बजेटमा वैदेशिक रोजगारी : श्रमिकको दक्षता र क्षमता अभिवृद्धि गर्न सीपमुलक तालिम दिइने

बजेटमा वैदेशिक रोजगारी : श्रमिकको दक्षता र क्षमता अभिवृद्धि गर्न सीपमुलक तालिम दिइने

काठमाडौं। सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने बताएको छ।

आइतबार संसदको संयुक्त बैठकमा २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको दक्षता र क्षमता अभिवृद्धि गरिने बताए।

‘वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको दक्षता र क्षमता अभिवृद्धि गर्न गन्तव्य मुलुकको माग अनुसार आवश्यक सीपमुलक तालिम प्रदान गरिनेछ,’ मन्त्री शर्माले भने।

शर्माले वैदेशिक रोजगारीका लागि नयाँ र आकर्षक गन्तव्यको खोजी गरिने समेत बताए।

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम गन्तव्य मुलकसँग भएका विद्यमान श्रम सम्झौताको प्रभावकारीताको अध्ययन तथा पुनारोवलकन गरिने उनको भनाइ छ।

यस्तै वैदेशिक रोजगार सूचना प्रणालीलाई स्तरउन्नती गरी सबै सेवाहरुलाई अनलाइन बनाइने मन्त्री शर्माले बताए।

‘वैदेशिक रोजगारीमा जाने श्रमिकको गन्तव्य, कामको किसिम,तलबलगायतका अन्य सुविधाहरुको बारेमा डिजिटल माध्यमबाट जानकरी दिइने व्यवस्था गरिनेछ,’ शर्माले भने।

शर्माका अनुसार विदेशमा रहेका नेपाली तथा निजका परिवारले पाउने राहत सुविधा तथा अन्य कल्याणकारी सेवालाई पनि अनलाइनमार्फत प्रवाह गरिने व्यवस्था मिलाइनेछ।