वैदेशिक रोजगारी : वर्ष दिनमा बाहिरिए ६ लाख २८ हजार, सबैभन्दा धेरै साउदीमा

वैदेशिक रोजगारी : वर्ष दिनमा बाहिरिए ६ लाख २८ हजार, सबैभन्दा धेरै साउदीमा फाइल फोटो : वैदशिक रोजगारीमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लाइनमा युवाहरु

काठमाडौँ। रोजगारीको लागि विदेश जाने नेपालीको संख्या वृद्धि भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख २८ हजार ५०३ जनाले विदेश जान श्रम स्वीकृति लिएका छन्। तीमध्ये ८१ हजार ९७५ महिला छन्। यो संख्या पुन : श्रम स्वीकृति लिनेहरुसहितको हो।

यो ५ वर्षयताकै ठूलो संख्या हो। यसअघि आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४२ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका थिए।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए। यसरी आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने नेपालीको संख्या ३.६८ गुणाले वृद्धि भएको तथ्याङ्कले देखाउँछ।

शुक्रबार विभागले आयोजना गरेको वार्षिक प्रगति विवरणको समिक्षा कार्यक्रममा बोल्दै महानिर्देशक शेष नारायण पौडेल पौडलले वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको बताए।

विभागले सार्वजानिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख १२ हजार ६८५, आव २०७५/०७६ मा ५ लाख ८ हजार ८८२८, आव २०७६/०७७ मा ३ लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका थिए।

सबैभन्दा बढी साउदी गए

आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी साउदी अरेविया जान श्रम स्वीकृति लिएका तथ्याङमा उल्लेख छ। साउदी अरव जान १ लाख ८८ हजार ३९८ जनाले श्रम स्वीकृति लिएका छन्।

यस्तै दोस्रोमा कतार जान १ लाख ८४ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै संयुक्त अरब इमिरेट्स ९यूएई० का लागि १ लाख २२ हजार ३६६ जनाले श्रम स्वीकृति लिएका छन्।

कुवेत ३५ हजार ४६६, मलेसिया ३५ हजार ४४१, बहराइन १२ हजार ४०, रोमानिया ७ हजार ४०२, ओमन ६ हजार ८३८, जापान ५ हजार ६२९ र क्रोसिया का लागि ५ हजार २६६ जनाले श्रमस्विकृति लिएका छन्।