क्याट्रिक ग्यारिजनमा नेपाली कलाकारले दिए प्रस्तुती

क्याट्रिक ग्यारिजनमा नेपाली कलाकारले दिए प्रस्तुती

बेलायत । नेपाली गायक-गायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा सांस्कृतिक प्रस्तुती दिएका छन्। सुनगाभा इन्टरटेनमेन्टको प्रस्तुतिमा ब्रिटिस गोर्खाज एण्ड नेप्लिज कम्यूनिटीको सहभागितामा भ्वाइस अफ नेपालका विजेता राम लिम्बु, गायिका सन्जु मोक्तानसहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सहकार्यमा सांस्कृतिक प्रस्तुती दिएका हुन्।

कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई प्रस्तुतीमा स्वागत गरेकी थिइन्। ‘नेपाली गीत-संगीतको प्रर्वर्द्धनसहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं’, आयोजक नन्दराज राईले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं।’

लिम्बु र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेकी स्थानीय गायिका अनिला राई, गायक सोम लिम्बु, बिवेक मगर र डान्सर सुब्रिना लिम्बुले साथ दिएका थिए।

नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायक-गायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शीर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउँदा हल पुरै गुञ्जिएको थियो। सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएर सांस्कृतिक प्रस्तुती दिएका थिए।