दुबईमा बसेर नेपालीको अर्बौं रकम ठग्ने इन्फिनिटीका दलालविरुद्ध सीआइबीमा उजुरी

दुबईमा बसेर नेपालीको अर्बौं रकम ठग्ने इन्फिनिटीका दलालविरुद्ध सीआइबीमा उजुरी इन्फिनिटीका मुख्य योजनाकार राकेश पन्त र उनलाई सरंक्षण गर्ने राजन खतिवडा

काठमाडौं। लगानीको तेबरसम्म मुनाफा पाइने प्रलोभन देखाएर विदेशमा कार्यरत नेपाली श्रमिकलाई ठगी गर्ने गिरोहविरुद्ध केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी परेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा बसेर इन्फिनिटी ग्लोबल नेटर्वकका नाममा नेपाली श्रमिकबाट एक अरबभन्दा बढी ठगी गर्ने गिरोहविरुद्ध सीआइबीमा उजुरी परेको हो।

लगानीको तेबरसम्म फाइदा हुने आश्वसान देखाएर झुठो कागजपत्रको आधारमा नेपालीबाट करोडौं रकम ठगी गरी सम्पर्कविहिन भएका इन्फिनिटीका नाइकेहरुलाई कारवहाको माग गर्दै पीडितहरुले बुधवार काठमाडौस्थित व्यूरोमा निवेदन दिएका हुन्।

पीडितमध्ये शेरु कुँवर, सम्झना गडाल, सचिन राना, सूर्य खड्काले सीआइबी कार्यलयमा नै पुगेर उजुरी दिएका छन्। यस्तै, सबै पीडितहरुको प्रतिनिधित्व गर्दै दुबईमा रहेका लक्षु उपाध्यायले इमेलमार्फत उजुरी पठाएका छन्।

‘पीडितहरु हाम्रो सम्पर्कमा आउनु भएको छ। ठगिएको भन्ने पुष्टि हुने आधार–प्रमाण ल्याउनुहोस् भनेर भनेका छौं। उहाँहरुले सबै प्रमाण उपलब्ध गराउने बताउनु भएको छ,’ सीआइबीका प्रवक्ता श्याम कुमार महतोले प्रवास खबरसँग भने।

उनले ठगिएको भन्ने प्रमाण प्राप्त भइसकेपछि मुद्धा अघि बढ्ने बताए। उनले थपे, ‘प्रमाण लिएर आउनु भयो भने त्यसपछि मुद्धा अघि बढ्ने प्रक्रिया हुन्छ।’

इन्फिनिटी ग्लोबल ट्रेडर्सका मुख्य योजनाकार नेपाली नागरिक राकेश पन्त हुन्। यसको टेक्निकल पार्ट हेर्ने जिम्मेवारी भारतीय नागरिक दिपक भास्करको हो। यो ठगी धन्दाका मुख्य ‘नाइके’हरुलाई राजन खतिवडाले संरक्षण दिइरहेका छन्। खतिवडा एनआरएनए यूएईको निवर्तमान उपाध्यक्ष समेत हुन्।

इन्फिनिटी ग्लोबल टेड्रर्स अनलाइन नेटवर्किङ व्यवसाय जस्तै हो। यसमा मुनाफाको प्रलोभन देखाएर लगानीको लागि प्रेरित गरिन्छ। सुरुमा केही नाफा भएको जस्तो देखाएर थप लगानी गर्न आकर्षित गरिन्छ। तर, सुरु–सुरुमा लगानी गर्दा रकम फिर्ता आएपनि दोस्रो र तेस्रो पटक लगानी गरेपछि रकम फिर्ता आउन छोडेको पीडितहरुको भनाइ छ।

यो धन्दामा उनीहरुलाई इन्द्रिरा शाह, सुस्मिता खड्का, देवराज ओली, राजु जम्मरकट्टेल, मनोज माझी, काजी लाल भारती, श्याम राज भारती, सूर्य खरेल, झनक भट्टले सहयोग पुर्‍याइरहेका छन्।

उनीहरुले एक वर्षको अवधिमा यो ठगी धन्दालाई यूएईका नेपालीमाझ व्यापक रुपमा विस्तार गरिसकेका छन्। त्योबाहेक नेपालका मोरङलगायतका पूर्वी जिल्ला तथा भारतमा पनि यो धन्दा चलाएर करौडौं रकम संकलन गरिसकेको बताइन्छ।

