एउटा परिवारको शासनमा डुबिरहेको देश श्रीलंका

एउटा परिवारको शासनमा डुबिरहेको देश श्रीलंका

शनिबार बिहानैदेखि श्रीलङ्काको कोलम्बो सहरमा उत्रिएका प्रदर्शनकारीहरूले राष्ट्रपति गोटावय राजापक्षेको सरकारी निवास घेरिसकेका थिए।

प्रहरीले उनीहरूलाई तितरबितर पार्न निकै संघर्ष गर्‌यो। हवाइ फायर गर्‌यो र अश्रुग्यास हान्यो। तर त्यो बेलासम्म प्रदर्शनकारीहरू राष्ट्रपति बस्ने सरकारी घरभित्र छिरिसकेका थिए।

र उच्च सुरक्षा कमाण्डोले राष्ट्रपतिलाई घरबाहिर लगिसकेको थियो। उनलाई कहाँ राखिएको छ भन्नेबारे केही भनिएको छैन।

प्रदर्शनकारीहरूले राष्ट्रपतिको मुख्य निवास र वरिपरिका भवन आफूहरूको कब्जामा भएको देखाउन खोजे। उनीहरू राष्ट्रपतिको निवास परिसरमा रहेको स्विमिङ पुलहरू ‘डाइभ’ हान्दै पौडी खेल्न थालेका भिडियोहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा छाएका छन्।

स्वतन्त्र भएपछि पहिलोपटक आर्थिक संकटको चरम सामना गरिरहेको श्रीलङ्का अघिल्लो वर्षदेखि नै संकटै संकटले घेरिएको छ। त्यही कारण सत्ता नै ढल्यो। प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा नै दिनुपर्‌यो।

प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा मागिरहेका छन्। हरेक दिनजसो सरकारी मन्त्री र राजनीतिक दलका नेताहरूलाई ‘नियन्त्रण’मा लिन खोज्ने प्रदर्शनकारीहरू देशभरि र खासगरी राजधानी कोलम्बो सहरमा जम्मा भइरहेका छन् र हरेक दिन प्रदर्शन गरिरहेका छन्।

श्रीलङ्कामा अहिले तेलको चरम अभाव छ। सरकारले तल आपूर्ति गर्न सकिरहेको छैन किनकि श्रीलङ्काले आफू टाट पल्टिएको घोषणा गरिसकेको छ।

शनिबार बिहान आमप्रदर्शनकारीले राष्ट्रपतिको निवास ‘कब्जा’ गरेसँगै फेरि एकपटक राजनीतिक संकट चुलिएको छ। प्रधानमन्त्री रनिल विक्रमासिङ्गले राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन्।

प्रदर्शन रोक्नका लागि हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएपनि देशका धेरै ठाउँबाट बसहरूबाट राजधानी आएका नागरिकले प्रदर्शनलाई झन् उग्र बनाइरहेका छन्।

आर्थिक सङ्कट र इन्धन अभावका माझ राष्ट्रपति गोटाबय र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग विरूद्धका प्रदर्शनहरू चर्कँदै गएका छन्।

सरकार विरुद्धको एउटा ठूलो प्रदर्शन शनिवारका लागि आह्वान गरिएको थियो। त्यसमा विपक्षी दलहरू, ट्रेड युनियनहरू, विद्यार्थी र कृषि सङ्गठनका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएका थिए।

शुक्रवारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू कोलम्बो आएका थिए। शनिवार पनि ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बोमा प्रवेश गरेको देखिएको थियो।

अनि टाट पल्टियो श्रीलङ्का

 महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छूटजस्ता कारणहरूले गर्दा श्रीलङ्काको अर्थतन्त्र सङ्कटमा परेको देखिन्छ।

विदेशी मुद्राको निरन्तर अभाव तथा अकासिएको महँगीले त्यहाँ औषधि, इन्धन तथा अत्यावश्यक वस्तुहरूको चरम अभाव भइरहेको छ।

पछिल्ला साताहरूमा त्यहाँ ठूल्ठूला प्रदर्शनहरू भए। राष्ट्रपति गोटबय राजपक्ष तथा उनका परिवारविरुद्ध लक्षित प्रदर्शनहरू कहिलेकाहीँ हिंसात्मक पनि भए।

सात दशकभन्दा लामो अवधिमा देखा परेको सबैभन्दा नराम्रो आर्थिक सङ्कट समाधान गर्ने राजपक्षका प्रयासहरू सफल हुन सकेका छैनन्।

उनले भारत र चीनसँग आर्थिक सहयोग लिएर इन्धन, विद्युत्, खाद्यान्न र अन्य अत्यावश्यक सामानको अभाव हुन नदिने प्रयास गरेका थिए।

आइतवार ऊर्जामन्त्री कञ्चन विजेशेकरले नियमित मागअनुसार वितरण गर्ने हो भने देशमा भएको पेट्रोल एक दिनलाई पनि नपुग्ने बताएका थिए।

तेल जोगाउने उद्देश्यले गत साता सरकारले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई पेट्रोल र डीजल बेच्न रोक लगाएको थियो।

कोभिड महामारी र आर्थिक अव्यवस्थाका कारण श्रीलङ्काको विदेशी मुद्राको सञ्चिति घटेको थियो।

विदेशी मुद्रा नहुँदा विदेशबाट सामान आयात गर्न पनि समस्या उत्पन्न भएको हो।

तीस दिनको थप समय पाएको भए पनि गत मे महिनामा पहिलो पटक श्रीलङ्का ऋण तिर्न विफल भएको थियो।

देशलाई आर्थिक सङ्कटबाट उद्धार गर्न अहिले श्रीलङ्का सरकार र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफबीच तीन अर्ब पाउन्ड सहयोग उपलब्ध गराउने विषयमा वार्ता भइरहेको छ।

इन्धन र अन्य वस्तुको आपूर्ति सहज नभएकाले अहिले महँगी चुलिएको छ।

बिहीवार श्रीलङ्काको केन्द्रीय ब्याङ्कले आधारभूत ब्याजदर एक प्रतिशतले वृद्धि गरिदिएको छ।

ब्याङ्कले दिने ऋणको ब्याजदर १५.५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४.५ प्रतिशत ब्याज तोकिएको छ। यो २१ वर्षकै सर्वाधिक ब्याजदर हो। वार्षिक मुद्रास्फीति अहिलेसम्मकै उच्च देखिएको छ।

खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ।

सयौँ प्रदर्शनकारीहरूले कोलम्बोस्थित संसद् भवनबाहिर बुधवार भेला भएर राजपक्ष सरकार हटाउने ‘अन्तिम प्रयास’ भन्दै प्रदर्शन गरेका थिए।

दक्षिण भारतसँग जोडिएको टापुहरूको एउटा देश श्रीलङ्का सन् १९४८ मा बेलायतीहरूको शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। खासगरी तीनवटा जातीय समुदाय सिन्हाली, तमिल र मुस्लिमहरूले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।

वर्षौंदेखि श्रीलङ्कामा एउटै परिवार (राजापाक्षे)ले शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजापाक्षे बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्।

यसअघि राष्ट्रपति भइसकेका महिन्दा प्रधानमन्त्री भएका थिए। यही संकटका बीच आन्दोलनहरू चर्किन थालेपछि उनले राजीनामा दिए। र बिक्रमासिङ्ग प्रधानमन्त्री भएका छन्।

अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ। खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडसेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजापक्षे परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्। बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूबाट