलब्धी केही हुँदैन। आखिर श्रमिकले पनि चाहेको यहि हो।

अहिलेको चुनाव भनेको आफ्नै क्षेत्रको लागि प्रतिनिधि चुन्ने हो। आफ्नो गाउँ–ठाउँको विकास कसले गर्नसक्छ, को राम्रो छ त्यसैलाई नै भोट दिनुपर्छ भन्ने मान्यता मेरो हो। योबेला को–के पार्टीभन्दा पनि कसले गाउँ–ठाउँको लागि राम्रो गर्छ भन्ने विषयले मह्त्व राख्छ।

अहिले नयाँ युवाहरु स्वतन्त्र उम्मदेवारीमार्फत आउन खोजिहरेका छन्। तर, अझै सबैको सोच परिवर्तन भइसकेको छैन। अघिपछि जत्ति नै कुरा गरेपनि चुनावको बेला पुरानै अनुहार हेर्छन। यो परिस्थितिमा युवावर्ग जितेर आउन त गाह्रै छ। मेरो यसपटकको भोट स्वतन्त्र उम्मेदवार बालेन शाहलाई हुनेछ।

(काठमाडौं–कलंकीका खड्का ओमनको इन्टरकन्टिनेन्टल होटलमा हाउसकिपिङ म्यानेजरको रुपमा कार्यरत छन्।)