अष्ट्रेलियाको प्राथमिकतामा नेपाली विद्यार्थी, आवेदन दिएकामध्ये ९१.८ प्रतिशतकाे भिसा स्वीकृत

अष्ट्रेलियाको प्राथमिकतामा नेपाली विद्यार्थी, आवेदन दिएकामध्ये ९१.८ प्रतिशतकाे भिसा स्वीकृत सिड्नी अष्ट्रेलिया

काठमाडौं। अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई प्राथमिकता दिएको पाइएको छ। अष्ट्रेलियामा भएको एक अध्ययन अनुसार गत मार्च महिनामा मात्रै त्यहाँ अध्ययनका लागि ४ हजार ७ सय ८८ नेपाली विद्यार्थीले आवेदन दिएका थिए। जसमध्ये ९१.८ आवेदन स्वीकृत भएको थियो।

योसँगै पछिल्लो पाँच महिनाको भिसा स्वीकृति दर हेर्दा नेपाली विद्यार्थीको स्वीकृति दर भारतीय तथा पाकिस्तानी विद्यार्थीको तुलनामा धेरै छ।

पढाइको कम चाप हुने र जागिर गर्ने अधिक स्वतन्त्रताको कारणले यस्तो हुन गएको अध्ययनले देखाएको छ। जसले नेपाली विद्यार्थीहरुलाई आप्रवासन अनिश्चित्तामा धकेल्ने आंकलन समेत गरिएको छ। किनकी त्यस्ता विद्यार्थीले आफ्नो शैक्षिक योग्यता उपयोग गर्दै दक्ष रोजगारी पाइ स्थायी बसोवासको बाटो भेट्टाउन गाह्रो पर्ने बताइन्छ।

त्यस्तै, गतमार्च महिनामा चिनियाँ विद्यार्थीहरुबाट अष्ट्रेलिया अध्ययनका लागि आवेदन गर्नेको संख्या ३ हजार ९ सय ३० रहेको तथ्यांक पाईएको छ। त्यसैगरी ३ हजार ४ सय ८३ भारतीय विद्यार्थीले मार्च महिनामा अष्ट्रेलिया पढ्न आवेदन पेश गरे। जसमा ६५.५ प्रतिशतको भिसा आवेदन स्वीकृति भएको छ। भिसा आवेदन दिएकामध्ये ७३‍.४ प्रतिशत पाकिस्तानी विद्यार्थीको भिसा आवेदन स्वीकृति भएको तथ्यांक छ।

अध्ययनअनुसार अष्ट्रेलियाले अध्ययनका लागि विदेशी विद्यार्थीलाई भित्रादा आप्रवासीको संख्या बढेको पाइएको छ। अस्ट्रेलियामा भएको आप्रवासन सन् २०१२/ १३ मा ‘नाईट रिभ्यु’ ले दिएको सुझाव कार्यान्वयनसँगै प्रवासीका संख्या बढेको पाइन्छ। पछिल्लो ३० वर्षयता अष्ट्रेलियामा आप्रवासी बढ्नुको मुख्य कारण नै विद्यार्थी रहेको पाइएको छ।

यद्यपि विश्वव्यापी आर्थिक संकटको कारणले विदेशी विद्यार्थीको आप्रवासन दर पहिला तीव्र रुपमा घट्दै गएको थियो । सन् २०१४/१५ देखिको अष्ट्रेलियामा आप्रवासनको तथ्यांक केलाउँदा ४० प्रतिशत विदेशी विद्यार्थीको हिस्सा थियो। सन् २०१८/१९ मा आउँदा त्यसले ४७ प्रतिशत हिस्सा नै ओगट्न पुग्यो।

सन् २०२४ सम्ममा दीर्घकालीन खुद आप्रवासन वार्षिक २ लाख ३५ हजार पुग्ने अनुमान गरिएको छ। यद्यपि, सन् २०२१ मा अष्ट्रेलियाको खुद आप्रवासन ऋणात्मक रहेको छ।