युवा व्यवसायी खड्कालाई चीनको पूर्वी क्षेत्रको व्यापार प्रतिनिधिको जिम्मेवारी

युवा व्यवसायी खड्कालाई चीनको पूर्वी क्षेत्रको व्यापार प्रतिनिधिको जिम्मेवारी

काठमाडौं। चीनको पूर्वी प्रान्तहरुका लागि नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) को व्यापार प्रतिनिधिको जिम्मेवारी युवा व्यवसायी राजकुमार खड्का (आरके) लाई दिइएको छ।

नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) का अध्यक्ष राजेन्द्र मल्लले बुधवार व्यवसायी खड्कालाई प्रमाणपत्र प्रदान गरेका हुन्।

लामो समयदेखि व्यवसायमा संलग्न खड्का गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनका सल्लाहकार समेत हुन्।

यस्तै उनी चीनका विभिन्न सरकारी तथा गैर–सरकारी संघसंस्थाहरुमा पनि आवद्ध छन्।

खड्काले पिपुल्स मेडिएसन कमिटी फर फरेन रिलेटेड डिसप्युट, इवु सिटी इन्टरनेशल ट्रेड सिटी जस्टिस अफिस अफ इवु म्युनिसिपल ब्युरो अफ जस्टिस, फ्रेन्डसीप एलायन्स अफ फरेन बिजिनेसम्यान, ब्युल्डिङ ब्युटिफुल इवु सिटी प्रोमोसन एसोसिएसन तथा इन्टरनेसनल भोलेन्टिएर क्लबलगायतका संस्थाहरुमा मेडियटर तथा स्वयम् सेवकका रुपमा काम गर्दै आएका छन्।

चीन भविष्यमा पूर्ण रुपमा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगतर्फ उन्मुख हुँदैछ। त्यसैले चीनका राष्ट्रपति सी जींग फिंग संसारभरबाट चीनमा सामान आयात होस् भनेर आफै लागिपरेको खड्काको भनाइ छ।

‘सुनौलो मौकालाई हामिले चुकाउनु हुँदैन। चीनसँग रहेको विध्यमान व्यापार असुन्तलन घटाउने उपायमध्ये यो पनि एक हो,’ व्यापार प्रतिनिधिमा नियुक्त भएसँगै खड्काले प्रवास खबरसँग भने, ‘तर, चीनलाई सामान बेच्नका लागि ब्राण्डीङ अनि गुणस्तरीय पनि हुनु जरूरी छ। यसका लागि मेरो पहल निरन्तर रहनेछ।’

यस्तै नेपाल एसोसियन अफ टुर एण्ड ट्राभल ( नाटा) सँग सहकार्य गरेर चीनमा रहेका ठूला–ठूला व्यापारिक घराना र कम्पनीका प्रमुखहरूलाई निमन्त्रणा गरेर नेपालको पर्यटनलाई प्रवद्धन गर्ने आफ्नो लक्ष्य रहेको खड्काले बताए।

चीनको पूर्वी प्रान्तहरुमा सांघाइ, जिजैंग, जिन्गासु, एनविही, सान्गडन्ग, जियांग्छी पर्दछन्। यी क्षेत्रहरू अन्तर्राष्ट्रिय तथा क्षेत्रीय व्यापारिक केन्द्रमध्ये प्रमुख हुन्।

नेपाल च्याम्बर अफ कमर्शले दिएको व्यापार प्रतिनिधिको जिम्मेवारीले आफूलाई थप सक्रिय बनाएको खड्काले बताए।