अहिले कम्पनी सञ्चालक पन्तलगायत यसमा संलग्न रहेका सबै जना यूएईमै लुकिछिपी बसेको पीडितहरुको भनाइ छ। रोजगारीका लागि यूएई पुगेका नेपालीलाई नाफाको प्रलोभन देखाउँदै पन्तको गिरोहले ठूलो रकम ठगी गरेका छन्।

कतिपय कामदारले घरजग्गा नै धितो राखी लगानी गरेका छन् भने कतिपयले सहकारी र बैकबाट चर्को ब्याज नै लिएरसमेत लगानी गरेका छन्। यो गिरोहले नेपालका पूर्वी जिल्लाहरुमा पनि ठगी आतंक मच्चाएको छ।

पीडितहरुका अनुसार पन्तले अहिले दुबईमा ओरेन्टो भेराईटी रेष्टुरेष्टमा लगानी गरेका छन् भने विराटनगरमा ओरेन्टो मल्टी ट्रेडर्सको नाममा कम्पनी खोलेका छन्।

पन्तले कामदारलाई नेपालमा जलविद्युत, होटल, अस्पताल, रियल स्टेटलगायतका क्षेत्रमा लगानी गरिने र सबै लगानीकर्ता सो कम्पनीको मालिक हुने भन्दै झुठो आवश्वसन दिने गरेको पीडिहरुको भनाइ छ।

४० हजार नेपालीको एक अर्बभन्दा बढी रकम ठगी

यो कम्पनीका नाईकेहरुले ४० हजार नेपालीको एक अर्बभन्दा बढी रकम ठगी गरेको पीडित पीडितहरुको अनुमान छ। एक जना व्यक्तिले मात्रै २५ लाख रुपैयाँसम्म लगानी गरी सो व्यवसायबाट ठगिएको पीडितहरु बताउँछन्।

इन्फिनिटी व्यवसायबाट ठगिएका नेपालीहरु अहिले एक आपसमा जोडिएका छन् । इन्फिनिटी पीडित समूह नामक समूहमार्फत उनीहरु जोडिएका छन्। सामाजिक सञ्जालमार्फत जोडिएका पीडितहरुले ठगिनेहरुको विवरणहरु संकलन गरी रहेका छन् ।

उनीहरुले गुगलमा एउटा फाराम नै बनाएर पीडितहरुलाई आफू ठगिएको नाम र रकम उल्लेख गर्न अनुरोध गरेका छन्। जहाँ, अहिलेसम्म ८ सयभन्दा बढीले आफूठगीएको भन्दै विवरण उल्लेख गरेका छन्।

यसममार्फत जोडिनेहरु प्रतिनिधि पात्र मात्रै हुन्। अधिकांश व्यक्तिहरुले आफू मात्रै एक्लै ठगिएका छैनन्। आफूसहित परिवार, आफन्त, साथीभाईसहित ठगिएका छन्। आफनो आइडीबाट अरुलाई रिफर गर्दा थप रकम पाइने प्रलोभन देखाएपछि कतिपयले सयौं व्यक्तिहरुलाई रिफर गरेका छन्।

त्यस्तै, केही व्यक्तिहरु भने समाजिक प्रतिष्ठानको कारणले सार्वजनिक रुपमा आफू ठगिएको भन्न नचाहेको पीडित भिम बहादुर थापाको भनाइ छ।

दाईले नै फसाए भाईलाई, श्रीमतीको सिक्री र मंगलशुत्र बेचेर गरे लगानी

हेटौडाका अमर जम्मरकट्टेर भारतमा रोजगारी गर्थे। विदामा घर आउँदा उनको ठुला बुबाका छोरा राजु जम्मरकट्टेलसँग भेट भयो। राजुले उनलाई इन्फिनिटी व्यवसायको बारेमा बताउँछन्। एक पटक लगानी गर्दा एक वर्षमै तेब्बर फिर्ता आउने भनेपछि उनी उत्साहीत हुन्छन्।

दाजुकै भरमा उनले पहिलो पटक २०७८ असारमा १ हजार डलर लगानी गरे। ‘म छु । म तेरो लगानी डुब्न दिदैन। कम्पनी राम्रो छ। केही भयो भने म छँदै छु नि। दाईले भनेपछि विश्वास पनि लाग्यो,’ उनले भने।

