नामुद ठग राकेश पन्तको संरक्षणमा एनआरएनए यूएईका उपाध्यक्ष राजन खतिवडा, पीडितलाई उल्टै धम्की

नामुद ठग राकेश पन्तको संरक्षणमा एनआरएनए यूएईका उपाध्यक्ष राजन खतिवडा, पीडितलाई उल्टै धम्की

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष राजन खतिवडाले इन्फिनिटी ग्लोबल नेटर्वकका नाममा नेपाली श्रमिकलाई ठगेको पाइएको छ। लगानीको तेबरसम्म मुनाफा पाइने प्रलोभन देखाएर इन्फिनिटी ग्लोबलका प्रतिनिधिले यूएईमा कार्यरत नेपालीबाट करौडौं रकम उठाएका हुन्। यसमा एनआरएनए उपाध्यक्ष खतिवडाको समेत प्रत्यक्ष संग्लनता रहेको खुलेको छ।

पीडितहरुका अनुसार यो ठगी धन्दाका मुख्य ‘नाइके’हरुलाई उपाध्यक्ष खतिवडाले नै संरक्षण दिइरहेका छन्। ‘एनआरएनए जस्तो संस्थाको आडमा विभिन्न प्रलोभन देखाइ नेपालीबाट करौडौं रकम उठाइएको छ। यसमा एनआरएनए यूएईका उपाध्यक्ष राजन खतिवडाले मुख्य योजनाकार राकेश पन्तलाई साथ दिएका छन्,’ पीडित संगीता राईले प्रवास खबरसँग भनिन्।

इन्फिनिटि ग्लोबल टेड्रर्स अनलाइन नेटवर्किङ व्यवसाय जस्तै हो। यसमा मुनाफाको प्रलोभन देखाएर लगानीको लागि प्रेरित गरिन्छ। सुरुमा केही नाफा भएको जस्तो देखाएर थप लगानी गर्न आकर्षित गरिन्छ। ‘यो अरु केही होइन ठगी धन्दा हो भन्ने प्रस्ट भइसकेको छ,’ पीडित राई भन्छिन्, ‘हामी त फसिसक्यौँ, अब अरु कुनै नेपाली नफसुन भनेर अहिले सामाजिक सञ्जालमार्फत अभियान नै चलाएका छौँ। अब कसरी अघि बढ्ने भन्ने विषयमा कानूनविदहरुसँग पनि छलफल गरिरहेका छौँ।’

उनका अनुसार इन्फिनिटि ग्लोबल ट्रेडर्सका मुख्य योजनाकार नेपाली नागरिक राकेश पन्त हुन्। यसको टेक्निकल पार्ट हेर्ने जिम्मेवारी भारतीय नागरिक दिपक भास्करको हो। यो धन्दामा उनीहरुलाई उपाध्यक्ष खतिवडासहित सुस्मिता खड्का सिम्खडा, इन्द्रिरा शाह, र सूर्य खरेलले सहयोग पुर्‍याइरहेका छन्। उनीहरुले एक वर्षको अवधिमा यो ठगी धन्दालाई यूएईका नेपालीमाझ व्यापक रुपमा विस्तार गरिसकेका छन्। त्योबाहेक नेपालका मोरङलगायतका पूर्वी जिल्ला तथा भारतमा पनि यो धन्दा चलाएर करौडौं रकम संकलन गरिसकेको बताइन्छ।

इन्फिनिटीको एक कार्यक्रममा नाइके राकेश पन्त, एनआरएनएका उपाध्यक्ष राजन खतिवडा

यसमा सुरुदेखि लागेकी राई पछिल्लो ६ महिनादेखि कुनै पनि सदस्यको रकम फिर्ता नआएको बताउँछिन्। रकम फिर्ता आउन छोडेपछि यसमा लगानी गरेका सयौँ नेपाली अलमलमा परेको उनको भनाइ छ। राईले पटक पटक गरी आफनो परिवारकै नाममा मात्रै ४५ लाख रुपैयाँ लगानी गरेको बताउँछिन्। लगानी गरेको रकममध्ये करिव आधा जति फिर्ता आएको तर, आफैले लगानी गर्न प्रेरित गरेका साथीहरुको भने सबै रकम डुबेको उनले बताइन्।

अहिले कम्पनी सञ्चालक पन्त, एनआरएनए उपाध्यक्ष खतिवडालगायत यसमा संलग्न रहेका सबै जना यूएईमै लुकिछिपी बसेको पीडितहरुको भनाइ छ। ‘उनीहरुले पहिला बस्दै आएको ठाउँसमेत परिवर्तन गरेका छन्। नम्बरहरुमा फोन लाग्दैन,लागेपनि उठ्दैन,’ पीडित राईले भनिन्।