त्यसैगरी उनले दोस्रो पटक १५ सय र तेस्रो पटक १ हजार डलर लगानी गरे। उनले गरेको लगानीको केही रकम फिर्ता पनि आयो। त्यसपछि उनले अरु आफन्त र साथीहरुलाई पनि रिफर गरे।

‘मैले अरु १२ जनालाई रिफर गरे। तर, उनीहरुको एक सुको पनि आएन,’ उनी भन्छन्, ‘मलाई मेरो पैसा ठगियोभन्दा पनि आफन्तको ठगिएकोमा पिर छ। उनीहरुले त मलाई विश्वास गरे। मैले दाईलाई गरे। तर, उनीहरुको नजरमा म ठग भए। यो पिडाले मर्नु र बाँच्नु भएको छ।’

नवलपरासीका सूर्य बहादुर केसी अहिले दुबईको आबुधाबीमा कार्यरत छन्। उनी विगत १० वर्षअघि जगारीको त्यहाँ पुगेका थिए। उनी सेक्यूरिटी गार्डमा काम गर्छन्। यही बीचमा उनीसँगै काम गर्ने नेपाली सेक्यूरिटीले उनलाई इन्फिनिटि व्यवसायको बारेमा बताए। उनले इन्फिनिटीका नाइकेहरुसँग भेटाए।

इन्फिनिटीका नाइकेहरुले उनलाई व्यवसायको बारेमा बेली विस्तार लगाए। इन्फिनिटीमा गरिएको लगानीको तेब्बर फिर्ता आउँने र नेपाल फर्किएपछि आफनै कम्पनी हुने भने पनि उनी पनि उक्सिए। त्यसपछि उनले पटक पकट गरी १ लाख ५० हजार डलर लगानी गरेको बताउँछन्।

दाङका भिमकान्त अधिकारीका दम्पति वैदेशिक रोजगारीका लागि दुबई पुगेको १२ वर्ष भयो । एक दिन मिना पाण्डसँग उनीहरुको भेट भयो। मिनाले अधिकारीका दम्पतीलाई इन्फिनिटीको बारेमा सुनाइन्।

त्यसपछि भिमकान्तले आफू र श्रीमतीको नाममा ५/५ सय डलर लगानी गरे । त्यो रकम फिर्ता पनि आयो । त्यसपछि उत्साहीत भएका भिमकान्त दुबै जनाको नाममा ६/६ वटा आईडी खोले र लगानी गर्न थाले । दुबै जनाको नाममा ३ हजार ४ सय डलर लगानी गरेको उनले बताए।

नेपालको जिम्मा श्रीमतीको

इन्फिनिटीका मुख्य सञ्चालक मानिएका राकेश पन्तले नेपालबाट संकलन गरिएको रकम आफनी श्रीमती भवानी सिटौलामार्फत दुबई पठाउने गरेको पीडितहरु बताउँछन्। नेपालबाट लगानी गर्ने व्यक्तिहरुबाट श्रीमती भवानी सिटौलाले नगद रकम नै उठाउँथिन्। यसको लागि विभिन्न व्यक्तिहरु परिचालन गरिने पिडितहरु बताउँछन्।

लगानी रकम उठाउनका लागि बेलुका मात्रै भेट्ने गरेको पीडितहरुको भनाइ छ। त्यस्तै, विभिन्न खातामा रकम पठाउँन लगाउने समेत गरेको उनीहरु बताउँछन्। यसरी संकलन भएको रकम उनकी श्रीमती भवानीले दुबई पठाउने गर्थिन्।

लामो समय दुबईमा काम गर्दै आएका गुल्मीका शेरु कुवँर विदामा नेपाल फर्किएका थिए। इन्फिनिटिका नाइकेहरुले नेपालबाट नै लगानी गर्न मिल्ने भन्दै उनलाई प्रेरित गरिरहे। शेरु आफनो घडेरी बैकमा राखी पैसा निकाले। सो रकम विभिन्न खातामा जम्मा गरिदिएका उनले बताए।

त्यस्तै उनले आफन्तलाई पनि रिफर गरे। यसरी उनीहरुबाट संकलन भएको रकम विभिन्न व्यक्तिलाई नगद नै दिएको उनको भनाइछ। ‘विभिन्न व्यक्तिको नाम र नम्बर दिन्थे। उनीहरुले निश्चित स्थान भेट्न बोलाउँथे। प्रत्येक पटक नयाँ मान्छे हुन्थ्यो,’ उनले भने।

त्यस्तै दाङका भिमकान्तले पनि नेपालबाट रकम मगाएर इन्फिनिटीमा लगानी गरेको बताउँछन्। दुबईबाट घरमा पैसा पठाउने साथीभाईसँग डलर लिन्थे र नेपालमा भएका परिवारलाई साथीको घरमा रकम भुक्तानी गर्न लगाउँथे।

‘घरमा पैसा पठाउन लागेका साथीभाईसँग डलर लिन्थे । अनि मेरो भाईलाई साथी परिवारलाई नेपालमा भुक्तानी गर्न लगाउथे,’ उनले भने ।

सरकारले छानबिन गर्नपर्छ : एनआरएनए, अध्यक्ष डा. केसी

यता गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा. बद्री केसीले भने यस विषयमा नेपाल सरकारले छानबिन गर्न जरुरी रहेको बताए। यस्ता पिरामिड शैलीका व्यवसायबाट विदेशमा कार्यरत श्रमिक मात्र नभइ सिंगो राज्य समेत ठगिएको उनको भनाइ छ।

‘यसमा लगानी गर्नु गैरकानूनी हो। सरकारले पनि यसलाई अवैध भनेर प्रष्ट पारेको छ,’ डा. केसीले प्रवास खबरसँग भने, ‘तर, पनि विदेशमा काम गर्न पुगेका हाम्रा धेरै–जसो नेपालीहरु त्यत्ति धेरै शिक्षित हुनुहुन्न। कतिपयलाई त कानूनी र गैरकानूनी विषयबारे ज्ञान समेत नभएको अवस्था छ। धेरै पैसा पाइने प्रलोभनमा हजारौं नेपालीले करौडौं पैसा यसमा लगाएको भन्ने सुनिएको छ। यसमा पीडितको मात्र पैसा डुबेको छैन। देशमा भित्रिनुपर्ने करौंडौं रेमिट्यान्स अन्यत्र डाइभर्ट भएको छ। यसमा राज्य पनि ठगिएको छ।’

नेपाली श्रमिकलाई नै लक्षित गरेर ठग्ने मनासयबाट विदेशमा यस्तो गिरोहरु सक्रिय रहेको डा. केसी बताउँछन्।‘झुक्काएर नेपाली कामदारलाई ठगी गरिएको छ। यस्ता अवैध क्रियाकलाप रोक्न राज्यका सम्बन्धित निकाय जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ,’ उनले थपे।

उनले यस्तो अवैध गतिविधिलाई नियन्त्रण गर्न एनआरएनएले सरकारलाई आवस्यक सहयोग गर्ने बताए। यस्तै पीडितलाई सहजीकरण समेत गर्न सकिने डा. केसी बताउँछन्।

‘यस्ता केसमा हामीले (एनआरएनए) ले गर्ने भनेको सहजीकरण मात्र हो। पीडितहरु औपचारिक रुपमा हामी समक्ष आउनु भयो भने सम्बन्धित निकायमा पुग्नका लागि सहजीकरण गर्न सक्छौं। यस्तै अनुसन्धानको पाटोमा सरकारलाई केही सहयोग गर्नुपर्ने अवस्था भए सहयोग गर्छौं,’ डा. केसीले भने।

कानूनमा के छ ?

नेपाल सरकरले पिरामिडमा आधारित व्यवसायलाई अवैध भनेको छ। ऐन विपरित यस्तो कार्य गरेमा कसूर गर्ने व्यक्तिलाई विगो खुलेको भए बिगो बमोजिमको जरिवाना र विगो नखुलेकोमा पाँच लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने ऐन व्यवस्था छ।

नेपाल राष्ट्र बैकले भरचुअल क्रिप्टोकरेन्सीहरको कारोबार गर्न तथा सोसँग सम्बन्धित पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध नहुन भनेको छ।

यो पनि पढ्नुहोस्

नामुद ठग राकेश पन्तको संरक्षणमा एनआरएनए यूएईका उपाध्यक्ष राजन खतिवडा, पीडितलाई उल्टै धम्की