रोजगारीका लागि यूएईई पुगेका नेपालीलाई नाफाको प्रलोभन देखाउँदै पन्तको गिरोहले ठूलो रकम ठगी गरेको आरोप छ। कतिपय कामदारले घरजग्गा नै धितो राखी लगानी गरेका छन् भने कतिपयले सहकारी र बैकबाट चर्को ब्याज नै लिएरसमेत लगानी गरेका छन्। यो गिरोहले नेपालका पूर्वी जिल्लाहरुमा पनि ठगी आतंक मच्चाएको छ।

पीडितहरुका अनुसार पन्तले अहिले दुबईमा ओरेन्टो भेराईटी रेष्टुरेष्टमा लगानी गरेका छन् भने विराटनगरमा ओरेन्टो मल्टी ट्रेडर्सकाे नाममा कम्पनी खोलेका छन्।

नेपाल सरकरले पिरामिडमा आधारित व्यवसायलाई अवैध भनेको छ। ऐन विपरित यस्तो कार्य गरेमा कसूर गर्ने व्यक्तिलाई विगो खुलेको भए बिगो बमोजिमको जरिवाना र विगो नखुलेकोमा पाँच लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने ऐन व्यवस्था छ।

नेपाल राष्ट्र बैकले भरचुअल क्रिप्टोकरेन्सीहरको कारोबार गर्न तथा सोसँग सम्बन्धित पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध नहुन भनेको छ।

पीडितलाई उल्टै धम्की

पीडितहरुले आफूहरुकोे लगानी फिर्ता हुनुपर्ने माग राखेपछि एनआरएनए उपाध्यक्ष खतिवडाले उल्टै धम्की दिने गरेका छन्। दिप नाम गरेका एक पीडितले आफ्नो लगानी फिर्ता दिन आग्रह गरेपछि खतिवडाले उल्टै धम्की दिएका हुन्।

प्रवास खबरलाई प्राप्त उक्त धम्कीपूर्ण अडियो म्यासेजमा खतिवडाले भनेका छन्,‘राकेश पन्तले केही समयमा जोडेर कसैको सौभाग्य खोलिदिउँ, कसैको भाग्य परिवर्तन गरिदिउँ, हामीले कमाइ रहेका छौँ भने अरुलाई पनि कमाइदेउँ भनेर जोडेको ठाउँमा, तपाईले आएर ठूला–ठूला कुरा गर्ने ? तपाईँ कहाँ हुनुहुन्छ अहिले, नेपालमा कि दुबई ? यत्ति मात्रै शेयर गर्नुहोस्।’ खतिवडाले दुबईमा बसेर राकेश पन्तलाई फुर्ती नदिन चुनौती समेत दिएका छन्।

खतिवडाले लगानीको प्रतिफल पाउन केही समय पर्खिनुपर्ने बताउँदै भनेका छन्,‘केही समय पर्खिनुपर्छ। पर्खन नसक्ने मान्छे पतन हुन्छ।’

यस विषयमा बुझ्न प्रवास खबरले उपाध्यक्ष खतिवडाको नम्बरमा सम्पर्क गरेपनि फोन भने उठेन।

एनआरएनएको नाम र पदको दुरुपयोग भयो : पासाङ शेर्पा

यता एनआरएनए यूएईका अर्का उपाध्यक्ष पासाङ शेर्पाले भने खतिवडाले एनआरएनएको नाम र पदको दुरुपयोग गरेको बताएका छन्।

‘दुबईमा धेरै नेपाली कामदारहरु विभिन्न पिरामिड बेस नेटवर्क विजनेसबाट ठगिएको गुनासोहरु सुनेका छौँ । त्यसमा पनि एनआरएनए एनसीसी युएईकै उपाध्यक्ष पदमा रहेको राजन खतिवडा समेत यस्तो कार्यमा संलग्न रहेको गुनासोले हामी अचम्चित भएका छौँ,’ शेर्पाले प्रवास खबरसँग भने, ‘एनआरएनको पदमा बसेर ठगी काम गर्न वा ठगलाई संरक्षण गर्न पाइदैन।’

शेर्पाले खतिवडाले ‘म एनआरएनएको उपाध्यक्ष हुँ’ भन्दै धेरैलाई प्रभावमा पार्ने गरेको सुनिएको बताए। शेर्पाले  भने,‘यो सरासर पदको दुरुपयोग हो। संस्थाको पद र नाममा आँच आउँने काम भएको छ। अब नयाँ कार्यसमिति आएपछि आवश्यक प्रक्रिया अघि बढाउँला।’